आउनुहोस ! मेडिकल शिक्षामा रहेका विभेदहरु हटाउन बहश गरौं : डा छवि पन्थी

Hollywood Khabar December 24,2017 Comments

नेपाल सरकारले हरेक बर्ष अरबौं रुपैंयाँ खर्च गरेर चिकित्सा बिज्ञान पढाउँनको लागि छात्रवृति बाँड्ने गर्छ । जस अन्तर्गत एमबीबिएस पनि एक क्षेत्र हो ।
नेपालमा निजी लगानी गरेर एमबीबिएस पढ्न करीब ६० लाख नेपाली रुपैयाँ लाग्छ भने बिदेशमा त्यत्तिकै पैसा खर्च गरेर पढ्नेहरुको संख्या पनि कम छैन । सरकारले खर्च गरेर पढाउने बिध्यार्थीहरुलाई छात्रवृतिमा पढेका बिध्यार्थी भनिन्छ र त्यस्ता बिध्यार्थीहरुबाट सरकारले राष्ट्र सेवाको लागि आवश्यक अपेक्षा राख्छ । बिगतको चलन अनुसार यसरी सरकारबाट राहत पाएर पढ्ने बिध्यार्थीहरुले सुगममा २ बर्ष र दुर्गममा १ बर्ष अनिवार्य सेवा गर्नु पर्ने हुन्छ । नयाँ आउँदै गरेको कानुनमा यो कुरा अनिवार्य ५ बर्ष हुनुपर्ने ब्यबस्था हुनेछ भनेर गाईंगुई हल्ला सुन्नमा आएको छ र बिरोधका स्वरहरु गुन्जिन थालेका छन् ।
आउनुहोस अब एक छिन गणित गरौं । एकजना बिध्यार्थीलाई नेपाल सरकारले एमबीबिएस पढ्न करीब ६० लाख लगानी गर्छ । यो भनेको पढ्दै खेरी हरेक महिना १ लाख अर्थात ५ बर्षको ६० लाख रकम नियमित चलान गर्नु हो। यो सँगै अन्य मासिक पैसो बाँड्ने गरेको पनि पाईन्छ । यसरी हाम्रो देशमा एक जना डाक्टर उत्पादन गर्न पाँच/ छ बर्ष लाग्छ र अरबौं रुपैयाँ खर्च हुन्छ । बिदेश पढ्ने बिध्यार्थीहरुको पनि त्यति नै खर्च हुन्छ । फरक त्यति हो कि बैदेशिक शिक्षाको नाउँमा हरेक बर्ष अरबौं नेपाली पैसा बाहिर जान्छ जसले देशको अर्थतन्त्रमा नकरात्मक असर पुर्याउँछ ।
जनसंख्या अनुसार हाम्रो देशमा अझै पनि डाक्टरको संख्या अति न्युन छ तर जनशक्ति उत्पादनको नाममा भने लगानी अत्याधिक छ । हाम्रो देशमा रहेको डाक्टरको आबश्यकतालाई बिदेशबाट परिपूर्ति गर्ने हो भने पनि हाम्रो लगानी भईरहेको पैसा बँच्छ । तर कसरी ?
करिब ६० लाख लगानी गरेर उत्पादन गरिएको डाक्टरलाई दुर्गममा १ बर्ष र सुगममा २ बर्ष काममा लगाउँदा सरकारले पाउने प्रतिफल भनेको त्यही पुग नपुग क्रमश १२ र २४ महिना हो । यसरी हेर्दा हरेक डाक्टरलाई हरेक महिना करीब ३ देखी ५ लाख  उत्पादन देखी नै वेतनको रुपमा लगानी गर्नु पर्यो । यति गर्दा पनि डाक्टरहरु दुर्गम जान नखोज्नुको पिडा के सरकारलाई नहोला र ? त्यती मात्र कहाँ हो र ? यसरी जाने डाक्टरहरु सिधै तोकिएको ठाउँमा विना कुनै लोकसेवा विना कुनै गुणस्तरीय जाँच काम गर्न पाउँछन् र हरेक महिना दुर्गम भत्ता सहित मासिक ५० हजार भन्दा बढी नै रकम कमाउने गर्दछन् । यिनीहरुले कहाँ, कसरी, कहिले र कति समय काम गर्छन् भन्ने कुराको लेखाजोखा न सरकारलाई छ न अन्य कुनै निकायलाई नै ! बस हाजीर लगायो, कुम्लो बोकायो, भत्ता पड्कायो अनि स्कलरसिपको बन्ड तोडायो ।
अर्को तिर निजी लगानीमा पढ्ने बिध्यार्थीलाई माथि उल्लेखित सरकारी नियमको लगाममा बस्नु पर्दैन तर ३० देखी ४० हजार वेतनको लागि हातमा आफ्नो शैक्षिक प्रमाणपत्र बोक्दै निजी क्षेत्र र अन्य प्रतिष्ठानहरुमा भिक्षा मागे जसरी जागीर माग्दै भौंतारिनु पर्छ । सरकारी सेवा गर्ने चाह भनेको लोक सेवा विना त करार मात्रै हो त्यो पनि ज्ञानको आधारमा नभएर धनको आधारमा नै हुने गरेको छ । उनीहरुले आफ्नो अध्ययन खर्च बराबरको कमाई गर्न आफ्नो जिन्दगीभर नै काम गर्नु पर्ने हुन्छ अन्य कुनै विकल्प छैन ।
यसरी हाम्रो देशमा आबश्यक पर्ने डाक्टरहरुलाई ग्लोबल टेन्डर गरेर अमेरिका, अस्ट्रेलिया, युके र अन्य देशहरुमा जस्तै बिदेशबाट भर्ती गराउने हो भने पनि अहिले लागि रहेको लागत भन्दा झन्डै ५० प्रतिशत कम लगानीमा देशको कुनाकुनामा २४ सै घन्टा डाक्टर उपलब्ध गराउन सकिन्छ । कुनै पनि बिदेशी एमविबिएस डाक्टरलाई १५०० देखी २००० अमेरिकन डलरमा अहेलेको सेवा र सुविधानुसार काममा लगाउन सकिन्छ जसले गर्दा बचेको पैसा अन्य विकास निर्माणको काममा लगाउन सकिन्छ । बिदेशमा यस्तो प्रचलन धेरै अगाडि देखी सुरु भएको हो । जसको कारण नेपाली डाक्टरहरु पनि बिदेशमा काम गर्दै आएका छन् ।
यसरी यो गणितीय हिसाब किताब पढ्दै गर्दा कता कता तपाईँ पाठकलाई यो तितो अबश्य लाग्ला । यो पंक्तिकार यी कुराहरु लेख्न रहरले होईन कहरले, बाध्यताले, बिबशताले लेखिरहेको छ । लाखौं लाख लगानी गरेर पढाएका डाक्टरहरु म जस्तो जान्ने सुन्ने भगवान जस्तो कोही छैन भन्दै नानाथरीका प्रोपोगान्डामा सहभागी हुने, शैक्षिक संस्थाहरुमा तालाबन्दी गर्ने, सडकमा सेता कोट र स्टेथेस्कोप भिरेर समग्र नेपालको स्वास्थ्य सेवा माथि मजाक उडाउने, आफु चाहिं भगवान र अन्य चाहिं दलाल अनि माफिया भन्दै डुक्रिने, कुनै मुखौटे दलाल र सनकीहरुको पछाडी लागेर समग्र स्वास्थ्य संस्थाहरु बन्द गर्दै आतंक मच्चाएर विरामी मार्ने र मिडिया मार्फत बिश्वमा देशलाई नै बदनाम गराउने कार्य गर्ने र गराउने, आफ्नो पेशागत नैतिकता बिर्सिएर आफ्नो काम नगर्ने, पेशागत धर्म निर्वाह नगर्ने नगराउने, विरामी र उसको उपचारको लागि टिमवर्क भित्र पैरवी नगरेर आफु नै जान्ने सुन्ने छु, मुर्धन्य छु भनी खेलवाड गर्ने कारणले लेखेको हो । स्मरण गराउन चाहें, यो मैले सिंगो स्वास्थ्य पेशा र यो सँग आवद्ध पेशाकर्मीहरुलाई एउटै फोहोरको थुप्रोमा राखेर एउटै दर्जा दिएको होईन, अधिकाँश मध्येका अधिकाँश अति प्रिय, अति आदरणीय र विनीत हुनुहुन्छ, उहाँहरुलाई शब्दको बर्णन पनि अपुरो हुन्छ । तर धेरै जसोहरुमा त्यो छैन त्यसैले यो मेरो लेख बिकृती र बिसंगती सच्याउनको लागि सरोकारवालाहरुको आँखा खोलियोस भन्ने अभिप्राय पनि हो ।
अब एउटा प्याराग्राफ बिदेशमा पढेर आउने बिध्यार्थीहरुका कुरा गरौं । कुनै पनि बिध्यार्थी रहरले मेडिकल शिक्षा पढ्न बिदेश जाँदैन । बिदेशमा पढ्न चौतर्फी रुपमा अति गार्हो हुन्छ। पैसा, भाषा र बाताबरण लगायत यस्ता सयौं कारणहरु छन् जुन कुराले बिदेशमा मेडिकल शिक्षा गार्हो हुने हुन्छ । संसारभर कहिँ कतै नभएको नियमहरु नेपालमा छन् । बल्ल बल्ल कनिकुथी दुख गरेर बिदेशमा त पढ्छ तर नेपाल फर्किएर ईन्ट्रनसीप गर्न पाउँदैन, नेपालको ब्यबस्था र अध्ययन प्रणाली सँग घुलमिल हुन नपाए पछि काउन्सिलले लिने गरेको परिक्षामा राम्रो नतीजा दिन सक्दैन, फलत घरबारी बेचेर, बाबु आमाको पसिना बेचेर आफ्नो सुनौलो भविष्य देखेर बिदेशीने बिध्यार्थीका पिडा आफ्नै किसिमका हुने गरेका छन् ।
नत यी पिडाहरु कुनै निकायले सुन्न चाहन्छ नत राज्यलाई नै चाँसो र चिन्ता छ । देश फर्किए पछि पनि कतिपय साथीहरु मनोरोगी भएका उदाहरणहरु हाम्रै आँखा वरीपरि छरपस्टै छन् । त्यो पश्चात ती परिवारहरुको अबस्था के होला? कसैलाई प्रबाह छैन । ठाउँ अभाव र गुणस्तरको नाममा ईन्ट्रनसीप गर्न नदिएर काउन्सिलले गरेको अन्याय विरुद्ध अदालतले दिएको न्यायले त काम गरेन भने अब यो पेशा भित्रका मसीहाहरुले गाउँ गाउँमा डाक्टर पठाउँछन् ? गणतान्त्रिक देश, कानुनको राज चल्ने देश, कानुनको लागि हजारौंलाई बली चढाएको देश नेपाल र त्यो भित्र अन्यायमा परेका यी बिदेश पढेर भित्रिने डाक्टरहरु ! गुणस्तरहीन नै भए पनि राज्यले यो जनशक्तिलाई गुणस्तरीय बनाउनु पर्छ कि नाई ? आफ्नो देश आफ्नो परिवेश र भाषामा सिक्न पाउने अबसरबाट किन बन्चित गराउने, यो आधारभूत मानव अधिकारको हनन होईन ?
नेपालको लागि स्वास्थ्य पेशा नित्तान्त नयाँ पेशा भने पक्कै होईन । यस पेशामा धेरै अग्रजहरुको त्याग छ, नैतिकता छ, योगदान छ । देशको स्वास्थ्य अबस्थाले पनि बिस्तारै फड्को मार्दै छ । यसमा डाक्टरहरुको मात्र हात छैन, डाक्टरहरु भन्दा बढी खटिने र घोंटिने नर्सहरु र अन्य पारामेडिक्सहरुको झनै ठूलो हात छ । तर बिडम्वना डाक्टरहरु त पिडित छन् नै यो भन्दा अझ पिडा ती नर्स र पारामेडिक्सहरुको छ । जसको लागि एउटा खुलाबहसको जरुरी टड्कारो छ । नाँग्गो आँखाले नेपालमा समग्र पेशा भित्र कृतिम रुपले सृजना गरिएको विभेद, अन्याय र अत्याचार छरपस्टै देखिन्छन् तर माईक्रोस्कोपले हेर्दा पनि नभेटिएको नाटक गर्ने पेशा भित्रका धमिराहरुले पेशालाई सफा र मर्यादित हुन दिएका छैनन् । आउनुस सबै मिलेर काम गरौं एउटा बहशको सुरुवात गरौं । कसैको लागि कसैको आग्रहमा होईन हाम्रो लागि हामीले नै मिलेर काम गरौं ।
यसरी सरकारी स्कलरसिपमा पढेकोहरुले सरकारले चाहे बमोजिम काम गर्नु पर्छ नत्र किन सरकारी कोटामा चिप्किएर पढ्न जानु ? जबर्जस्ती कसैले स्कलरसिपमा पढ भनेको त पक्कै छैन होला ? सरकारले करीव ६० लाख तिरेर पढाएको त कामको लागि होला नि ? जनताको सेवामा खटाउनको लागि होला नि ? नत्र लाग्ने खर्च सरकारलाई वापस गरेर आफु खुशी गरे भयो नि त । सरकारले उनीहरुलाई जस्तै पोस्ट ग्राजुऐसनको ग्यारेन्टी, सेवा र सुबिधा सहित त्यो करीब ६० लाख दिन्छ भने हामी प्राईवेट पढेकाहरु तोकिएको ठाउँमा गएर ५ बर्ष जनताको सेवा गर्न तयार छौं । होईन भने डाक्टरको पेशा सबैको एउटै हो, कुनै डाक्टरले एउटा काम त कुनै डाक्टरले अर्को काम गर्ने भन्ने हुँदैन । विरामीको स्याहार, सुसार, हेरचाह र उपचार गर्ने एउटै काम हो । त्यसैले कसैलाई काखा र कसैलाई पाखा नगरौं, विभेदको अन्त्य गर्न तुरुन्त पहल कदमी चालौं । अन्यथा यो पेशाका बाईप्रोडक्टहरु बढो घातक रुपमा प्रस्तुत हुने निश्चित छ ।
लेखक:  हेल्थ एजुकेशन एक्सपर्टको साथै बिदेशमा भर्खरै एमबीबिएस अध्ययन पुरा गरेका एमबीबिएस डाक्टर हुनुहुन्छ।