-अमेरिकामा नेपाली मूलका बैज्ञानिक डा झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित

अमेरिकामा नेपाली मूलका बैज्ञानिक डा झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित

Hollywood Khabar November 13,2019 Comments

विजय थापा,डिसी । नेपाल जनकपुर धनुषा देवदिहा घर भै हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता बैज्ञानिक डा सतिश चन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् ।

उनि इन्टेल सँस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन (सँस्था) ले सम्मान गरेको हो। उनलाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिईओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेका हुन् ।

यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान / आविष्कारहरूले नयाँ र उदाउदो प्रविधिहरूको विकासमा ठूलो प्रभाव पार्दछ । डा झा वायरलेस संचार संजाल (बेतार नेटवर्क)र टेक्नोलोजी(प्रविधि)को क्षेत्र भित्र विश्व स्तरका अन्वेषक र समस्या समाधानकर्ता हुन्।

यी क्षेत्रहरू बीच-पहिले कहिल्यै समाधान नभएका समस्याहरू समाधान गर्ने उनको विशिष्ट र अतुलनीय दृष्टिकोण महत्वपूर्ण छ , जुन ११० भन्दा बढी आविष्कारहरू अमेरिकाको प्याटेन्ट(एकस्व अधिकार)को रूपमा दायर/स्वीकृत भएका छन् । उनको असाधारण अनुसन्धानको परिणामस्वरूप नवीन र अग्रणी प्रविधिहरू छन् जुन वायरलेस (बेतार ) अंतर्जाल (इन्टर्नेट )प्रयोगकर्ताहरूको वर्तमान अनुभव र वायरलेस नेटवर्क(बेतार संजाल )को भावी पीढीमा प्रयोगकर्ताको अनुभवमा उल्लेखनीय बृद्धिको लागि उपयोग गर्न सकिन्छ ।

सन् २००४ मा डा झाले त्रिभुवन बिश्व बिद्यालयबाट बिई (अभियन्त्रणामा स्नातक) गरेका हुन् भने उनले सन् २००७ मा एआइटी थाईल्याण्डबाट अभियन्त्रणा (ईञ्जिनियरिङ्ग) मा स्नातकोत्तर गरेका हुन् ।

सन् २००७ मा फ्रान्सबाट संचार अंतर्जाल तथा सेवामा एमएससी (बिज्ञानमा स्नातकोत्तर)गरेका छन् । यसको साथै सन् २०१३मा क्यानडाको ब्रिटिश कोलम्बिया बिश्व बिद्यालयबाट ईसिईमा विधावारिधि (पिएचडी) गरेका छन् ।

हाल उनि वरिष्ठ अनुसन्धान बैज्ञानिकको रुपमा अमेरिकाको बिश्व प्रसिद्ध इन्टेल कर्पोरेसनको इन्टेल ल्याबमा कार्यरत छन्। उनि ५ जि/६जि सेलुलर मोबाइल (भ्रमण ध्वनि) को अनुसन्धान लगायत अन्य महत्वपूर्ण अनुसन्धानमा संलग्न छन् । उनले यसको अतिरिक्त फ्रेन्च क्षेत्रीय कर्पोरेसन फेलोशिप २००७, थाइल्यान्डमा दि आओयागी पुरस्कार द्वारा सबै भन्दा उत्कृष्ट शैक्षिक प्रदर्शन पुरस्कार बाट सम्मानित भएका छन् ।

सन् २००५ मा थाईल्याण्डका राजा द्वारा राखिएको एसियाको लागि शैक्षिक छात्रवृति प्राप्त गर्नुको साथै सन् २००७ मा नेपालका राष्ट्रपति द्वारा नेपाल बिद्याभुषण प्राप्त गरेका छन् ।

अमेरिकामा स्थापित मधेशी एसोसिएसन इन अमेरिका (एमएए -maa) ले छापा बिज्ञप्ति जारी गर्दै सम्मानित हुनु हुने बैज्ञानिक डा सतिश चन्द्र झा लाई बधाई दिएको छ ।