Krishna Mali

ठोरी र चितवन बस्ति बसाउने इतिहासका ७६ वर्षे फ़रेस्टर माली

Hollywood Khabar February 25,2019 Comments

प्रेम लामा/ठोरी/२०७५/१४ फागुन

ठोरीका समाजसेवी कृष्ण्मान माली गाउँघरतिर फरेस्टरकै नामले अहिले पनि परिचित छन्। फरेस्टरको जागीर छाडेकै ४६ वर्ष पुगिसक्यो। तर पनि समाजले उनलाई फरेस्टरकै रूपमा चिन्छ।

काठमाडौं दरबार हाइस्कूलबाट कक्षा १० को परीक्षा दिएपछि उनले फरेस्टरको जागीर खाएका थिए। घरको आर्थिक अवस्था कमजोर भएकोले उनलाई जागीर खानुपर्ने बाध्यता बन्यो। जागीरकै क्रममा उनले दरबार हाइस्कूलबाट प्राइभेट कक्षामा भर्ना भई विसं २०१८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। काठमाडौं धोबीचौरमा बुबा श्रीमान् माली र आमा नानीछोरी मालीको जेठो छोरोको रूपमा सन् १९४३ जनवरी ४ तारिखका दिन उनको जन्म भएको थियो।

कृष्णमान जागीरको सिलसिलामा काठमाडौंको धोबीचौरबाट विसं २०२१ सालमा सुवर्णपुर बसाइँ सरेका थिए। सोही वर्ष चितवनको हिलेतिल्काने लगायत स्थानबाट ठोरी, निर्मलबस्ती र सुवर्णपुर बसाइँ सर्नेको लर्को नै लाग्यो। त्यस समय उनी वसन्तपुर रेन्जपोस्टमा फरेस्टर थिए। निर्मलबस्ती र सुवर्णपुर बस्तीकरण हुँदा जमीनको कित्ताकाट गर्ने जिम्मेवारी उनले नै सम्हालेका थिए। कृष्णमानकै नेतृत्वमा सुवर्णपुर र निर्मलबस्ती झरेकालाई जमीनको कित्ताकाँट गर्ने कार्य भयो।

२०२१ साल अघि महादेवपट्टी देखि पश्चिमको पूरै भाग घना जङ्गल थियो। राजा महेन्द्रले ठोरी, निर्मलबस्ती र सुवर्णपुरमा बस्ती बसाल्ने अभियान नै चलाए।

निर्मलबस्ती र सुवर्णपुरमा बस्ती बसाल्ने क्रममा कृष्णमानले जागीरे प्रवृत्ति देखाएनन्। एसएलसीसम्म पढेका त्यसमा पनि सरकारी जागीरे, उनी टाठोबाठो व्यक्तिमैं गनिन्थे। बस्ती बसाल्ने क्रममा आइपर्ने समस्या हल गर्ने जिम्मेवारी स्थानीयले उनकै काँधमा थुपार्थे।

फरेस्टरको जागीर भएपनि सामाजिक कार्यमा उनी सधैं अग्रपङ्क्तिमा हुन्थे। सामाजिक व्यक्तित्वकै कारण एउटा गाउँको नाम उनकै नामबाट नामाकरण भयो।

ओरिया खोलाको किनारमा रहेको मालीबस्ती उनकै नामबाट नामाकरण भएको बस्ती हो। वीरगंज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत विजयबस्तीको पुछारमा रहेको बस्तीलाई अहिले पनि माली बस्तीकै नामले चिनिन्छ।

व्यवस्थित बस्तीकरणका साथै २०२१ सालमा बस्तीको नाम राख्नसमेत उनको महत्वपूर्ण भूमिका रह्यो। अहिलेको सुवर्णपुरको नामाकरण गर्न त्यस समयका शिक्षक नरेन्द्रसिंह राईको संयोजकत्वमा एउटा समिति गठन गरियो।

राई ज्ञानज्योति माविको संस्थापक शिक्षक थिए। २०२३ देखि २०२८ सालसम्म सिंह साबिक सुवर्णपुर गाउँ पञ्चायतका प्रधानपञ्चसमेत भए। उनकै नेतृत्वमा जङ्गल फडानी गरेर बसेको बस्तीलाई सुन्दर बनाउने दृढ सङ्कल्पसहित सुवर्णपुर नामाकरण गरियो। अहिले यही नामले यो ठाउँ परिचित छ।

जागीरेकालमैं सामाजिक व्यक्तिको रूपमा स्थापित सबैभन्दा पुराना व्यक्तिको रूपमा उनले अहिले पहिचान बनाएका छन्। कृष्णमान माली २०२९ साल वैशाख २९ गते फरेस्टरको जागीरबाट राजीनामा दिएर सामाजिक कार्यमा होमिए। त्यसपछि उनको सामाजिक कार्यमा झन् गति बढ्दै गयो।

शिक्षाले मात्रै सुन्दर समाज निर्माण हुने बुझेका माली सुवर्णपुरकै सबैभन्दा जेठो विद्यालय ज्ञानवाटिकाको व्यवस्थापन समितिको अध्यक्षसमेत बने। आर्थिक अवस्था कमजोर रहेका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित मालीले टोलटोलमा विद्यालय खुलेमात्रै शिक्षामा सबैको पहुँच पुग्ने भन्दै विद्यालय चलाउन आफू बसेको घर नै उपलब्ध गराए।

उनको घरमा चार वर्षसम्म सञ्चालन भएको सखुवाटी नेराप्रावि अहिले अब्बल बन्दैछ। उनले घरमात्रै उपलब्ध गराएनन, विद्यालय सञ्चालन गर्न आर्थिक स्रोत समेत जुटाइदिए। २०५६ साल साउन ११ मा स्थापना भएको सो विद्यालय चारवर्ष पछि अहिलेको स्थानमा सारियो।

धार्मिक महत्व बोकेको बाघमोर्चामाई मन्दिरको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण भूमिका छ। बाघमोर्चामाई मन्दिरको संरक्षण र प्रवद्र्धन गर्न मन्दिर वरपर सार्वजनिक जमीन राख्ने कार्यमा उनकै भूमिका रहेको छ। अहिले मन्दिरको जीर्णादवार हुँदैछ। सुवर्णपुरलाई सुन्दर बनाउने सपना बोकेका कृष्णमानले विकासका पूर्वाधार निर्माणका लागि थुप्रै सार्वजनिक जमीन सुरक्षित राख्ने चतु-याइँसमेत गरेका थिए।
बस्तीकरणलगायत शिक्षामा मात्रै हैन, कृष्णमानको योगदान यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनमा समेत अतुलनीय छ । निर्मलबस्ती, सुवर्णपुर, सेढवा र महादेवपट्टी क्षेत्रलाई समेटेर चुरे संरक्षण क्षेत्रको संरक्षण गर्दै जैविक विविधता तथा पर्यापर्यटन विकासमा उनको महत्वपूर्ण योगदान छ।

यस क्षेत्रको विकासको आधार भनेकै जैविक विविधता तथा पर्यापर्यटन रहेको उनको ठम्याइ छ। जैविक विविधता र पर्यापर्यटन विकासलाई अघि बढाउन बूढ्यौली उमेरमा समेत उनले नै नेतृत्व सम्हालिरहेका छन्। अहिले पनि उनको नसानसामा यस क्षेत्रलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने जोश र जाँगर भरिएको छ।

शिक्षा, स्वास्थ्य, रोजगारलगायत क्षेत्रमा पछि परेको आदिवासी जनजातिको हक अधिकार स्थापित गर्न सङ्गठित पार्ने कामपनि उनकै नेतृत्वमा भएको पाइन्छ। यस्तै नेवार समुदायको भाषा, संस्कृति, वेशभूषा तथा अधिकार स्थापनाका लागिसमेत उनले २०५५ सालमा नेवाःखल सुवर्णपुरको नेतृत्व सम्हालेका थिए।

केन्या, क्यानाडा लगायत विदेश भ्रमण गरेका कृष्णमान आफूले बसालेको बस्ती सुन्दर बनाउने सपना अझै बोकिरहेका छन्। उनकी पत्नी, दुई छोरा र दुई छोरी छन्। पति, छोरा र छोरीका असल अभिभावक बनेका कृष्णमान समाजका लागि पनि असल अभिभावक बनेका छन्। कृष्णमान अहिले ७६ वर्ष पुगे। उनको उमेर ढल्किंदै गए पनि गाउँलाई सुन्दर बनाउने जोश जाँगर ढल्केको छैन। सुवर्णपुरलाई इको-टुरिज्म हबको रूपमा विकास गर्ने सङ्कल्प अझै उनले साँचेकै छन्।

राजनीतिकर्मी लामाको नजरमा कृष्णमान

प्रधानपञ्च हुँदै साबिक सुवर्णपुर गाविसका पूर्व अध्यक्षसमेत रहेका जरीलाल थिड्ढा अनुसार कृष्णमान माली समाजका कुशल अभिभावक हुन्। बौद्धिक व्यक्तित्वका धनी कृष्णमानकै दूरदर्शिताका कारण सुवर्णपुरले अहिले विकासमा गति लिइरहेको छ। सामाजिक, धार्मिक, शैक्षिक, पर्यापर्यटन लगायत क्षेत्रमा उनको योगदान उच्च छ । उनकै दूरदर्शिताका कारण सुवर्णपुरको विभिन्न स्थानमा रहेका सार्वजनिक स्थलमा भौतिक पूर्वाधारको विकास भइरहेको छ। समान न्यायको सिद्धान्त अँगाली बस्ती बसालेकोले पनि उनलाई सबैले कुशल अभिभावकको रूपमा मान्दै आएका छन्।

शिक्षक महासङ्घका अध्यक्ष श्रेष्ठको नजरमा माली

नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठका अनुसार कृष्णमान माली यस क्षेत्रमा शिक्षाको ज्योति छर्ने बौद्धिक व्यक्ति हुन्। शिक्षा क्षेत्रको साथसाथै उनले सामाजिक, धार्मिक, पर्यटन विकासका लागिपनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।