नगरपालिकाका उप–प्रमुख बालकुमारी अधिकारिलाई सहयोग रकमको चेक हस्तान्तरण गरिदै

दुधौली नगरपालिकाको बाल संरक्षण तथा आपतकालीन कोषलाई आर्थिक सहयोग

Hollywood Khabar September 23,2020 Comments

सिन्धुली । सामुदायिक बिकास कार्यक्रम, सिन्धुली (CDPS ) अन्तर्गत बाल संरक्षण परियोजनाले दुधौली नगरपालिकाको बाल संरक्षण तथा आपतकालीन कोषका लागि आर्थिक सहयोग गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीको साझेदारिमा संचालित परियोजनाले नगरपालिकालाई पचास हजार रुपैयाँ सहयोग गरेको हो । सामुदायिक बिकास कार्यक्रमका सचिब मिलन श्रेष्ठले नगरपालिकाका उप–प्रमुख बालकुमारी अधिकारिलाइ नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर २ का अध्यक्ष रितेश राउत, नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत पदम बिष्टलगायतको उपस्थितिमा सहयोग रकमको नगद चेक हस्तान्तरण गर्नुभएको हो ।
 
सहयोग रकम बुझ्दै नगरपालिकाका उपप्रमुख अधिकारिले बालबालिकाको हितको लागि नगरपालिकाको बाल संरक्षण कोषमा सहयोग रकम जुट्नु स्वागतयोग्य कार्य भएको बताउनुभएको छ । बालबालिका संरक्षण नीति २०७६ नगरपालिकाले निर्णय पारित गरेको तर बालकोष निर्माण नभईसकेको अबस्थामा परियोजनाको सहयोगले कोष निर्माणमा थप उर्जा स्थापित गरेको उप(प्रमुख अधिकारीले बताउनुभएको छ । उप(प्रमुख अधिकारिले नगरपालिकाको दुई वडा ३ र ६ मा मात्रै परियोजना संचालनमा आएकोले परियोजनालाइ सबै वडामा क्षेत्र बिस्तार गर्न आग्रह समेत गर्नुभएको छ ।
 
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीसंगको साझेदारीमा २०७६ श्रावण १६ बाट बाल संरक्षण परियोजना सिन्धुलिका विभिन्न स्थानिय निकायमा संचालित छ । परियोजनाले बाल संरक्षणको क्षेत्रमा विभिन्न पालिकामा नितिगत सुधार, बिधालय तथा समुदायको क्षेत्रमा काम गरिरहेको छ ।
 
बालबालिका र युवा महिलाहरु सबै प्रकारका हिंसा दुरुपयोग शोषण र हानिकारक परम्परागत अभ्यासका बिरुद्ध सशक्त र सुरक्षीत हुने लक्ष सहित परियोजनाले काम गरिरहेको परियोजनाका कार्यक्रम संयोजक जनक बिकले बताउनुभएको छ । कमलामाइ नगरपालिकाको १४ वडा, दुधौली नगरपालिकाको ३ र ६ नम्बर वडा, मरिण गाउँपालिकाको ७ ओटै वडा, सुनकोशी गाउँपालिकाको सबै ७ वडा, तिनपाटन गाउँपालिकाको १, २ र ३ नम्बर वडा र गोलन्जोर गाउँपालिकाको ५ र ७ नम्बर वडामा परियोजनाले हाल काम गरिरहेको छ ।
 
परियोजनाले सबै वडामा बाल अधिकार समिती गठन तथा पुनर्गठन, अभिमुखिकरण तालिम र पहिलो चरणमा परियोजनाले २९ बिधालयहरुमा बाल संरक्षण नीति निर्माण गरिसकेको छ ।
समुदायमा सकारात्मक अभिभावकत्वको बिकास गर्ने, बालबालिकामा हुने विविध दुव्र्यवहारको सवालमा परामर्श, अनलाइनको क्षेत्रमा हुने बालबालिका माथिको हिंसा न्यूनीकरणका लागि परामर्श तथा सहयोग परियोजनाले गरिरहेको संयोजक बिकले बताउनुभएको छ ।
 
परियोजनाले कमलामाइ नगरपालिका र तिनपाटन गाउँपालिकामा बाल संरक्षण नीति निर्माण गरेको र जिल्लाको सुनकोसी, मरिण गाउँपालिका र दुधौली नगरपालिकामा बालबिबाह तथा बाल संरक्षण सम्बन्धि रणनीतिक योजना बनाउन उत्प्रेरित गरेको छ ।
 
हिंसामा परेका बालबालिका तथा उनका परिवारहरुलाइ आर्थिक तथा सामाग्री सहयोग र परामर्श प्रदान गर्ने लक्ष राखेको परियोजनाले विभिन्न पालिकाका १४ जना लक्षित बालबालिकालाई आर्थिक तथा मनोबैज्ञानिक परामर्श सहयोग गरेको छ । परियोजना सन २०२३ सम्म संचालन हुने छ ।