-नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र राज पाण्डे

स्वतन्त्र प्रेस र मानवअधिकारमाथि अंकुश लगाउनु अधिनायकबाद-नेता पाण्डे

Hollywood Khabar May 19,2019 Comments

माधब प्रसाद घिमिरे/ललितपुर /५ जेठ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र राज पाण्डेले सरकारले प्रेस र मानवअधिकारमाथि अंकुश लगाउन खोजेर देशलाई अधिनायकबादतिर लगिरहेकोे बताएका छन् । नेपाल प्रेस युनियन ललितपुरले अाइतबार ललितपुरमा अायाेजना गरेकाे ' अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो वताएका हुन् ।

नेता पाण्डेले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्ने कानुन ल्याएर पत्रकारितामाथि अंकुश लगाउन खोजेकोले नेपाली कांग्रेसले कुनैपनि हालतमा राष्ट्रिय सभाबाट ती कानूनहरु पारित हुन नदिने बताएका छन् ।

नेपालको संविधानमै पूर्ण प्रेस स्वतन्त्रता लेखिएकोले स्वतन्त्रताको विरुद्धमा आएका सबै ऐन, कानूनहरु काँग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य नहुने पाण्डेको भनाइ थियो ।

नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले मिडियाको काम लोकतन्त्र र प्रजातन्त्रलाई बचाउने भएको वताए । उनले प्रेस स्वतन्त्रता र मानवअधिकारकाे संरक्षणका लागि नेपाली काँग्रेसले अादर्शका रुपमा सिराेधार्य गर्दै संरक्षण गर्नुपर्ने बताए। अमात्यले पत्रकारलाई निष्पक्ष भएर तथ्यगतरुपमा समाचार सम्प्रेषण गर्न अाग्रह गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकारहरुले उठाएका मागहरुकाे सम्बाेधन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन फिर्ता गर्नुपर्ने वताइन् । श्रमजीवी पत्रकारहरुकाे जायज माग सम्बोधन नभएकाले पत्रकारहरुले यतिखेर सशक्तरुपमा कलम चलाउनुपर्नेमा बाध्य भएर सडकबाटै थप आन्दोलित हुनुपर्ने अवस्था आएको उनले बताइन्।

नेपाल प्रेस युनियन ललितपुर शाखाका अध्यक्ष जानुका बरालले संसदमा दर्ता गरिएको प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक तत्कालै फिर्ता लिनुपर्ने वताइन्।

नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य समेत रहेकी बरालले प्रेस स्वतन्त्रता विराेधी विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको वताइन् ।

सरकारबाटै अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति आउन थालेकोले यतिखेर सम्पूर्ण मिडियाहरु अप्ठ्यारोमा परेको उनको ठम्याई थियो ।

अन्तर्क्रियामा मन्तव्य राख्ने अधिकांश वक्ताहरुले जनताको सूचना पाउने अधिकारलाई कुण्ठित गर्न सरकार उद्दत रहेकाे वताए । साथै सरकारले आफनो दुई तिहाईको दम्भ देखाई नेपाली प्रेस जगत र लोकतन्त्रमाथि नै प्रहार गर्नुले सरकारलाई नै घाटा हुने जिज्ञासा राखेका थिए ।