काँग्रेसको सलेदो हुन् गगन थापा, उनको साथ पाउन्जेल कांग्रेस निभ्दैन

Hollywood Khabar December 12,2017 Comments

दिक्षा बस्नेत “खप्तडी”/अमेरिका
नेपाली राजनीतिको इतिहासमा नेपाली कांग्रेसको मिटर यो पटक नराम्रोसंग तल झर्यो। यसो हुनमा को र किन जिम्मेवार भनेर अनेक थरिका कुरा, बिचार, लेख, सोच आएका छन्। सामाजिक संजाल त भरिभराउ नै छन, गालि, वाद अनि पतिवादले। पार्टी अलि तल झर्थ्यो बिचार पुगेको भए यति सम्म भने पटक्कै जाने थिएन। यसै प्रसङ्गमा सबैको बिचार बटुल्दा मैले पाएको कुरा भनेको पार्टी सभापति शेर बहादुर देउवा र वरिपरिका किचेन क्याबिनेट नै हुन्। पार्टी हारोस तर फलाना-ढिस्काना नजितुन भन्ने मनसाय नै हो यो नतिजा।
यहि प्रसङ्गलाइ नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभामा पुननिर्वाचित गगन कुमार थापाले आफ्नो जितसंगै पार्टीको हारलाई स्वीकारेका छन्। त्यो पनि अरुलाई दोष नदिएर आफ्नै पार्टीको कमजोरी केलाएर उनले स्पस्ट रुपमा जनता समक्ष भनिदिएका छन्। एउटा आदर्श नेताको कर्तब्य निभाएका छन्। अनि नेतृत्वलाइ चुनौती पनि दिएका छन्। “कि त सुधार होइन भने बाटो छोड।”
मंशिर २५ गते युबानेता गगन थापाले  देउबालाई पार्टी सभापतिबाट बिश्राम लिन आग्रह गरेका हुन। यसबाट भोलि नेपाली कांग्रेसले फेरी यो नियति भोग्नु नपरोस। आगामी चुनाबमा पुरा तयारी गरेर जान सकियोस। पार्टीलाई पहिलो नम्बरको बनाउन सकियोस यसमा थापाको कुनै स्वार्थ छैन। कतिपयलाई त्यो कुरा नपचेर थापालाई कारवाही गर पनि भनेको सुनियो। तर थापा जस्तो एउटा भावी प्रधानमन्त्रीको रुपमा हेरिएका व्यक्तिले देख्ने सपना त्यो नै हो उनले देखे र बोले। नेता देउवा र रामचन्द्र पौडेललाइ नेतृत्व लिएर हिडे फेरी पनि नेपाली कांग्रेस दगुर्न सक्दैन भन्ने गगनको स्पस्ट दृष्टिकोण रहेको छ। अरु नेताले यसमा कुनै दु:ख मान्नु पर्ने कारण केही पनि देखिन्न।
जितेका कांग्रेसका नेताले समेत कसरी हासेर हिड्ने र कसरी भोलि समृद्ध नेपालको कल्पना गर्ने भन्ने परिकल्पना नै थापाले दिएको पार्टिको मुख्य बाटो हो। त्यो सपना पुरा गर्न नेतृत्वमा नया चार्म आउनु पनि जरुरि छ। त्यो कुरा बोल्दा किन कारवाही खानु पर्ने। सहि कुरा बोलेकै कारण धनराज गुरुङलाइ पनि टिकेट नै दिइएन। फलस्वरुप एउटा जित्ने नेताको ठाउमा अर्का हार्ने नेता गए। नतिजामा एक सिट तल झर्यो काँग्रेस।
यसको साथामा आफ्नो पार्टीको हारलाई सहर्ष स्वीकार गर्दै थापाले भने जस्तै काँग्रेस पार्टीसंग कुनै एजेन्डा थिएन, गरेको एउटा पनि राम्रो काम थिएन अनि स्पस्ट रुपमा भन्नुपर्दा जनतासँग मत माग्ने ठोस कुरा नै थिएन। केवल नेपाली कांगेसले जितेमा यो काम गर्छौं बामगठनले जितेभने यसो-यसो गर्छन भन्नुको अलाबा अरु केहि थिएन। जुन कुरा २०४६ को जनआन्दोलन अगाडि मात्र सुहाउने खालको थियो। यो नै नेपाली कांग्रेसको कमजोर पक्ष थियो भन्ने कुरा हो थापाको।
मैले उहाँको यो भनाइप्रति अन्त्यन्तै श्रद्दा र देशभक्तिको अभिव्यक्ति पाएँ। यस्तो कुरा हरेक पार्टीका जितेको नेतामा हुनुपर्थ्यो।अब गगनले भने जस्तै नेपाली काँग्रेसले विशेष रुपमा ढोका खोल्नुपर्छ र नयाँ नेतृत्वलाइ मौका दिनुपर्छ।
यो पटक साञ्चै भन्नुपर्दा गगन थापाले स्वास्थ्यमन्त्री हुँदा गरेका केहि सफल कामका कारणले मात्र केही साख राख्न सफल भएको हो काँग्रेस। यो एउटा व्यक्तिको पुजा होइन एउटा विचारको समर्थन र प्रमोशन हो। गगनको राजनैतीक आस्था आफ्नो जीत भन्दा जनता र पार्टीको हितमा देखियो। उनको यो ढुकढुकिको दियो बलुन्जेल नेपाली कांग्रेस मर्नेछैन भन्ने संदेश नेपाली काँग्रेस र जनताले बुझ्नु आबश्यक देखिन्छ।