Arjun Raj Panta

घर फोर्नु कुखुरा नचोर्नु

Hollywood Khabar December 29,2018 Comments

अर्जुन राज पन्त

पुसे ठण्डीमा चिया पिउदै समाचार हेर्दै थिए, एक्कासी करेसाबाट बच्चा रोएको आवज आयो। के पो हो त भन्दै हेरे । आफ्नै सात बर्षे छोरी सुन्तलाको रुखको टुप्पोबाट ओराल्दिनुस ओराल्दिनुस भन्दै कराउदै थिई। एकातिर त्यति चाख लाग्दो समाचार छुटेको झोक अर्को तर्फ अस्ति मात्र कांशोको उपचार गरेर ल्याएकी छोरी यस्तो ठण्डीमा एका बिहानै सुन्तलाको रुखमा देख्दा रुखै सहित हल्लाएर तल खासाल्दिउ जस्तो झोक नचलेको त कहाँ होर।

बुढेसकालमा जन्मेकी एक्ली सन्तान त्यो गर्ने हिम्मत त कहाँबाट आओस उल्टै आफ्नै बाल्यकालमा टोल छिमेकमा घटेको घटनाको पो याद आयो। सायद टिभीमा देखेको समाचारले होकी वा रुखमा चढ्न सक्ने ओर्लन नसक्ने घटनाले हो त्यो धेरै बर्ष पहिलेको घटना सम्झे।

गाँउको पल्लो छेउमा एक जना बुढी आमा एक्लै बस्नु हुन्थ्यो। वास्तविक नाम त के थियो कुन्नि, सबैले सुन्तली बजै भन्थे। पेट पाल्नलाई अलिकति खेतीपाति थियो। नुन तेल खान र हरको धजो फेर्न आफ्नै घरका सुन्तला बिक्रि गर्नु हुन्थ्यो। कहिले चौपारीमा बेच्नु हुन्थ्यो त कहिले एकादशी मेलामा। त्यो साल सायद ठूलो एकादशी कुरेर बस्नु भएको थियो कि क्या हो रुख भरि सुन्तला लटरम्मै थिए। रातमा पनि कसैले चोरलानकी भनेर रुखमा डोरी टिन बाँधेर झुण्डाएर पिंढीमा सुत्नु हुन्थ्योक।

सुन्तली बजैका घर नजिकै एक जना फटाहा फटाहा मतिका धूर्त बूढा बस्थे। पैसा लिएर जस्ताकोनि बिबाह गराउने काम गर्ने भएकोले उनलाई सबैले लमी बाजे भन्थे। मर्दा पर्दाका छिमेकि हुन् भन्दै बजैले बेला बेलामा सुन्तला खान नदिएकि पनि हैनन् तर एक दिन बाजे सुन्तलाको रुखमा खादी भरि सुन्तला चोर्दै गरेको अबस्थामा पक्रिए।

सुन्तली बजैले हार गुहार गरिन, एकै छिनमा छर छिमेकि सबै जम्मा भए। सुन्तलाले भरिएको खादी काँडामा अल्झेर बूढा भाग्न पाएनन। रुखमुनी गाँउलेको ठूलो भीड देखे पछि बुढाले लौन मलाई के ले ल्यायो यो रुखमा ? म कहाँ छु ? लौन मलाई छिटो ओराल भन्दै रुखबाट कोलाहल मच्चाउदै दुवै हात जोडेर एकोहोरो कराउन थाले।

बाजले कसैलाई सोध्ने र गाली गर्ने फुर्सद्नै दिएनन। कता बुटा मुनिको ढुंगामा पच्छारिएर बूढा मर्ने हुन् र ज्यानमारामा परिनी भो भनेर सुन्तली बुढीको पनि हंशले ठाँउ छोड्यो। बुढीलाई आफ्ना सुन्तला चोरेको रिस पनि मरेर आयो। आफ्नो सुन्तला भन्दानी लमी बाजेको ज्यानको चिन्ता बढी भो बुढालाई। हर्जना तिराउने कुरा त कहाँ हो कहाँ उल्टो उसैको ज्यान जोगाउने फर्साद आइलाग्यो। बुढीले लौन जसरी हुन्छ यी बुढालाई रुखबाट ओराल्देउ भन्दै कराउन थालिन।

अन्त्यमा घुमाउने घरे लाहुरेले भर्यांङ हालेर बुढाको रुखमा अड्केको खादी काटेर बुढालाई ओराले। बुडाको पोको परेको सुन्तला भुई भरिभयो। गाँउलेहरुले सबै सुन्तला जम्मा गर्न थाले। लमी बुढा झन् चर्को-चर्को स्वरमा हे लौन मलाई के ले सुन्तलाको रुखमा ल्यायो भन्दै हनुमान चालिसा भटयाउदै घर तिर लागे।

टीभीमा हेरेको समाचार पनि दुरुस्तै लमी बाजेको कथा जस्तो भयो। पढे लेखेका मै हु देशमा परिवर्तनको सम्बाहक भन्ने युवा नेता देखि रैथाने, उधोगपति, मन्त्री, साम्सद, आफूलाई संसारमै सबै भन्दा ठूलो इमान्दार क्रान्तिकारी बताउने नेताहरु समेत आफ्नो आलिसान घर हुदा हदै पनि घर छैन भन्दै बर्सौ देखि ढाटेर घर भाडा बापतको पैसा र दोहोरो इन्धन सुबिधा लिएको अभियोगमा समातिए।

अनि खै मलाई त थाहा थिएन कसले हल्दिए छ कुन्नि यो पैसा मेरो खातामा भन्दै लमी बाजेकै शैलीमा एकोहोरो कराउदै थिए। कसैले त मेरो काम हो र पैसा बुझ्ने मेरो पीयको काम हो भन्दै लमी बाजेको भन्दानी माथिल्लो स्तरको फट्याई पनि देखाए। कसैले पक्रिए पछि फिर्ता गरेर चोखो चोर पनि बन्ने प्रयास गरे।

अचम्म लागेर आयो आफ्नो खातामा कति पैसा आएको छ सो पनि मतलब नहुने यी धमिराहरुको आम्दानीको श्रोत कस्तो रहेछ ? आफुलाई आएको पैसाको कुनै अर्थ नै छैन भने किन लिनु फेरी एति गरिब जनताको पसिना ?

कतै यी पनि राष्ट्रपति जस्तै पो हुनकी जे मा पनि नबुझिकन दस्तखत गर्ने ? म पनि यी कथा हेर्दा उनै लमी बाजेलाई सम्झदै थिए। हैन ती बुढा हाल सम्म बाँचेको भए के गर्थे होला ? अनि कसरी हो त छोरीलाइ रुखबाट निकाल्ने भन्दै सोच्दै थिए। छोरी छिट्टो ओराल्दिनुस भन्दै रुदै कराउथी। म उसलाई आज सबक सिकाएरै छोड्ने

अठोटमा थिए।

यत्तिकैमा छोरी झन् सार्हो रुन थाली। मैले म सक्दिन जे सुकै गर भन्दै के हकारेको थिए, नजिकैको अम्रिसोको गांजबाट म सक्छु भन्दै चिनेको जस्तो आवाज आयो। यसो हेरे साधुराम पो रहेर छ। बारम्बार पुलिसले पक्री रहने भएर साधुरामलाइ पुलिसहरु पटके समेत भन्थे। तर उ भने गाउँभरी साधुरामकै नामले चिनिन्थ्यो। उसको वास्तविक नाम सायद उसैले समेत भुल्ने अवस्था थियो। साधुराम आज पक्कै पनि सुन्तला चोर्न वा बाहिर राखेको कुनै भाडो टिप्ने जोखाना हेरेर बसेको थियो होला। अस्ति मात्र हो चाबी मिलाएर अर्काको घरमा पसी चोरेको आरोपमा पक्रिएको थियो। फेरि कति चाँडो छुटयो भन्दै म अचम्मित भए।

जे होस् साधुराम हल्का जिउको छ। यो चढ्दा सुन्तलाको हाँगा पनि भाचिन्न भन्ने सोच्दै ल जा बाबु यो नानीलाई ओराल्दे भने। चोरको बानी कति छिटो रुखमा गयो। अनि बाँदरले बच्चा च्यापे जसरी कतै नकोतरी ओराल्दियो। अघि पछि दैला अगाडिको बाटो समेत उसलाई हिड्न नदिने म मा आज उ प्रति बेग्लै किसिमको दया पलाएर आयो।

सुन्तला खाने भए खा बाबु ला बस भन्दै छेउको मुढा दिए। साधुरामले एका बिहानै सुन्तला त खान्न दाई भन्दै गजबको भद्रता देखायो। बाल्यकालमा आसी (हँसिया) को चुच्चोले दुनियाका घरका झयाल ढोका खोल्दै हिड्ने साधुराम आहिले दुनियाका घरका चाबी मिलाएर चोर्ने हैसियतको विकासे चोर बनिसकेको थियो।

यस्ता चोरको अनुहारमा समेत कता-कता आत्मबिस्वास झल्किएको पाए। मैले सोधे बाबु तँ त अस्ति भर्खरै चोरी केशमा समातिएको भन्थे कति चाडै छुटिस त नि ? उसले एक शव्दमा भन्यो- फिर्ता गर्दिए छुटे। म दङ्ग परे, होइन चोरेको-ठगेको कुरा पनि पक्रिएपछि फिर्ता गरेर कसरी बिना सजाय छुट्न पायो भन्दै।

उसलाई फेरी सोधे, पैसा खर्च गरेर छुटे होलास नि । साधुरामले हाँस्दै भन्यो- कुन जमानामा छौ बुढा, तिम्रा घरको टिभी मैले त चोरेको छैन। कि अरु कसैले मेरो इलाकामा आएर चोर्यो ? हेर्देनौ समाचार ? कसैले चोरी छली गरेको अभियोगमा पक्रियो भने सामान फिर्ता गर्देउ सजाय हुदैन, यो सदनको नजिर हो। अब चोरेको सामान फिर्ता गरेपछि कसैलाई पनि कार्बाही गर्न मिल्दैन। बरु सामान के चोर्ने विचार गर्नुपर्छ। झुक्किएर पनि कुखुरा चोर्ने त के कुरा कुखुराको खोरमा हात लाउन पनि हुन्न। कुखुरा चोर्दा पुलिसले कम तंग गर्छ।

मेरा चिनजानका दुई चारजना चोरको बेहाल भएको छ। अरुनै के के मुद्धा पनि लाई दिन्छौ भन्दै धोबी कुटाइ गरेका छन्। पहिला त मैलेनी कुखुरा चोर्थे। यो पटक धन्न भगवान दाहिना भएछन् भन्दै आकाश तिर फर्किदै हात जोर्दै भन्यो- घर फोर्नु कुखुरा नचोर्नु।

 

****लेखक/कविका अन्य रचनाहरु****

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार
https://hollywoodkhabar.com/guhar-bamdeb-panta