फेसबुकमा झुक्किएको जिन्दगी

0
shares

by Soni Sharma | Updated: 25 Jan 2020

232 views
अभिमन्यु दिपक

मलाई सुन्धारा पुग्नु थियो ।आज मसंग मोटरसाईकल थिएन । पुल्चोकबाट सफा टेम्पु चढें । त्यहाँ एउटी केटी सायद एघार बाह्र पढ्ने होला उ रुदै साथीसंग बिलौना गर्दै थिइ ।टेम्पु भिड भएकाले सबै आ आफ्नै धुन र ध्याउन्नमा थिए। संगैकि उसकी साथी होली सायद उ रुदै बिलौना गरेको देखेर सम्झाउँदै थिई । ” हेर न फेसबुकले मेरो जिन्दगी बर्बाद गरायो । खै के भनौ म यसरी बर्बाद भएँ की म बाबा आमा दिदी कसैको सामु मुख देखाउन लायक रहिन । कसैलाइ केही भन्न र सुनाउन लायक भईन म । कसैलाई नआएको वैंस मैलाई आएछ । म आफैंले आफैंलाई बर्बाद गरें भनेर कसरी भनौं म ? जीवनमा यस्तो दिन पनि  आउला भन्ने के थाहा ? आफ्नै आँखा र आफ्नै कानले धोका दिएसी अरु कसलाई दोष दिनु मैले ? बिस्वास गर्नु नै मेरो गल्ती भयो ” उ बोलिरहेकी थिइ साथी चाहिँ सुनेर टोलाई रहेकी थिई ।

उ साथी सामु आफ्नो वृतान्त बताईरहेकि थिई − “ केही समय अगाडी एक जना यूवकको मलाइ फेसबुकमा साथी बन्ने अनुरोध आयो र उस्को प्रोफाइल हेरें बेठिक जस्तो लागेन मान्छेर् नि रुप राम्रै थियो । केहि मेरो फेसबुक फ्रेण्डहरु उसको र मेरो म्युचुयल फ्रेण्ड रहेछन्।त्यो देखि मान्छे वेसै लाग्यो र सरक्क साथी बन्न पठाएको अनुरोधलाई स्विकारें र उसलाई साथी बनाएँ । साथी भएदेखि दैनिक जसो हामीहरु बिचमा हाइ हेल्लो शुभ प्रभात शुभरात्री जस्ता गफ चल्दै जान थाल्यो । अब हामी फेसबुकमा गफ गर्दा गर्दै यति नजिकिई सकेका थियौं कि उ र म एक दिन अनलाईन नहुदा छटपटिन्थ्यौं।  हामी दुबैलाई दिनको एक पटक अन लाईनमा नबोली नहुने एक किसीमको अम्मल जस्तै भई सकेको थियो । एकदिन उसले म्यासेजबाटै प्रेम प्रस्ताब राख्यो मैलेपनि नकार्न सकिन र उसको प्रेम प्रस्तावलाई हृदयदेखि नै स्विकारें । त्यसपछ त झन हामी दिनको दुई चार पटक नबोली नसक्नी भयौं। इमो, भाइबर, म्यासेन्जर अनि कहिले काहीँ नम्बरमा नै कल हुन्थ्यो कुरा हुन्थ्यो । 

एकदिन उसले भागेर बिहे गर्ने प्रस्ताव राख्यो । म अब तिमीसंग छुट्टिन सक्दिन भन्यो मलाइ । आफुले माया गर्ने मान्छेले यसो भन्दा झ्वाट्टै ल भन्न नसकेनि नाई भनिहाल्न नि सकिन । भोली पल्ट कोटेश्वरमा भेटेर मनकामना जाने र बिहे गर्ने कुरो मैले हुन्छ नभनेपनि उसले सबै कुरा फरर योजना सुनायो मेरो सहमति बिना नै । यति सबै सुनिसकेपछि एक किसीमको छुट्टै खालको छट्पटाहट भयो । बेलुका आमाले खाना खान बोलाउनु भो खाना खान सहभागी त भएँ तर रुचेन बलतल गरेर दुई गाँस टिपेर उठें । रातमा कसैलाई केहि भन्न सकिन । भोलीपल्ट बिहान खाना खाएर आमा अफिस जानु भो । बाबा विदेश जानु भा को दुई बर्ष भई सक्या थियो । दिदि र म मात्र घरमा थियौं। बहिनीको छटपटाहट देखेर दिदीले सोधीन होईन तँ हिजो बेलुकादेखि साह्रै छट्पटाईराछेस भयो के नढाटी भन्त । दिदीको कुरा भुईंमा झर्न नपाउँदै उसका आँखामा आँसुको झरी दर्कियो ।  दिदीलाई सबै वृतान्त बताएपछि दिदीले भनी अब दुईमा एक निर्णय गर् । कि उसलाई बिर्सी कि उसको प्रस्ताव मान् । दिदीको कुसरामा उसको प्रस्ताव नकार्न नसक्ने बताएँ । मलाई लाग्यो उसंगको मेरो दाम्पत्य जीवन सायद धेरै खुशी हुन्छ ।

आफुले माया गरेको मान्छेसंग जीवन बिताउछु भन्नेमा म ढुक्क भएँ। त्यसपछी दिदीले त्यसो भए अब पाईला पछाडि नहटा जा अघि बढ भनेर ढाडस दिई आमालाई म सम्हुला चिन्ता नगर भनेर केहि लुगा कपडा र के पैसा दिएर घरबाट बिदा गर्नुभयो दिदीले । म उसले बोलाएको ठाउँ कोटेश्वर पुगें । ट्याक्सी रिजर्भ गरेर उ मलाई कुरी रहेको थियो ट्याक्सीभित्रै बसेर । परैबाट मैले चिनी हालें हतारमा मैले केहि सोध्नै नभ्याई उसले ट्याक्सीमा बस्न भन्यो । म चुपचाप ट्याक्सी भित्र पसें र ढोका लगाएँ ।बाटोभरि हामीबिच खासै कुराकानी भएन । सायद हामी केहि डराएका केहि अतालिएका र केहि असमञ्जस्यताका कारण हामीलाई एकअर्का माझ खुल्न गाह्रो भईरहेको थियो । म जसलाइ आफू भन्दा धेरै माया गर्थें त्यो त्यो मान्छे आज मेरो हुदैथियो ।”

साँझ मनकामना पुगियो । सन्ध्याकालमा आरती गर्नु अघि हामीले सिन्दुरपोते गर्ने निधो गर्यौं। जब सिन्दुर पोते गरन होटेलको रुममा ड्रेस चेञ्ज गर्दै गर्दा पो म छाङ्गाबाट खसे झै भएँ । पीठमा यत्रो कुम्लो मासुको डल्लो रहेछ र एउटा खट्टाको घुँडा मुन्तिर खुट्टै रहेनछ नक्कली खुट्टा पो रहेछ । त्यो देख्ने बित्तिक्कै दिदीलाई फोन गरें । दिदीले अब फर्किने काम नगर झन ठुलो बद्नाम हुन्छ भनेर उल्टो हप्काएपछि म थचक्क भुईंमा बसें । त्यसपछ कतिखेर हामी मन्दिर गयौं कतिखेर सिन्दुरपोते गर्यौं। कतिखेर कुरिनटार झरेर कतिखे काठमाण्डौं आईपुग्यौं मलाई खासै याद रहेन भनेपनि हुन्छ ।त्यो पल देखि म निरन्तर आँखामा सागर बोकेर हिडीरहेको छु ।कहि देखिन्छ कहि देखिन्न । खै आज तलाई देखेर आफै आँखा रसाए । यसो भन्दै बिचरी खुब रुन थाली । मैले सोचें ” यसरी नै फर्सबुकले धेरैलाई झुक्याएको छ । हामी सबैजना सचेत प्राणी हौं सचेत रहनुपर्छ । यो रुवाई त प्रतिनिधी पात्र मात्र हो । समाजमा यस्ता पिडीत कति होलान ? नदेखेको नबुझेको मान्छेसंग प्रेम गर्नुको प्रतिफल हो यो । हुस्सुदण्ड भयो उनको जिन्दगीका लागि । अरुले सिक्नुपर्छ धेरैकुरा यस्ता सामाजिक सञ्जालका बिषयमा  ।”यस्तै यस्तै सोच्दैथिएं – सुन्धारा झर्नुस त भन्ने आवाजले झस्किएँ। भाडा दिएं । आफ्नो गन्तब्यतिर लागें।