-NRNA President Kumar Pant

एनआरएनएको सदस्यता निशुल्क गर्ने १० कारण र निर्वाचन संबन्धि नयाँ नीति:अध्यक्ष पन्त

Hollywood Khabar August 15,2020 Comments

कृष्ण के सी/अमेरिका/८/१५/२०

**यो लेख संघका अध्यक्ष कुमार पन्तसँग अगष्ट १२, २०२० मा भएको कुराकानीका आधरमा तयार पारिएको हो। त्यसपछडि केहि नीतिगत निर्णय भएकोमा यसमा समावेस नभएको हुनसक्छ।**

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष कुमार पन्तले संघको सदस्यता पूर्ण रुपमा निशुल्क हुने बताउनु भएको छ। यसका साथै निर्वाचन र डेलिगेट्स संबन्न्धि पनि परिमार्जित नयाँ नीति आउँने कुरा बताउनु भएको छ।

अध्यक्ष पन्तले यसै महिना बस्ने संघको अन्तराष्ट्रिय परिषदबाट यी बिषयमा नीतिगत निर्णय गर्नको लागि कार्यकारीहरुको बैठकले निर्णय गरेको र थुप्रै तयारी भएको समेत बताउनु भएको छ। खासगरी सदस्यता, महाधिवेशन र प्रतिनीधित छनोटका कुरा मुख्य छन् र यसलाई एक प्याकेजमा निर्णय गरिनेछ, अध्यक्ष पन्तले बताउनु भयो।

हाम्रीले १५ बर्ष पुरानो इतिहास फर्केर हेर्दा थुप्रै कुरा परिवर्तन गर्दै जानुपर्ने देख्यौं। त्यसका लागि हामी सबैले परिवर्तनलाइ साथ र सहयोग गर्नुपर्छ। अब संघको सदस्यता दिने होइन लिने हो। अनि यसको सुरुवात सदस्यता, निर्वाचन र प्रतिनिधि छनोट गर्ने सिष्टमबाट गरिन लागिएको हो। हामी सदस्यता र प्रतिनिधि छनोट संबन्धि कुरामा प्रष्ट भैसक्यौं। अब अलिकति होमवर्क चाहिं निर्वाचन प्रणाली संबन्धि कुरामा गर्दैछौं, अध्यक्ष पन्तले भन्नुभयो।

निर्वाचन प्रणालीमा आउने मुख्य कुरा सदस्यता, महाधिवेशन प्रतिनिधि र मतदान प्रणाली पर्दछन। सदस्यता निशुल्क गरेपछि आधा समस्या टुंगिन्छ। प्रतिनिधि छनोटबारे पनि सहज र अलि बढी अनुभवमुखी बनाउने हो भने त्यो समस्या पनि टुंगिन्छ। जस्तोकी केन्द्रिय महाधिवेशन प्रतिनिधि हुन कम्तिमा एक पटक सदस्यता नवीकरण गरकोले मात्र पाउने। पधाधिकारी, सदस्य, टास्कफोर्सका सदस्यहरुले स्वतह प्रतिनिधि हुन पाउने जस्ता कुराले सहभागिता बढाउनेछ। संघमा योगदान दिनेले स्थान पाउनेछन। प्रतिनिधि छनोटमा थुप्रै अन्याय भएको गुनासो पनि छ। उसै पनि प्रतिनिधि छनोट प्रक्रिया महँगो भएको आरोप अर्कोतिर छ। त्यसलाई झन सहज बनाउने कुरा अहिले हामीले गर्दैछौ।

निर्वाचन प्रणालीमा पर्ने अर्को मुख्य कुरा मतदान हो। मतदान अब संसार भरिबाट घरमा नै बसेर गर्न पाउने ब्यबस्था गर्ने नै मेरो पहिलो प्राथमिकता हो। मददान सम्पूर्ण पंजीकृत सदस्यले घरबाट नै गर्न पाउने ब्यबस्थाको लागि तयारी हुँदैछ। यसबारे बिस्तृत स्वरुप आउन भने अलिकति समय लाग्छ। जोडिने कुरा चाहिँ मतदान अनलाइन गरियो भने प्रतिनिधि छनोट गर्नु आवश्यक्त पर्दैन। स्वइच्छाले प्रतिनिधि हुन पनि सक्ने ब्यबस्था हुन सक्छ। यो एक विकल्प हो।

अर्को कुरा महाधिवेशन प्रतिनिधि छनोट गर्ने बिधि १५ बर्ष पुरानो हो। त्यो बेला केहि दर्जन एनसीसीहरु थिए। हामी एकदम कम संख्यामा प्रतिनिधि हुने गर्दथ्यौं। ३००/५०० प्रतिनिधि हुनु सानो कुरा हो। अहिले २/५ हजार प्रतिनिधि हुनुपर्ने अवस्था छ। यो बढ्दो रुपमा छ र ५० औं हजार महाधिवेशन प्रतिनिधि हुने अवस्थामा पनि सफल रुपमा महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने प्रमुख कुरा हो। बिचमा केहि परिमार्जन गरियो। तर पनि यसको स्थाई रुपमा ब्यबस्थित गर्ने बिधि भने अझै भएको छैन। यसका दुइ तरिका छन् कुन विधिमा जाने भन्ने निर्क्योल गर्दैछौं।

प्रतिनिधि चयनको कुरासँग हाम्रो प्रमुख हैसियत जोडिएको छ। यसमा अलिकति मात्र घटी-बढी भयो भने नेपालसँगको संबन्ध घट्दै जान्छ। अनि पूर्ण रुपमा छनोट बिधिमा जाँदा अप्रजातान्त्रिक, धेरै खेलबाड र चलखेल हुन थाल्यो। यहाँनेर प्रजातान्त्रिक रुपमा, सहभागीमूलक, बिधि-बिधान संवत हुनेगरी र नेपालसँगको संबन्ध निरन्तर रुपमा हुने गरि प्रतिनिधि हुने ब्यबस्था गर्ने नै मुख्य काम हो।

महाधिवेशन प्रतिनिधि र एनसीसी देखि आइसीसी सम्म उम्मेदवार हुने व्यक्ति संबन्धित देशमा कानुनी रुपमा स्टाटस भएको हुनुपर्ने छ। त्यो पनि अहिलेको नयाँ इस्यू देखिएको छ। संघको पदीय जिम्मेवार व्यक्ति एक देखि अर्को देशमा जान कानुनी रुपमा योग्य हुनुपर्छ। मतलब उ ट्राभल कानुनी रुपमा पनि गर्न योग्य हुनुपर्यो। यसबारे पछि बिस्तृत रुपमा आउनेछु। तर आज चाहिँ सदस्यताबारे नै प्रमुख रुपमा कुरा गर्दछु।

सदस्यता निशुल्क गर्नुपर्ने कारणहरुबारे अध्यक्ष पन्तले दर्शाउनु भएका थुप्रै मध्ये केहि कारण यहाँ उल्लेख गरिएको छ:-

१. धेरै विवाद र नेतृत्व छनोट लगायतका बिषयमा आर्थिक चलखेल भयो भन्ने समेत कुरा छ। मुद्धा-मामिला पनि भएको छ। यसले संघमा विभाजन ल्यायो र पछाडी धकेल्यो। त्यसैले पनि संघको सदस्यता निशुल्क गर्नुपर्ने भएको छ।

२. हामीले ५०,६०,७० हजार या लाख होइन नेपालको संबिधानले गरेको ब्याख्या अनुसारका सबै गैरआवासीय नेपालीहरुले सदस्यता लिने व्यबस्था गर्न लागेका हौँ। अब सदस्यता एनसीसी या आइसीसीले दिने पनि होइन। गैरआवासीय नेपाली नागरिक आफैंले संघको सदस्यता लिने हो। जुन कुरा अब वेबसाइटमा गएर आफैं लिन सकिन्छ। यो नै मेरो कार्यकालको सबैभन्दा प्रमुख काम र कार्यन्वयनपछि संघलाइ ठूलो योगदान मानेको छु।

३. कतिपय एनसीसीका नेतृवहरुले सदस्यता आफ्नो निर्वाचन हार-जितको आंकलन अनुसार खुलाउने र बन्द गर्ने गरेको पनि सुनिएको छ। कतिपय ठाउँमा वेबसाइट नै नचलेर सदस्यता लिन नपाएको पनि कुरा छ। सदस्यता लिन, सुनियोजित रुपमा बन्चित गराउने काम रोक्न पनि सदस्यता निशुल्क गर्नु परेको हो। सदस्यता अब हप्ताको ७ दिन, २४ सै घण्टा बर्षको ३६५ दिन नै वेबसाइटमा गएर आफैंले निश्चित पहिचान दिने मापदण्ड पुरा गरेर लिन सक्ने ब्यबस्था गर्न लागको हो। यो नै स्मार्ट एनआरएनएको अभिन्न भाग पनि हो।

४. यतिमात्र होइन कतिपय एनसीसीहरुमा सदस्यता दिनेकुरामा भेदभाव भएको गुनासा पनि आएका छन्। अनि उम्मेदवारहरुले खर्च गरेर सदस्य बनाएको जस्ता कुरा पनि आएका छन्। संघ सबैको हो अनि सदस्यता लिन पाउने अधिकार सबैको लागि बराबरी छ। त्यसैले पनि सदस्यता आफैं लिने ब्यबस्था गर्न लागिएको हो। यो अति जरुरी भएको छ।

५. गैरआवासीय नेपाली संघको सदस्यता ग्रहण गर्नु, आफैले लिनु, यसलाई साथमा लिएर हिंड्नु हाम्रो गौरवशाली पहिचान हो। यसले थुप्रै कुरा जोडेको हुन्छ। नेपालसँग जोडेको छ, पुर्खासंग जोडेको छ, हाम्रो नेपालमा लगानी र रहेका आर्थिक र अन्य संपत्तिको कुरासँग पनि जोडेको छ। आमा र धर्तीआमा दुवैसँग अभिछिन्न रुपमा जोडेका कारणले गर्दा अब सदस्यता सबैले आफैं लिनुपर्छ। त्यसैले यसलाई पूर्ण रुपमा निशुल्क गर्न लागिएको हो।

६. कतिपय एनसीसीहरुले सदस्यता फेक बनाएको भन्दै अदालतमा मुद्धा चलेका छन्। त्यसलाई उपरान्त देखि हुन नदिन पनि संघको सदस्यता निशुल्क रुपमा सबैले सहज रुपले निश्चित मापदण्ड पुरा गरेर पाउने ब्यबस्था गर्न लागिएको हो।

७. कतिपयले साथीहरु र एनसीसीहरुले निशुल्क गर्दा संघको आर्थिक श्रोत हुन्न भनेको पनि सुनियो तर त्यो कुरा सहि होइन। सदस्यता शुल्क त केवल एउटा माग्त्र श्रोत हो। यहाँ खोज्नुपर्ने र गर्नुपर्ने थुप्रै कुरा रोकिएका छन्। सदस्यता निशुल्क गरेपछि बल्ल एनसीसीहरुले अन्य आर्थिक श्रोत हेर्न थाल्छन। ग्राण्ट, अन्यखाले कण्ट्रिबुशन, च्यारिटी, इभेन्ट लगायतका थुप्रै कुराको सुरुवात हुन्छ। यसबाट संघ चलायमान हुन्छ र आर्थिक रुपमा झन् बलियो हुन्छ।

८. निश्चित घेराका सदस्यले तिरेको सदस्यताको शुल्क भन्दा लाखौँ सदस्यले स्वइच्छाले गरेको योगदान झन ठूलो हुन्छ। त्यसको मूल्य मात्र होइन तौल पनि गह्रौं हुन्छ।

९. अब सदस्यता केन्द्रिय प्रणालीमा बनाइदिने, निर्वाचन प्रणाली पनि हामीले केन्द्रबाट गर्ने भएपछि एनसीसीहरुको काम भनेको आम गैरआवासीय नेपालीहरुबीच पुग्ने हो। त्यो कामका लागि व्यापक सहभागिता अपनत्व दर्शाउन पनि सदस्यता निशुल्क गर्नु परेको हो।

१०. यी लगायतका कुराले गर्दा हामीले सदस्यता निशुल्क गर्न लागिएको हो। यो पूर्ण रुपमा निशुल्क गर्ने हो, आंशिक होइन, यसका लागि सबैजना तयार हुनुपर्छ, बिरोध गर्ने र डराउनु पर्ने कुरा केहि पनि छैन।