-तस्विर वेब

एकल बिन्दु सेवा केन्द्रको आज सञ्चालनमा आउने

Hollywood Khabar May 13,2019 Comments

१ जेठ काठमाण्डौ।निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्र बुधबारदेखि सञ्चालनमा आउने भएको छ।उद्योग दर्ता, प्रवेशाज्ञालगायत विभिन्न आठ प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ सरकारले उद्योग विभागको परिसरमा यो केन्द्र स्थापना गरेको छ। 

गएको चैत १५ र १६ गते काठमाण्डाैमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।एकल बिन्दु सेवा केन्द्रले औद्योगिक व्यवसाय ऐन,२०७३ तथा अन्य प्रचलित कानून बमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट उपलब्ध गराउने छ। 

त्यस्तै सरकारका विभिन्न निकायबाट सम्पादन गर्ने कार्यहरु समयभित्रै एकै स्थलबाट गर्ने तथा उद्योग स्थापनाको अनुमती, दर्ता, विस्तारदेखि निर्गमन (एक्जिट)सम्मका उद्योग प्रशासनसम्बन्धी सेवा केन्द्रबाट प्रवाह गरिनेछ। केन्द्रमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, प्रवेशाज्ञा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून एकाइ रहने छन्। 

केन्द्रमा सहसचिव सरहका एक प्रमुख कार्यकारीसहित ४१ दरबन्दी रहेको हालै प्रकाशित राजपत्रमा उल्लेख छ।केन्द्रमा सेवा प्रवाहलाई सहज बनाउन विभिन्न १४ वटा सरकारी निकायको प्रतिनिधित्व रहेको छ।केन्द्रको बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवले शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।