-राष्ट्रिय सेवा दलका सह संरक्षक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

उपप्रधान तथा रक्षामन्त्रीद्वारा दीक्षान्त कवाजको निरीक्षण

Hollywood Khabar February 16,2019 Comments

राष्ट्रिय सेवा दलका सह संरक्षक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ फाल्गुन ५ मा उक्त सेवा दलद्वारा सञ्चालित सि सं १४ NCC सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज निरीक्षण गर्नु भयो।

अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, राज्यका संस्थाहरु प्रति सम्मान, मुलुक प्रति समर्पित, राष्ट्रियताप्रति बफादार, नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले नेपाल अधिराज्य भरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई यो तालिम बि सं २०२२ बाट सञ्चालन गर्दै आइरहेको छ।

सो क्रममा हालसम्म कुल ४३‚६३२ (त्रिचालिस हजार छ सय बत्तिस) जना क्याडेट छात्रछात्राहरुले सफलतापूर्वक उक्त तालिम हासिल गरिसकेका छन् । यस आर्थिक वर्षमा मात्रै ७७ जिल्लाका २१६ विद्यालयहरुबाट कुल ७७०० (सात हजार सात सय) जना क्याडेट छात्रछात्राहरुलाई उक्त सेवा दलको तालिममा सहभागि गराएको थियो। जस अन्तर्गत सिनियर डिभिजन तर्फ १ हजार ८० जना र जुनियर डिभिजन तर्फ ६ हजार ६ सय २० जना रहेका छन् । ती मध्ये आजको कार्यक्रममा ५१४ जना क्याडेट छात्रछात्राहरु दिक्षित भएका हुन् ।

सोही अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले NCC तालिमका क्याडेटहरुले प्रदर्शन गरेको मार्चपाष्ट, विभिन्न कला तथा नृत्यहरुको अवलोकन, क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसापत्र प्रदान गर्नुको साथै क्याडेटहरुलाई सम्बोधन गर्नु भएको थियो। सोही अवसरमा सेवा दलका सह संरक्षक एवं प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र रक्षा सचिव विष्णु प्रसाद लम्सालले समेत NCC तालिमका क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रममा मित्रराष्ट्रका सैनिक सहचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, सेनाका रथीबृन्द तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ ।