Gouri Raj Joshi, NRNA RC, The Americas

गौरी जोशीद्वारा रत्ननगरमा वडा कार्यालय निर्माणको लागि ५० लाख बराबरको सहयोग

Hollywood Khabar January 19,2019 Comments

सबु सापकोटा/न्युयोर्क
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) गौरी जोशीले सरकारी भवन निर्माणका निम्ति आर्थिक सहयोग प्रदान गरेका छन। चितवनको रत्ननगर नगरपालिका वडा नम्बर-१४ को वडा कार्यालय निर्माणका लागी जोशीले ५० लाख मुल्य बराबरको जग्गा प्रदान गरेका हुन्।

अमेरिकामा बसोबास गर्दै आएका व्यवसायी जोशीले वडा कार्यालयको भवन निर्माणार्थ २२ धुर जग्गा प्रदान गरेको रत्ननगर नपाका मेयर नारायण वनले बताए। जम्मा २ कट्ठा १० धुर क्षेत्रफलमा बनेको वडा कार्यालय भवनका लागी बाँकी जग्गा स्थानीय व्यवसायी गुणचन्द्र बिष्ट र दिनेशकुमार चुकेले प्रदान गरेको समेत उनले जानकारी दिए ।

उक्त जग्गामै निर्माण गरिएको वडा कार्यालय भवनको उद्घाटन गर्दै प्रदेश सांसद कृष्णप्रसाद खनालले बिदेशी भूमिमा दुख गरेर पनि आफ्नो देशलाई समाजसेवा मार्फत जोशीले पुर्याएको योगदानको प्रशंसा गरेका थिए भने रत्ननगर नपाका मेयर नारायण वनले राज्यको दायित्वलाई ब्यक्तिद्वारा गरिएको निस्वार्थ सहयोग एक उदाहरणिय कार्य भएको बताए । सो समारोहमा भवन निर्माणका लागि जग्गा दान तथा आर्थिक सहयोग गर्ने सबैलाई सम्मान समेत गरिएको थियो ।

देशबिदेसमा बिभिन्न पेशा-ब्यवसाय गरेर धन कमाउँने त धेरै हुन्छन । तर मनका समेत धनी जोशीले आफ्नो आम्दानीको ठुलो धनराशि सामाजिक सेवामा समेत खर्च गर्दै आएकाछन । समाजसेवी एवम् कुशल व्यवसायी जोशीले चितवन लगायत देशका विभिन्न क्षेत्रमा सामाजिक संघसंस्था, मठमन्दिर तथा विद्यालयहरुमा आर्थिक सहयोग गरिसकेका छन् । त्यसो त जोशीले आफ्नो कर्मभूमि अमेरिकाको टेक्सास तथा अन्य राज्यमा समेत सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएकाछन् ।

यसअघि पनि उनले रत्ननगरकै हरिहर मन्दिरमा रहेको गायत्री वेद वेदाङ्ग गुरुकूलका लागि ५० लाख रुपैयाँ सहयोग गरेका थिए भने केहि दिनअघि मात्रै डोटी जिल्लाका जोरायल र बडीकेदार गाउँपालिकालाई जोशी कै आमा फाउन्डेशनको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।