राजधानीका क्लब तथा डिस्कोहरु फस्टाउँदै छ

Hollywood Khabar September 07,2017 Comments

सुकदेव चापागाईं/काठमाडौं
राजधानीको दरबारमार्ग र ठमेल क्षेत्रमा यतिखेर रात्रीकालीन व्यवसाय फस्टाउँदै गईरहेको छ। विशेषगरी क्लब, लाउन्ज, गजल, डिस्को, दोहोरी साँझ तथा रेष्टुरेन्टहरु खुल्ने क्रम बढ्न थालेको छ । क्लब, लाउन्ज तथा गजल रेष्टुरेन्टहरुमा लगानी गर्ने क्रम बढ्न थालेको हो ।
पुरानो भएका क्लब, लाउन्जहरुको मर्मत सम्भार गरी नयाँ ढाँचाको बनाईनुका साथै लगानी गरी नयाँ तरिकाले सञ्चालन गर्ने क्रम पनि बढ्दो छ । डेजाबु, काउजी, सर्कल, ईबिज्जा, ओएमजी, पर्पल हेज, कर्मा, शिशा बार लगायतका क्लब तथा लाउन्जहरु नयाँ संरचना सहित खुलेका छन् ।
यस्ता क्लबहरुमा पछिल्लो समय विदेशी पर्यटकहरु समेत आकर्षित हुन थालेका छन् । ठमेलको ओएमजी डिस्को र पर्पल हेज बढी पर्यटकहरु जाने थलो नै बनेको छ । ओएमजी डिस्कोमा करिब तीन सय जनाको क्षमता रहेको पाईन्छ भने पर्पल हेजमा समेत सयौंको संख्यामा पर्यटकहरु जाने गर्दछन् । ओएमजी क्लबमा कर्माबहादुर गुरुङ, आकाश गुरुङ र सर्यास देउजा गरी तीन जनाको लगानी रहेको छ । विशेष गरी ओएमजीमा शुक्रबार विदेशी पर्यटकहरुको बढी घुईचो लाग्ने गरेको सञ्चालक सर्यास देउजाले बताए । ३५ जनाले रोजगारी पाएको यो क्लब राति नौ – दश बजेदेखि २ बजेसम्म सञ्चालनमा आउने गर्दछ ।
राजधानीको ठमेल क्षेत्र रात्रीकालीन मनोरञ्जनका लागि विशेष क्षेत्र मानिन्छ। सरकारका गृहमन्त्रीले ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुला राख्ने उद्घोष गरेपनि अझैसम्म यो कुरा लागु हुन सकेको छैन । सरकारको गृहमन्त्रीले एउटा कुरा भनेपनि प्रहरी प्रशासनका हाकिमले त्यो कुरा लागु नगरेको ओएमजी क्लबका सञ्चालक देउजाले बताए ।
लाईभ म्युजिक सहितको क्लब तथा लाउन्ज रेष्टुरेन्टहरुमा नेपाली र विदेशी पर्यटकहरुको ओईरो लाग्न थालेपछि लगानी गर्नेहरु यसतर्फ आकर्षित देखिएका छन्। डेजाबु क्लब, सर्कल लाउन्ज, कौजी लाउन्ज, शिशा बार यसको पछिल्लो उदाहरण हो । करोडौं रुपैंया लगानी गरेर यस्ता क्लबहरु खुल्न थालेको व्यवसायीहरु बताउँछन् । क्लब डेजाबु सञ्चालन गर्न दश जना सञ्चालकहरुले करिब दश करोड लगानी गरेको बताईन्छ । त्यस्तै करिब एक करोड लगानीमा दुई जना युवा व्यवसायीले सञ्चालनमा ल्याएको सर्कल लाउन्ज तथा गजल रेष्टुरेन्ट समेत खुलेको धेरै भाको छैन । यसअघि खुलेका भिक्ट्री लाउन्ज, क्लासिक बर्बन र त्रिसरा रेष्टुरेन्टमा समेत भीड भाड बाक्लो नै हुने गरेको छ ।
रातको दुई तीन बजेसम्म यस्ता क्लब तथा लाउन्ज रेष्टुरेन्टहरु सञ्चालन हुने गरेका छन् । रातको समयमा सञ्चालन हुने यस्ता क्लब तथा लाउन्ज बारका कारण करिब पचास हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगार पाएको व्यवसायीहरुको भनाई छ।
पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले बताए । गुरुङ भन्छन्, “रात्रीकालीन व्यवसाय (नाईट लाईफ बिजनेश) मा लगानी बढ्नु राम्रो कुरा हो तर लगानी भए अनुसार राज्यले लगानीको सुरक्षा दिन सकेको छैन । हाम्रो माग नै सरकारले लगानी र व्यवसायको सुरक्षा गर्नुप-यो भन्ने हो।”