NRNA President Bhaban Bhatta and Former President Dr Shesh Ghale

NRNA:डा घलेको भ्रमण, अध्यक्ष भट्टको १० अरब, सानीमा र काकीमा

Hollywood Khabar March 22,2018 Comments

कृष्ण के सी/अमेरिका
प्रसङ्ग
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा तत्कालिन अध्यक्ष डा शेष घलेले अघिल्लो दिन मात्र संघको जमिनको लालपुर्जा बुझिलिएको जानकारी गराउँदा केही व्यक्तिहरुको मुख सुकेको थियो।
सबैलाई थाहा भएको कुरा हो कि संघका एकजना पूर्वजको इच्छा बालुवाटार केन्द्रको त्यो जमिन होइन नख्खु खोलाको बगर महँगोमा संघलाइ बेच्ने थियो। उहाँको त्यो इच्छा त पुरा भएन अझै पनि इगो भने गएन र प्रतिशोधमा बदलियो।
सबै कुराको अवलोकन गर्दा वर्तमान अध्यक्ष भबन भट्टलाइ सबैभन्दा सफल अध्यक्ष हुने एउटा गोल्डेन मौका छ। त्यसैगरी सबैभन्दा कलंकित अध्यक्ष हुने कालोबादल पनि उहाँको टाउका माथि नै मडारिएको छ।
नाम गैरआवासीय नेपालीको झोला आफ्नो भर्ने परंपरा २०१३ देखि २०१७ सम्म रोकियो। फेरि सुरु भयो झेलै-झेलको खेल। यदि साच्चिकै नेपालमा सुरक्षित लगानी गर्ने हो भने त्यो प्रोजेक्टको नेतृत्व निवर्तमान अध्यक्ष डा शेष घलेलाई गर्न दिनुपर्छ। अनि १० होइन २० अरब पनि हुन सक्छ।
गैरआवासीय नेपाली संघ विश्वका ५० औं लाखलाइ समेटेर उनीहरुको प्रतिनिधित्व गर्नुपर्ने सँस्था हो। यसमा केवल सानीमा र काकीमाको कुरा मात्र अब्बल अरुको कुरा दोयम हुनुपर्ने कारण छैन।
विस्तारमा
गैरआवासीय नेपाली संघको मुख्यालय क्याम्पसबारे निवर्तमान अध्यक्ष डा शेष घलेको नाम जोडेर नेपालको कुनै एउटा टेलिभिजनबाट आएको समाचार भ्रामक थियो। सोहि समाचारलाइ लिएर सामाजिक संजालतिर भएका प्रश्न र प्रतिप्रश्न प्रति संघको ध्यानाकर्षण भएको थियो। संघका प्रवक्ताले सो समाचार सत्य नभएको कुरा सहित प्रेस बक्तब्य रिलिज गर्नु भएको छ।
संघको आफ्नै भवन बनाउने भनेर स्थापना काल देखि नै कुरा उठेता पनि २००९/१० तिर मात्र गएर सो कुराको आधिकारिक निर्णय भएको थियो भनिन्छ। पैसा जुटाउने हिम्मत नभएर हो या इच्छा शक्ति नभएर हो त्यो निर्णय नै थन्किएको थियो। पहिलाको निर्णयलाइ डा घलेले आफ्नो पहिलो कार्यकालमा कार्यन्वयन गर्नुभयो। त्यसैका लागि २०१३-२०१५ कार्यकालमा बनाइएको संघको बिल्डिंग कमिटीमा अध्यक्ष डा घले स्वयंले संयोजन गर्नुभएको थियो। सदस्यहरुमा तत्कालिन उपाध्यक्षहरु भबन भट्ट, टिबी कार्की, महासचिव कुमार पन्त, सचिव रन्जु वाग्ले थापा, कोषाध्यक्ष डा बद्रि के सी, प्रबक्ता मन खत्रीसमेत हुनुहुन्थ्यो। त्यो कमिटीले गरेको निर्णय र सिफारिस ऐलेको नेतृत्वले अन्यथा लियो भन्ने प्रायोजित समाचर आफैंमा बाझीएको थियो।
जबकी त्यो भबन बनाउने निर्णय/सिफारिस गर्ने कमिटीका मध्य टिबी कार्की, रन्जु वाग्ले थापा, मन खत्री बाहेक वर्तमान अध्यक्ष भबन भट्ट समेत सबैजना हालको नेतृत्वमा हुनुहुन्छ। महत्वपूर्ण कुरा के छ भने जुन जमिनमा संघको बिल्डिं बन्दैछ त्यो जमिन किन्ने प्रस्ताव गर्ने व्यक्ति नै वर्तमान अध्यक्ष भबन भट्ट हो।
त्यो भन्दा पनि लाजमर्दो कुरा त वर्तमान महासचिव डा बद्रि के सी कै पाँडे पुराण भज्ने ति संचार माध्यमहरुले अनर्थले बिल्डिंगबारेको भजन नै ब्रेकिङ्ग न्यूज बनाएका थिए। तर एउटा कुरा भने सत्य हो कि वर्तमान नेतृत्वको एउटा पाटो वर्तमान अध्यक्ष भट्टलाई असफल बनाउन कम्मर कसेर लागेको छ। तर्साएर ठूलै रकम झार्छु भनेर चोक्टा खान गएका व्यक्तिले उल्टो खर्च पानी दिने भए मुद्धा फिर्ता लिन्छु भन्दै सेटल्मेन्ट गर्न तीन-तीन पटक अनुरोध गरेको कथा सायद ति पत्रकार महोदयहरुले छिपाउनु परेको कारण भने अझै बुझिएको छैन। संघले नै प्रेस बक्तब्य निकालेर समाचार भ्रामक भनेपछि अब त्यो प्रपन्च पनि बन्दभयो।
त्यसै कुरालाई संघका केही पूर्वजहरुले पछाडीबाट ढाडस दिने नगरेको भने होइन। त्यो कुरा जति छोपे पनि अण्डा देख्दा गुंडमा हात र सर्प देख्दा गुंड बाहिर हात गर्ने पूर्वजहरुको त्यो कलाकारिता एकपछि अर्को गर्दै स्क्रिनमा आउने क्रम चलिरहेको छ। यसै क्रममा त्यही टुकडीले लाप्राककीहरुको घरको डिजाइनको प्राविधिक पक्षलाइ वेवास्ता गर्दै ५० औं लाखको बाँस खरिद गरेर अलपत्र पार्दै चितवनमा रहेको आफ्नो इटा र ब्लक बिक्री गराउन गरिएको अर्को सुनियोजित सड्यन्त्र भर्खरै बाहिर आएको छ।
मार्च अन्तमा निवर्तमान अध्यक्ष डा शेष घले नेपाल जानुहुने र आफ्नो कार्यकालमा भएका मेघा प्रोजेक्टहरु अवलोकन गर्ने, संघका कर्मचारी, सहयोगी लगायत अरुलाई पनि भेटघाट गर्ने, धन्यवाद ज्ञापन गर्ने जस्ता कुराको योजनामा हुनुहुन्छ। यो सामान्य कुरा हो र निवर्तमान अध्यक्ष सबैले गर्छन। यसबाट कोहि आत्तिनुपर्ने कुनै कारण छैन।
जब डा घलेले वर्तमान नेतृत्वको १० अरब नेपाल भित्र्याउने कुरामा सुरक्षित लगानी र हाल सम्मको स्थिति, नीति-बिधिका कुरामा प्रश्न उठाउनु भयो तब ति सबै कुराबाट तर्सिएर आत्तिएको नेतृत्वको एउटा पक्षले दाइने हातले देब्रेकान समातेको जस्तो घुमाएर छिर्की हान्न थाल्यो।
भबन भट्टको वर्तमान नेतृत्वलाइ १० अरब नेपाल भित्र्याउने भन्ने योजनामा पनि अर्को एउटा आरोप छ। वर्तमान नेतृत्वसंग १० अरब भित्र्याउने अरु केहि पनि योजना र बिधि छैन।  केवल एउटा सुनियोजित रुपमा बनेको चक्कर छ। आरोप अनुसार १० अरब रकम गैरआवासीय नेपालीहरुबाट हार्डेष्ट अर्न मनी होइन। अन्य श्रोतबाट आएको रकम, कतिपय त नेपालबाटै बाहिर पुगेर फेरि कानुनी रुपमा सेतो र चिल्लो बनाएर भित्र्याउने योजना हो। थप गर्दै भनिएको छ कि संघको यो नेतृत्वको हर्कतमा असहमत भएकै कारण तत्कालिन कार्यकारी निर्देशक राजेश शंशेर राणालाइ बर्खास्त गरिएको हो।
१० अरब रकम नेपाल भित्र्याउने घोषणा गरेर बिधि र योजना नै नगर्नुको पछाडी त्यो आरोप कतै सत्यता त होइन भन्ने भान भने सबैलाई भएको छ। अब हेर्दै जाउँ ति कुरा पनि समय आएपछि उजागर हुने नै छन। तेतिबेला मात्तिएका साथीहरुको ब्रेकिङ्ग न्यूज र आत्तिएको नेतृत्वको कुरा गरौंला।
अलोकपृयको पराकाष्ठ, एकलौटी पेलाई, बिधानमै नभएका र अनर्थक पद वितरण जस्ता कुराले संघको घडा भरिएको छ। यो हर्कत देखेर संघको अर्को पक्ष अवाक्क भएको छ। तर पनि उनीहरु बिरोधमा भने गएका छैनन्।  अझै सघाउने पक्षमा देखिएका छन्। यदि वेवास्ताको पर्खाल बढ्दै गयो भने भोलिका दिनमा गैर-आवासीय नेपालीहरुले नेतृत्वको होइन संघको नै विकल्प नमाग्लान भन्न सकिन्न। त्यो अर्थमा अध्यक्ष भट्ट एक कलंकित अध्यक्ष हुनुको विकल्प छैन। लगभग ७५ प्रतिशत संबन्धको ट्रयाक आउट भैसकेको छ। तर पनि त्यसलाई सफल कार्यकालमा बदल्ने कला देखियो भने बाँकी २५ प्रतिशतले पनि अध्यक्ष भट्टलाइ सफल हुने मौका मिल्नेछ। 
सबैले देखेको कुरा डा घलेको आसन्न नेपाल भ्रमणसंग आत्तिएको संघको नेतृत्वले संचारको पनि मात्तिएको चाहिँ वर्गलाइ पोषणयुक्त क्याप्सुल खिलायो। त्यसैको कारण जिम गरेको बडी र सुन्निएर मोटाएको ज्यान जस्तै गरि भ्रमको ब्रेकिङ न्यूज अचाक्ली भयो। अनि संघका प्रबक्ताले प्रेस रिजिल नै निकाल्नु पर्यो।
संघको नेतृत्वको एउटा पक्षलाइ अध्यक्ष भट्ट दोश्रो कार्यकालमा रन गर्लान भन्ने ठूलो डर छ। हुन त त्यो संभावना पनि नहोला भन्न सकिन्न। अनि त्यसबाट तर्सिएको एउटा झुण्ड २०१९ को चुनाब जित्न लाल किल्ला भनौ या बाम किल्ला भनौ बनाउन तिर लागि परिसक्यो।
त्यसैको लागि आलु-काउलीका बोरा र पिंडालुका सेला समेतका दर्जनौ कमिटी बनाएर सयौं व्यक्तिहरुलाई गरिमामय, सम्मानित, बहुप्रतिष्ठित  सदस्यपदको नियुक्ति गरिरहेको छ। अनि बान्तै आउने गरि फेसबुकका भित्ताभरि बधाई दिनेले आतंक नै मच्चाएका छन्।
यसर्थ त्यो गुट अध्यक्ष भट्टलाई सघाउने होइन असफल बनाउने ध्याउन्नमा छ। एकापक्ष चुनाव तिर लागिसके अनि अर्को पक्षलाइ अध्यक्ष भट्टले तगारो लगाएर संबन्ध नै तोडिसक्नु भएको छ। अब अध्यक्ष भट्टलाई सपोर्ट कसले गर्छ त ? 
धेरैको अपेक्षा अध्यक्ष भट्टले डा घलेलाइ पनि सोधेर २१ जना आइसीसी सदस्य, सल्लाहकार र अरु नियुक्तिमा समेत समेट्ने प्रयास गर्नुहोला भन्ने थियो। डा घलेलाइ चिफ अफ प्यट्रनका लागि सोध्नुहोला, त्यसबाट पछि सम्म काम गर्न सजिलो होला भन्ने थियो। ति कुनै पनि कुराहरु भएनन। के भयो सबैलाई घनिभूत थाहा नै छ त्यो भन्नु जरुरी छैन।
संघलाइ संयुक्त राष्ट्रसंघ जस्तै बनाउने निवर्तमान अध्यक्ष डा घलेको सपना विश्व सम्मेलनबाट पास भएर पनि त्यस माथि तुसारापात गरिएको छ। NRNA Vision & Beyond त अब भिजन मात्रै भयो।    
निश्कर्ष
भकुण्डोलाइ जति दबाएर जमिनमा हान्यो उति नै आफू भन्दा माथि पुग्छ। माथि मात्रै पुग्दैन अनियन्त्रित रुपमा गएर आफ्नो हातबाट फुत्कन्छ। हालको संघको नेतृत्वले गरेको काम पनि यस्तै छ। अध्यक्ष डा घले दोश्रो कार्यकालमा पुग्दा पूर्व अध्यक्ष जिबा लामिछानेले अर्को संघ बनाउने योजना गरेको आरोप थियो। पशुपतिनाथसंग प्रार्थना गरौ, नेतृत्वको सदबुद्धि टुसाएको होस। नेपालीमुलका व्यक्तिहरुले यो संघको विकल्प खोज्ने दिन र अध्यक्ष भट्टलाई इतिहासमा कलंकित हुने समय कदापि नआएको होस।
कृष्णार्पण !