दुइ असल व्यक्ति चुनाब लडेर हार्ने खराव र दुइ खराब लडेर जित्ने असल हुँदैन

0
shares

by Krishna KC | Updated: 22 May 2019

825 views
-Krishna KC

कृष्ण के सी/अमेरिका/५/२२/१९

दुइ असल व्यक्ति एउटै सिटमा चुनाब लडेर हार्ने उम्मेद्वार खराव हुँदैन। त्यसैगरी दुइ खराब व्यक्ति एउटै सिटमा चुनाब लडेर जित्ने व्यक्ति चाहिँ असल र हार्ने व्यक्ति खराब पनि हुँदैन। तर त्यो समयमा जित्नेलाइ मतदाताले बढी असल माने भन्ने कुरा नै चुनावको मर्म हो। कुनै समय स्व. मदन भण्डारी र स्व. कृष्ण प्रसाद भट्टराई एउटा ठाउँबाट चुनाव लडे। भण्डारीसँग भट्टराईले चुनाब हारेता पनि उनि खराव भने थिएनन। त्यो समयमा त्यो ठाउँका मतदाताले भट्टराईलाइ भन्दा भण्डारीलाई बढी मन पराए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ सम्पन्न भएको छ। सुनिल साहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। निर्वाचन पछि फेसबुकमा कतै बधाई त कतै गाली, कतै घात र अन्तर्घातका कुरा खुबै चलेका छन्। कतिपय ठाउँमा त्यसो पनि भएका होलान। ति सबै तिरको प्रस्तुति र ठम्याई हेर्दा भने मलाइ बेग्लै अनुभव भयो।

चुनाव भनेकै थोरैजनाले धेरैजना माथि जित्ने र धेरैजनाले हार्ने खेल हो। अर्थात धेरै मत पाउने थोरै ब्यक्तिहरुले थोरै मत पाउने धेरैजनालाइ जित्ने सिष्टम हो। चुनाव भनेपछि अलिकति राजनीति त हुन्छ नै। नीतिहरुमा सर्वोत्तम नै राजनीति मानिन्छ। तर राजनीति भनेको बाङ्गो मार्गमा अगाडी बढ्ने सबैभन्दा धेरै गठजोड र प्लक्चुएशन हुने प्रयोगशाला हो। जसको बाटो नै बाङ्गो हुन्छ त्यहाँ धेरै खेल पनि हुने नै भयो।

राजनीतिको सुरुवातसंगै समाज वर्ग वर्गहरुमा विभाजन हुन्छ। जहाँ राजनीति हुन्छ, त्यहाँ विभाजन सुरु हुन्छ। जहाँ विभाजन हुन्छ, त्यहाँ मत, विमत, पक्ष र विपक्ष हुन्छ अनि अल्पमत र बहुमत पनि हुन्छ। त्यसैले मत र जीतहार छुट्याउन चुनाव गर्नु पर्ने अवस्थाको सृजना हुन्छ। चुनाव भएपछि कोहि हार्छन कोहि जित्छन। मनले नमान्ने, हृदयले अस्विकार गरेता पनि सत्य कुरा भने यहि नै हो।

यो गैरआवासीय नेपाली संघको पनि थुप्रै चुनाव हेरियो। सहभागि भइयो, सघाइयो, क्याम्पेन पनि गरियो, आफैले पनि चुनाव जितियो र काम पनि गरियो। यस अर्थमा यो संघप्रति मेरो धेर-थोर लगानी छ। यहाँ अरुको जस्तो ठूलो नभएता पनि केहि दिल, केहि दिमाग, केहि समय, केहि शब्द र केहि अर्थ पनि खर्चेको छु।

एउटा बिषयलाई लियर अल्झेर कोट्याउँदै बस्ने हो भने कतै पनि पुगिदैन। यो पटक कसरी हारियो भनेर विवाद गरेर अल्झेर बसियो भने अर्को पटक जितिन्न। यसलाई केलायर चटक्कै छोडेर कि अर्को बाटो लाग्नुपर्यो कि भने अर्को पटक दोब्बरले जित्ने तयारी गर्नुपर्यो। अमेरिकी राजनीतिको प्राक्टिस पनि तेस्तै देखिन्छ। मेरो बुझाइमा यो नै निर्वाचनको मुलमर्म हो, नेतृत्वको खेल हो, राजनीति हो।

हुन त आजकल निर्वाचन जित्नलाइ जेण्टल एग्रिमेन्टका कुरा पनि हुने गर्छन। सबै नभए पनि कतिपय पटक भने एउटा असक्षमा ब्यक्तिले पनि त्यसैको आधारमा कुनै दर्जा पाउने गर्छ। अनि संस्थामा कुचलनको सुरुवात हुन्छ। असक्षम व्यक्तिले उम्मेद्वार भएकै कारण सजिलै नेतृत्व पाउन झ्यालको बाटो घरभित्र छिर्ने तरिका पनि यहि हो।

जसरी छोरी बिहे गर्न आमा माग्नु पर्दैन, त्यसैगरी क्षमता हुनेले कुनै सानो पद पाउन ठुलो पदमा उम्मेद्वारी घोषणा गरेर तल झर्नु पनि पर्दैन, हुँदैन। आफूले जित्ने सर्तमा कसैलाई कुनै पद दिने एग्रिमेन्ट गर्नु अर्को भुल हो। एग्रिमेन्ट गरेपनि त्यसलाई मानेर जितेपछि अयोग्य व्यक्तिलाई पद दिनु भनेको जितेकाले आफैंलाइ असफल पार्नु हो।

मेरो बुझाइमा चुनाब भनेको बक्र रेखामा खेलिने खेल हो। यसमा जित्नेले हार्ने र बाँकीलाई समेटेर स्वामित्वमा स्थान्न दिएर जानु नै बुद्धिमानी हुन्छ। जेन्टल एग्रिमेन्टको नाममा भैंसी पुजा र गाई बलिदान गर्नु उपयुक्त हुँदैन। जित्नेले समेट्ने र हार्नेले स्विकार्ने नै चुनावको मर्म हो। चुनावी विभाजनलाइ सँस्थागत गर्नु पनि हुँदैन भन्ने मेरो मान्यता हो। यसको अन्त्य चुनावको नतिजा आएको समयमा नै गर्नुपर्छ। यसलाई बोकेर हिँडियो भने गुटको सुरुवात हुन्छ र सँस्था धारासाही हुँदै गर्ल्याम झर्छ।

हो, चुनावमा कतिपय पटक मन र मस्तिष्कले नमाम्न्ने कुराहरुको अनुभव पनि भएको हुन्छ। तर त्यसलाई अर्को पटक निमिट्यान्न पार्न गरिने योजनाले नै व्यक्तिलाइ नेतृत्वमा पुर्याउँछ। यो मेरो बुझाइ हो सबैलाई चित्त नबुझ्न सक्छ।