Dr Sandhya Nepal in Dukuchhap Lalitpur

डा नेपालको सहयोगमा डुकुछापका २०९ बिधार्थीलाइ शैक्षिक सामग्री वितरण

Hollywood Khabar February 05,2019 Comments

सन्तोष प्रणामी/ललितपूर

गोदावरी नगरपालिका ८ डुकुछापस्थित दनुवार बस्तीमा अवस्थित चण्डीदेवी आधारभूत विद्यालयका २०९ जना विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमका बीच विद्यालयको पोसाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

हाल अमेरिका निवासी डा सन्ध्या नेपालको सहयोगमा प्रदान गरिएको उक्त पोसाक तथा शैक्षिक सामग्रीहरु सन्ध्याका पिता समाजसेवी ठाकुर नेपाल तथा माता तारा नेपालले वितरण गरेका हुन्।

ललितपूर क्षेत्र नं १ (ख) का प्रदेशसभा सांसद चेतनाथ संजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीताराम खड्काले विद्यालयको वर्तमान भौतिक तथा शैक्षिक अवस्थाको बारेमा जानकारी गराउदै पर्याप्त सम्भावना भएको डुकुछापको उक्त विद्यालयमा वडाभरीका ४ विद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको बताए । विद्यालय संचालनको लागि जग्गा लगायत अन्य भौतिक स्रोत साधनको अभाव भएको र नगरपालिकाले यसप्रति खासै ध्यान नदिएको उनले गुनासो गरे ।

यस्तै समाजसेवी मोहन सिलवालले एकदमै दयनीय अवस्थामा सञ्चालन भैइरहेको विद्यालय भएकाले सहयोग उपलब्ध गराउनुपर्छ भन्ने भावनाले सहयोग गर्नका लागि आफूले सुरुदेखि नि पहल गरेको बताए। यसैगरी मतदातालाई सबल र सक्षम बनाउन कसरत गर्न उनले आग्रह गर्दै वडाभित्र सिचाइको व्यवस्था कृषिमा आत्मनिर्भर बनाउनको लागि बीउबिजन उपलब्ध गराउन सिलवालले वडाध्यक्षलाई आग्रह गरेका थिए ।

अर्का समाजसेवी रामकाजी केसीले वडाका ४ विद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थी रहेको विद्यालय चण्डीदेवी नै रहेको र विद्यार्थीलाई पोसाककै प्रमुख समस्या रहेकोले यो कार्यक्रम राखिएको उल्लेख गर्दैअभिभाभकले पनि बालबालिकाहरुको भविष्य र अध्ययनप्रती विशेष ध्यान दिनुपर्ने कुरामा सचेत गराए ।

शैक्षिक सामग्री तथा पोसाक वितरण गर्दै ठाकुर नेपाल(सन्ध्याका पिता) ले अमेरिकाबाट पिएचडी पास गरेको खुसीयालीमा आफ्नी छोरी सन्ध्याले गरीब तथा जेहेन्दार समुदायका विद्यार्थीलाई उक्त सहयोग गरेको जानकारी गराए । सानैदेखि सन्ध्या अध्ययनमा अत्यन्तै मेहनती रहेको र त्यही मेहनतले गर्दा आज डाक्टरको उपाधि पाउन सफल भएको भन्दै उनले सबै विद्यार्थीलाई पढाईमा दत्तचित्त बनाउने उद्देश्यले स्कुलमा पोसाक र स्टेसनरी सामान सहयोग गरेको बताए । कुनै पनि बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ पनिबालबालिकालाई अध्ययनप्रति उत्प्रेरित गराउन यस्ता कार्यक्रमहरु सहयोगी हुने उनको तर्क थियो ।

वडाध्यक्ष सुकबहादुर लामाले विद्यालयका शिक्षकहरुले शिक्षालाई गुणस्तरीय बनाउन अहम भूमिका खेलेको र विद्यार्थीहरु पनि अध्ययनमा जेहेन्दारपूर्वक लागिरहेको बताए । रमाईलो वातावरणमा स्कुल सञ्चालन भैइरहेको भन्दै उनले वडाको विकासका लागि समाजसेवी भावनाबाट आफू सधै लागिरहेको जानकारी दिए । पार्टीगत स्वार्थ नहेरी सबै वडाबासीले आफूलाई हरेक कुरामा सहयोग गरेकोमा लामाले खुसी व्यक्त गरेका छन् ।यस्तै विद्यालयमा आएर सहयोग गर्ने दाताहरुप्रती धन्यवाद ज्ञापन गर्दै उनले विद्यालय र वडाले यसको उचित मुल्याङ्कन गर्ने बताए ।

प्रमुख अतिथि प्रदेशसभा सांसद चेतनाथ संजेलले बालबालिकाहरुको उज्ज्वल भविश्यका लागि दाताहरुले सहयोग गरेको हुँदा अभिभाभकले पनि आफ्ना बालबालिकाहरुको पढाई र भविष्यको लागि विशेष रूपमा ध्यान दिन आग्रह गरेका थिए । विद्यालय र अभिभाभकले विशेष ध्यान नदिई बालबच्चाको भविष्य राम्रो हुन नसक्ने उनको तर्क थियो । उक्त विद्यालयको उन्नति, बालबालिकाको भविष्य र समस्त वडाको विकासका लागि आफूले प्रदेशसभा सदस्यको हैसियतमा हरतरहले सयोग गरिरहने समेत संजेलले बताएका छन् ।

उक्त कार्यक्रममा तेश्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्नुका साथै प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । यस्तै डा सन्ध्याका पिता ठाकुर नेपाललाई चिनो प्रमाणपत्र दिएर र माता तारा नेपाललाई दोसल्ला ओढाएर सम्मान थियो ।