सहि गलत जे सुकै होस आफ्नै लजिकको जीन्दगी मज्जा लाग्छ, खोइला बिर्के भन्दा गोल्ड लेबल कहाँ हुन्छ?

Hollywood Khabar September 25,2018 Comments

कृष्ण के सी/अमेरिका
यसो फर्केर हेर्दा यो दुनियाँमा सबैलाइ आफ्नै निर्णय सहि लाग्छ। चाहे त्यो ठिक होस या बेठीक, कानुनी होस् या गैरकानुनी, अरुलाई अप्ठेरो परोस या सप्ठेरो होस् मतलब छैन। तर हामी सबैलाई आफ्नो निर्णय लजिक सहित ठीक लाग्छ ।

हामी मध्ये हरेकमा आफ्नै जीन्दगी ठीक भन्ने लजिक हुन्छ। सायद तेही आफ्नै लजिकको लागि जीउनु नै जीन्दगी होला। त्यसैले त हामी सबै एउटै खाले छैनौ फरक-फरक छौं। अनि सबैले फरक फरक जीन्दगी बाँचेका छौ। नत्र त यूनिभर्शल प्लग जस्तै पो हुनुपर्ने तर तेस्ता छैनौ।

आलुलाई आफू नभए तामाको के काम भन्ने लाग्दो हो। अनि तामालाई आफू बिना आलुको अर्थ, आलु नै हो, म तामा बिना आलुको कुनै काम छैन भन्ने लाग्ला। तर एउटा सत्य कुरा जब आलु र तामाले आपसी अस्थित्व स्वीकार गर्दछन अनि मात्र हामीले स्वादिलो आलु-तामा खान पाउँछौ।

हरेकलाइ आफ्नै कुरा ठिक भएको लजिक हुन्छ। चोरलाइ उसले गरेको चोरी पेशा लजिक सहित ठीक लाग्छ। उ कारण सहित भन्छ, यो यो कारणले म चोर भएको हुँ अनि यसमा मेरो केहि गल्ति छैन। उ चोर हुनुमा उसको कुनै गल्ति छैन बरु दोष अरुकै भन्छ एउटा चोर।  

ज्यानमारालाइ आफू ज्यानमारा भएको गल्ति होइन लजिकल्ली मारेको व्यक्तिकै कारण आफू ठीक छु भन्ने लाग्छ र त्यसै भन्छ। हुन त नेपालमा बीसौं हजार व्यक्तिको जनयुद्धको नाममा मरे अनि त्यसैलाई ठीक भन्दै तिनै व्यक्ति लजिकल्ली नै सरकारमा छन्।

अझै भनौ प्रचण्ड भन्ने व्यक्तिले शान्तिका लागि बिसौ हजार मान्छे मारेकोले नोवेल पुरसकारको लागि निवेवन नदेलान भन्न पनि के बेर। ओलीलाइ आफू अब्बल प्रधानमन्त्री लाग्छ, उनले जमिनमै जहाज चलाउने कुरा लजिकल्ली सहि हो भन्छन। तर तेही कुरा उनैका पार्टीका माधब नेपाल सत्य होइन भन्दा रहेछन, तर पनि दुवै एउटै पार्टीको भन्छन। शेर बहादुर देउबालाई आफू उच्चकोटीको सभापति लाग्छ अनि डा शशांक कोइरालालाइ तेस्तो लाग्दैन, आफै ठीक लाग्छ।

पूजारीले पूजागर्नु भन्दा राम्रो दुनियाँमा अरु केहि छैन भन्ने लजिक दिन्छन। अनि आफ्नो पूजाआजा प्रति गौरव गर्छन। धर्मीले धर्मको, कर्मीले कर्मको र मार्मीले आफ्नो जति मर्म कसैको छैन भन्छन।

धामीलाइ देउता नै उनका वरिपरि छन्, त्यसैले आफू भगवान र देवी-देउताको साथमा रहेकोले सबै रोग निको पार्छु भन्छन। तर वास्तवमा भने तेसो भएको छैन।

एउटा नेतालाई उसको पार्टी र आफू भन्दा सहि नेता कोहि छैन भन्ने लाग्छ। अनि तेसै भन्छन उनका समर्थक। तर त्यो कुरा कतिले पत्याउन छन् र सहि छ त्यो भने अर्कै कुरा हो।

खेलाडीलाइ खेल हारे पनि अर्कैका कारण हारेकोले आफू तगडा नै भएको लजिक दिन्छ। अनि उ अझै कारण सहित हार स्वीकार्दैन। वर्ल्डकपमा गरिव देश भएकोले कुनै एउटा देशले जित्नु पर्ने लजिक दिनेहरु पनि मैले भेटेको थिएँ।

कर्मजीवीहरु कमाउनु पर्ने ठीक भन्दै लजिक दिन्छन। ब्यापारीहरु ब्यबसाय त्यसमा पनि आफ्नो ब्यबसाय भन्दा अब्बल ब्यबसाय अरु कुनै देख्दैनन। उद्योगीहरु पनि तेसै भन्छन। हाम्रा नेपाली खरबपति बिनोद चौधरीलाइ पनि वाई-वाई भन्दा राम्रो  उद्योग अरु लाग्दैन होला।

जड्याहाहरुलाई आफ्नो ब्राण्डको दारु भन्दा असल कसैको लाग्दैन। पैसा भएन भने साइलीको भट्टीको खोइला बिर्के भन्दा अब्बल गोल्ड लेबल कहाँ हुन्छ भन्छन।

यस्तो त हरेक बिषयमा छ। पत्रकारहरु आफ्नो समाचार ठीक अरुको फेक र पेगवाला भन्दै लजिक दिन्छन। अपराधिहरु पनि आफ्नै कुरा ठीक भन्ने लजिक दिन्छन, भ्रष्टचारीहरु तेसै भन्छन। गुण्डाहरु सहि कारण र उपयुक्त गुण्डा भएकोले ठीक भएको लजिक दिन्छन।

एउटा बुद्धत्व के पनि हो भन्ने, तपाइलाई ठीक लाग्ने कुरा मलाइ बेठिक लाग्न सक्छ। अनि मलाइ ठीक लाग्छ त्यो तपाइलाई बेठिक लाग्न सक्छ। हामी सबैको आ-आफ्नै जीन्दगीको लजिक छ। तर कानुन भन्ने चिज छ त्यसले लजिक बिनाको फरक ब्याख्या गर्छ। त्यसको अगाडी हाम्रो लजिक फेल खानसक्छ। त्यसैले होला सबै एकातिर कानुन अर्कातिर भएर आँखामा पट्टी बाँधेको सांकेतिक पुत्ला अदालतमा हुन्छ ?