पूर्वप्रधानमन्त्री माधव नेपाल

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट

Hollywood Khabar July 11,2019 Comments

२७ असार काठमाडौ।श्रीलङ्का भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन्।उनी श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका हुन्।बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंगे,सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्का कम्युनिष्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

भेटका अवसरमा नेपाल र श्रीलङ्काबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलङ्काबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो।लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवका बारेमा चर्चा गरेका थिए।भेटघाटमा श्रीलङ्कास्थित नेपाली राजदूत डा.विश्वम्भर प्याकुरेल को सहभागिता थियो।असार २३ गते कोलम्बो प्रस्थान गर्नु भएका वरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ।