Dr Chhabi Panthi

कुरा नै नसुन्ने नेताहरुलाई गम्भीर प्रश्न-डा.छवि पन्थी

Hollywood Khabar February 04,2017 Comments

धेरै दिन पछि लेख्दै छु, हुनत यो लेखाईको प्रारम्भिक सुरुवात मैले एक दशक पहिलेनै सुरुवात गरेको थिएँ। त्यो अवस्थामा चितवन जिल्लाका रेडियो र पत्रिकाहरुमा हल्काफुल्का चर्चा पनि चलेको थियो। त्यो लेखाईको अर्थपूर्ण वाक्य थियो "पोलिटिक्स इज ए पाथ वे टु विकम हिरो ह्विच डिमिनिस् अदरस्"। मलाई लाग्छ यो वाक्यको अर्थ धेरै पहिलेको समयमा पनि थियो, अहिले पनि छ र पछि पनि रहने छ । नेपाली राजनीतिका भयंकर डरलाग्दा हाउगुजीहरु र यसको समसामयिक परिभाषाहरु अति अशोभनीय बिम्वहरु हुने गरेका छन् ती बिम्वहरुमा भारतीय बिस्तारवाद, अमेरिकी साम्राज्यवाद, उग्रवाद, यथास्थितीवाद, दक्षिणपन्थी, सामन्तवादी, शोसक, जडसुत्रवादी लगायत अहिले मधेशी राष्ट्रवाद, महेन्द्रकालिन राष्ट्रवाद र खोक्रो अनि नक्कली राष्ट्रवाद सँगै थुप्रै आयातित माक्सवाद, माओवाद, लेलिनवाद, स्टालीन लगायत सयौको संख्यामा हालको वर्तमान नेपाल भित्र अत्याधिक प्रयोगमा छन् जसको परिभाषाहरु समाजमा विद्वान ठानिएका र मानिएका महात्माहरुले आ-आफ्नै ढंगले दिने गर्छन् र यी बनावटी परिभाषाहरुको गहिरो प्रभाव विद्यमान समाजमा परिरहेको छ ।

केही नेपाली राजनीतिका राजनेता बाहेक माथि उल्लेखित आयातित बिम्वहरुको भारी बोकेर हिड्ने बिम्वात्मक र ब्यपारिक दलालहरु नै यी बिम्वहरुका सच्चा पुजारी हुन् जसले आ-आफ्ना राजनीतिक प्रभुहरुको बिधी-बिधान पुराएर पुजा-आजा गर्न सक्छन् र प्रभुको इशारा जस्ताको तस्तै प्रयोग गर्न कोशिश गर्छन् तर के गर्नु राजनीतिको खुट्टा हुँदैन, आयातित पनि हुँदैन, राजनीति त्यसरी चल्दैन र रहन सक्दैन, किनकी यसको चरित्र पूर्ण मौलिकता युक्त हुन्छ । त्यसैले अहिलेको राजनीतिक खिचातानी यिनै बिम्वहरु बिचको टकराव हो, आयातित र मौलिकता बिचको गम्भीर लडाई हो। राजनीति राज्यको नीति, नियम, कानुन, परिधि, सीमा र सेनाको सकारात्मक योग हो। राजनीतिको लागि राज्य चाहिन्छ जनता चाहिन्छ न कि राज्य बिहिनता र माथि उल्लेखित आयातित बिम्वहरु।

हालको अवस्थालाई नजिकबाट अध्ययन गर्नेहरु वा यो अवस्थाको सृजनाकारहरुले बुझ्नु पर्ने कुरा किन बुझ्दैनन ? के माक्सवाद, माआेवाद र लेलिनवाद लगायतका आयातितवादको अक्षरस पालन गर्ने पालकहरु राजनीतिका सच्चा नेता हुन त ? के यी वादहरु शुद्ध राजनीतिका जँघे पिल्लरहरु हुन ? यदि हुन भने कहिले देखि यी वादहरु पिल्लर बने ? निषेध के यसको आधारभूत सिद्वान्त हो ? असुरक्षा, बन्द हडताल, तोडफोड-आगजनी, हिंसा, हत्या, नीति बिहिनता, अनिर्णयता, राज्य बिहिनता र विलय यसको लक्ष्यात्मक कार्य- दिशा हो? होईन भने के हो ? जनतालाई बेकुफ बनाउँने, लडाउँने, भडाउँने र अनेकौ किसिमका घीन लाग्दा कार्यहरु के नेपाली राजनीतिक पर्दाका प्रभु पालक महात्माहरुको काम होईन ? राज्यको भौतिक संरचनाहरु खरानी बनाउने, प्राचीन सभ्यता र सँस्कृतिको आफू-अनुकूल व्याख्या गरी धावा बोल्ने, धर्म भाषा र भेषभूषाको समुल नष्ट गर्ने यी आयातित वादहरुका खेलाडीहरु वा पालकको गतिविधि होईनन् ? को को सँग छ यी प्रश्नहरुको चित्त बुझ्दो जवाफ र जवाफदेही पारदर्शिता ?

राम्रो गर्ने नाममा नराम्रो गर्ने, सत्यतामा झुट थुपार्ने, निर्बलतामा जबरदस्ती गर्ने, सक्कलताको दुहाई दिँदै वनावटिताका अनेकौ पोर्पोगाण्डाका श्रींखला मच्चाउने महान नेता ज्यू तपाईहरु को हो ? के तपाई विद्वानहरुले भने जस्तै प्रभु पालक हो ? आयातित बिम्वहरुको ब्यपारिक दलाल हो ? तपाईहरु आफुलाई महान नायक ठान्नु हुन्छ, दर्शनीय विचारहरुका भ्रमहरु फैलाउनु हुन्छ, खोई त हामी जनतालाई सन्तुष्टी? के तपाई सँग जनतालाई सन्तुष्ट बनाउन सक्ने ताकत छ ? आजको दिन सम्म तपाईहरुले गरेको काम कारवाहीबाट कति जना सुखी, खुशी र सन्तुष्ट बनाउनु भएको छ र छन् ? तपाई र तपाईहरुको पार्टीबाट हालसम्म गरिएका काम-कारबाही र गतिविधिहरुबाट सकारात्मक उपलब्धिको एउटै मात्र उदाहरण बताउनुहोस यो तपाईहरुको लागि पंक्तिकारको मात्र चुनौती होईन, समस्त आम-नागरिकहरु र स्वयं तपाईहरुको पनि हो। यति हुँदा हुँदै पनि तपाई आफुले आफुलाई ठिक भन्नु हुन्छ र हामी जनतालाई जवरदस्ती ठिक हो भन्न लगाउनु हुन्छ, आखिर किन ? कसले तपाईलाई यो अधिकार प्रत्यायोजन गरेको थियो र छ ? तपाईहरु को हो ? 

तपाईहरु को हो ? तपाई पहिले नपुन्सक हो, समाजसेवाको नाममा देश बिगार्ने, जनता लडाउँने, भडाउँने, राज्य टुक्राउने बिखण्डनकारी देशद्रोही हो, नेपाल आमाको अस्मिता लुट्ने र लुटाउन खोज्ने बलात्कारी हो । निरँकुश हो , भ्रष्ट हो, गुण्डा हो, चोर हो, नालायक हो । गालि नै गालीहरुको उपमा हो, सैतान हो ? हो कि होइन जवाफ छ ? यदि होइन भने यो सवै गतिविधि किन ? नेपाल आमालाई यस्तो र उस्तोको कठिनाई भयो, भारतले देश लुट्यो, चाईनाले सगरमाथा मेरो भनिसक्यो अमेरिका र यूरोपले यो गर र त्यो नगर भनेर भनेका छन् भनि कति दिन तपाईहरुको राजनीति चलाउनु हुन्छ ? तपाईहरुको यो खेलको परिभाषालाई हामीले परिवर्तन गरी कुराजनीति बनाएको छौ । नाटकमा मन्चन गरिन्छ, षड्यन्त्र गरिदैन, यो त केवल कथानक हुन्छ । त्यसै गरी राजनीतिमा षड्यन्त्र गर्नु कुराजनीति हो यो नगरी तपाईहरुलाई खाएको पच्दैन, पचाउनको लागि पाचन रस याने कि ईन्जाइम जरुरी हुन्छ त्यो भनेको सच्चाईको सुरुवात हो, गद्दारीको अन्त्य। आखिर कहिले सम्म यी तपाईंहरुको बकबास?

अर्कोतिर तपाई महोदयहरुको शासन सत्ता बचाई दिनको लागि हामी युवाहरुलाई भर्यांग बनाउने र जल्दा बल्दा गुन्डाहरुलाई वरिपरी पाली दादागिरी मच्चाउँदै जाने हो भने अब आउने भाई-बैनीहरुको पिँढीलाई हामी युवाहरुले पढ्नु पर्छ शिक्षा नै समाज परिवर्तन र समृद्द राष्ट्र निर्माणको मूल आधार हो भनेर कसरी कन्भिन्स गर्ने ? उनीहरुलाई डन डलर डन्डाको दादागिरीबाट बचाएर शिक्षाको बाटोमा कसरी फर्काउने ? हैट! यस्तो दर्दनाक र सर्वनाक कुराहरुको प्रश्न कहिले हजुरहरुको मानसपटलमा आएको छ ?

हो हाम्रो देश स्वावलम्वी हुन सकेन तर हामी त स्वावलम्वी छौं नि, रास्ट्रवादी पनि छौं तर आयातित कैंयन वादहरुका पालक र पक्षपोषकहरुले संसारमा हामी नेपालीहरुको वास्तविक आैकातलाई दिनानु दिन अपहेलित बनाई बदनामी गराई रहेका छन् । यसको गतिलो उदाहरण नेपालको मुद्रा स्फिति हो । हाल नेपाली मुद्रा भारतीय मुद्रा भन्दा धेरै बलियो छ तर भारतीय अर्थतन्त्रले नेपाली अर्थतन्त्रलाई औपनिबेष बनाएकोले एक रुपैयाँको एक रुपैया साठी पैसा तिर्नु पर्ने र भारुको नेपाली बजारमा विना कठिनाई खरिद बिक्री हुनु हो । यो एक सानो अपहेलना हो म भन्दिन । कुनै देशको आन्तरिक प्रान्तहरुमा त आवत् जावत गर्दा भिसा लिनुपर्ने अवस्था रहेको छ भने हाम्रो देशमा खुल्ला नाका र अव्यवस्थित सिमा सम्बन्ध छ, के यो मामला सस्तो छ ? नेपाली युवाहरुलाई अरुको देशको भूमी रक्षाको लागि बिक्री गरिंदै आएको छ, मेनपावरको नाममा संसार भरी मानव तस्करी गरिरहेको छ, सामान्य भन्दा सामान्य कुराहरुमा ब्यपार घुसाएर सम्पूर्ण प्रणाली नै बेकामे र नालायक बनाईएको छ, यो अवस्था कसरी सृजना भयो र समधान के कसरी कहिले गर्ने हो ? महात्मा महोदय नेताहरु हो जनता बृहत् नेपाल चाहन्छन् तपाईहरु सीमा किल्ला र अनेकौ सन्धिहरुको नाममा राज्य बिक्री गर्दै हुनुहुन्छ । के यो सबै षड्यन्त्र मुलक कार्यहरु कतै नेपाललाई सिक्किमीकरण गरि समग्र भारतको राष्ट्रपति र प्रधान- मन्त्री बन्ने सपना देखिरहनु भएको त छैन ? छैन भन्ने कुनै विश्वासनीय आधार कहाँ छ ? अवश्य छैन। तपाईँहरु जिम्वेवारी र जवाफदेहीतामा विलम्ब किन गरिरहनु भएको छ ? लोक कल्याणको काममा सेवारत रहन सिक्नुहोस, बकवासको कु-राजनीति बन्द गरी राष्ट्रीय मेलमिलाप, एकता र भाइचाराको सह-अस्तित्व कायम गर्न सिक्नुहोस । सवै प्रभु पालक महोदय महात्मालाई चेतना भया।

जय नेपाल 

डा.छवि पन्थी 

देशका लागि युवा नेतृत्व"अभियानका लागि चिनको बेईजिंगबाट