तस्बिर वेब

पहिलो पटक बिजुली बल्यो नवलपरासीको बौदीकाली गाउँपालिकामा

Hollywood Khabar July 08,2019 Comments

२५ असार नवलपरासी।राष्ट्रिय प्रशारणको विद्युत नपुगेको नवलपुरासीको बौदीकाली गाउँपालिकामा विद्युत लाइनको सफल परीक्षण गरिएको छ।तनहुँको घिरिङ गाउँपालिका हुँदै नवलपुरको बौदीकालीमा पहिलो पटक विद्युत लाइन विस्तार गरिएको हो।घिरिङको फुलाबाट बौदीकालीको मदार हुँदै डेढगाउँमा विद्युत विस्तार गरिएको छ। घिरिङबाट तार टाँगेर डेढगाउँमा  ५० र १०० केभीएका दुई वटा ट्रान्सफर्मर जडान गरी विद्युत परीक्षण गरिएकोमा सफल भएको बौदीकाली गाउँपालिका –२, का वडाध्यक्ष बालप्रसाद ठाडाले बताउनुभयो  

बुङ्दीकाली सामुदायिक विद्युतीकरण सहकारी संस्थाको पहलमा नेपाल सरकारको लागतमा बौदीकालीको डेढगाउँ, मिथुकरम र रकुवामा विद्युत विस्तार गरिएको छ। विद्युत विस्तारको जिम्मा पाएको रेणु कन्सट्रक्सनले डेढ वर्ष लगाएर विद्युतको पोल गाड्ने, तार टाङ्ने र ट्रान्सर्फमर जडानको काम सम्पन्न गरेको हो।विद्युतको परीक्षण सफल भएकोले अब छिट्टै सर्वसाधारणलाई मिटर वितरण गरेर विद्युत वितरण गरिने बुङ्दीकाली सामुदायिक विद्युतीकरण सहकारी संस्थाका अध्यक्ष पदमबहादुर विश्वकर्माले बताउनुभयो ।

विद्युत नपुगेको यस क्षेत्रमा पहिलो पटक विद्युत पुगेपछि स्थानीय खुशी भएका छन् ।