Prof. Dr Durga Dahal

डायस्पोरा नेपालीहरु र गैरआवासीय नेपालीहरुको संस्था एउटा विस्मय

Hollywood Khabar January 23,2019 Comments

प्रा डा दुर्गा दाहाल/अमेरिका

डायस्पोरा नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ अर्थात एनआरएनए किन र कस्का लागि भन्ने कुराको भूमिका र महत्व केलाउनु पर्ने बेला भएको छ। यसपूर्व डायस्पोरा र डायस्पोरा नेपालीका बारे बुझ्नु आवश्यक। ठान्दछु। डायस्पोरामा कसरी संगठित हुन्छ भन्ने तथ्यलाई बुझ्नु उपयुक्त हुन्छ।

डायस्पोराको जरो खोज्दै जाँदा यो शब्दको उत्पत्ति प्राचीन ग्रीक भाषाबाट भएको पाउँछौँ जस्को अर्थ “छरिनु” अथवा आफ्नो जन्मस्थलबाट विभिन्न कथा, व्यथा, पीडा र वेदना बोकेर विदेशिनु अथवा बाहिरिनु भन्ने अर्थ लाग्छ।

उतिखेर इज़रायलबाट बेबीलोनका राजाले यहुदी हरूलाई निर्वासित गरेको हुनाले उनीहरू प्रारम्भमा गएर बेबीलोनमा बस्नु परेको र पछि गएर विभिन्न देशमा छरिएर रहनु पर्ने बाध्यता र विवशता थियो ! यसरी विभिन्न देशमा बस्नु परेता पनि उनीहरूले विस्तारै क्रमश: आफ्नो भाषा र सँस्कृतिलाई जीवन्त राख्दै अस्तित्व जोगाए। अत: त्यतिखेर यसरी यहुदीहरू जहाँ गएर बसे, ती ठाउँ हरूलाई “डायस्पोरा” भनियो।

अहिले आएर विभिन्न कारण हरूले एउटा देशका मानिसहरू अर्को देशमा गएर बस्ने गर्छन। केवल बाध्यता, विवशता, व्यथा र पीडाले मात्रै नभएर मानिसहरू स्वेच्छाले पनि इच्छा, शिक्षा, व्यापार, वाणिज्य, धर्म, कला, कौशल अथवा अन्य विविध कारण हरूले आफ्नो देश छोडेर विदेशमा बस्ने गर्छन। तर स्वाभाविक रूपले हरेक व्यक्तिले आफ्नो माटोलाई, देशलाई, भाषा- साहित्य, सँस्कृति, वेश-भूषा, आफन्त र आफ्नोपनलाई संझिन्छ झन तीव्रतर रूपमा जब कोही विदेशमा हुन्छ। गहिरो र मधुर स्मृतिमा मिसिएको राष्ट्रप्रेम, देशभक्ति, मानवीय संवेग, संवेदना र अनुभुतिहरू उदात्त हुन्छन परदेशमा।

परदेशमा बसेका हरूलाई गहिरो पीडा हुन्छ; विदेशिनु परेको कारण जेसुकै र जस्तोसुकै भएतापनि। अत: उनीहरू संगठित हुन्छन विस्तारै विभिन्न बहानामा। यसरी एउटै देशबाट आएर पनि विभिन्न ठाउँ र देशमा छरिएर बसेका मानिसहरू एउटै छातामुनि समेटिनु, सु:ख-दु:ख बाँडनु र वृहत्तर राष्ट्रीय हित अनि स्वार्थका ख़ातिर ऐक्यवद्ध हुनु खुशी र गौरवको विषय हो।

यही आवश्यकतालाई मध्यनजर राखेर एनआरएनएका जन्मदाता, पृष्ठपोषक र अभियन्ता हरूले जुन महान उद्देश्यका निम्ति यो संगठनको स्थापना, विस्तार र विकाश गरे र अद्यपरिमित गर्दै आएका छन, अत्यन्त उदाहरणीय, अनुकरणीय र स्वागतयोग्य छ। तर यो एनआरएनए किन, कस्कालागि , के को लागि र कसरी गर्ने भन्ने सवाल हरूको जवाफ दिन नसक्नु अथवा लिन नखोज्नु चैँ आँफैमा दु:खको कुरा हो।

हुनत, विदेशमा पहिलो सवाल पापी पेटकै भएको हुनाले जो कोहीले व्यक्तिगत आय- आर्जन र स्थापित हुने कुरालाई नै पहिलो प्राथमिकतामै राख्छ र क्रमश सामाजिक र राष्ट्रीय रूपमा संगठित हुँदै जान्छ जुन स्वाभाविक पनि हो।

अमेरिका, यूरोप, अष्ट्रेलिया लगायत सबै महादेशहरुमा अहिले आएर एनआरएनए गठन भई सकेको छ। जुन अत्यन्त खुशीको विषय हो तर अपेक्षित मात्रामा यसको विकास र विस्तार हुन सकेको छैन। विशेष गरि यो अहिलेको नवजात पुस्तामा फस्टाउन सकेन किनभने यसको महत्व, उपयोग र उपादेयतालाई हामीले बुझाउन सकि रहेका छैनौँ र उनीहरूले पनि बुझ्न बिल्कुलै चाहेका छैनन।

फस्टाउन नसकेका कारणहरू:

१. एनआरएनए के हो ? सबै तह र तप्कालाई बुझाइएन

२. धनी र व्यापारीको मात्रै हो भन्ने भान भयो

३. धेरै वर्षसम्म पूँजीपति र धनाढ़्यहरूको कब्जामा मात्रै रह्यो

४. लक्ष्य र उद्देश्यहरू स्पस्ट भएनन

५. सर्वसाधारणसम्म तल्लो तहमा आउन सकेन

६. अर्थ, वाणिज्य र व्यापारलाई मात्रै जोडेर हेरियो

७. आर्थिक कारोवार पारदर्शी भएन

८. नेतृत्व जनमुखी भएन

९. भ्रष्टाचार, व्यभिचार र दुराचार भयो आदि- इत्यादि के गर्नु पर्छ त सुधार्न ?

-यो संगठन सबैको, सबैका लागि र सबैद्वारा संचालित नेपालीहरूको साझा संगठन हो भन्ने कुरा जनमानसलाई बुझाउन सक्नु पर्यो

-धनी- पूँजीपति, ठूला- बड़ा र शिक्षित समुदायको मात्रै नभएर ग़रीब र उपेक्षित हरूको झन बढी हो भन्ने कुरा भाषण र बोलीमा मात्रै नभएर बोली- वचन, बानी- व्यवहार र कार्यले पनि देखाउनु पर्यो

-केन्द्रीकृत नभएर स्थानीय तहमा समेत यो संगठनको उपस्थिति, कार्यविधि र कार्यक्रमबाट जनसाधारण लाभान्वित हुनु पर्यो

-नेपालबाट आउने नवागन्तुक हरूलाई सूचना र संचारको माध्यमबाट रोजी - रोटी, आवास, कपास र रोज़गार लगायत निम्नतम आवश्यकता हरूको परिपूर्ति गर्ने दिशामा यो संगठनका पदाधिकारी हरूले केन्द्रीय र स्थानीय तहमा समेत सक्रिय हेल्पडेस्क हरूको स्थापना गरि आसन्न समस्या हरूको समाधानार्थ अग्रसरता, तत्परता र सकृयता देखाउनु पर्यो।

-विशेषगरि, अहिलेको युवा पुस्ताहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम राख्नु पर्यो

कुन क्षेत्रमा, के काम गर्नु पर्छ त यस संगठनले र कसरी ?

केवल हाईड्रोपावर र गुरू आयोजनाहरूको मात्रै कुरा नगरेर समग्रमा नेपालभित्र र बाहिर, घरदेश तथा परदेशमा बस्ने सबै नेपालीहरूको वृहत्तर स्वार्थका ख़ातिर लघु उद्योग र साना व्यापार हरूलाई समेत प्रवर्धन गर्नु पर्छ।

क्रमश: संगठनलाई मज़बूत बनाएर भीमकाय कार्यहरू, परियोजना हरू संचालन गर्नु अत्यन्त राम्रो कार्य हो तर जग बलियो र सबैको हुनु पर्छ। तर, शुरूवातका दिनहरूमा निम्नलिखित कार्यहरू गर्नु उचित देखिन्छ।

१. नेपालको राष्ट्रीय पहिचान र अस्तित्वका लागि सर्वप्रथम त नेपाली भाषा, साहित्य, संस्कृति र एेतिहासिक महत्वका विषय हरूलाई प्राथमिकतामा राखि त्यसको संरक्षण र संबर्धन गर्नु पर्छ विदेशमा।

२. नेपाली पाठशाला, मन्दिर, सामुदायिक भवन र केन्द्रहरूको स्थापना गरि नेपाली हरूलाई पर्दा र मर्दा अत्यावश्यकीय सहयोग पुर्याउनु पर्छ।

३. विदेशमा अर्जित धन- दौलत, सीप, दक्षता, शिक्षा, ज्ञान, अनुसंधान र अनुभवलाई स्वदेशतर्फ पनि स्थानान्तरण गर्नु पर्छ, कुरो सही हो तर विदेशमा पनि अब एउटा ठुलै नेपाल छ। अत: यहाँ भएका नेपालीहरूको निम्ति पनि स्थायी परियोजनाहरू संचालन गर्नु वाँछित देखिन्छ।

४. नेपालबाट सानैमा आएका अथवा विदेशमा जन्मिएका नवजात नेपाली शिशुहरूलाई उनीहरूको जरो नेपाल र नेपाली हो भन्ने कुरा राम्रोसंग बुझाउन र सिकाउन नेपाली शैक्षिक र साँस्कृतिक केन्द्रहरूको स्थापना गर्नु पर्छ।

५. एक पटकको नेपाली सँधैको नेपाली हो भन्ने कुरालाई सामाजिक, साँस्कृतिक र क़ानूनी तवरबाट स्वदेश र विदेशमा स्थापित गर्न सक्नु पर्छ।

६. समय, सीप, सरलता, सहजता, निष्ठाशीलता, इमान्दारिता, नेतृत्रवशीलता र शिक्षा भएका व्यक्तिले मात्रै यो संगठन हाँक्नु पर्छ; केवल रहर, सम्पत्ति र गुट मात्रै भएर हुन्न।

७. केवल भाग पुर्याउने र अवधिमात्रै पुरा गर्ने हेतुले कसैले पद ओगट्नु हुन्न। एनआरएनएले चमत्कारिक रूपले स्वदेश र विदेशमा काम गर्न सक्छ तर सही दिशा र कार्यतर्फ उन्मुख हुनु ज़रूरी छ। विद्र विदेशबाट निकै ठुलो मात्रामा नेपालीहरूको रेमिट्यान्स स्वदेश जान्छ। तर त्यो त नेपालमा केवल बास मात्रै बस्दो रहेछ। भोलीपल्टै छिमेकी देश भारत अथवा अन्य कुनै देशतर्फ पलायन हुँदो रहेछ। गाड़ी किन्ने, घर बनाउने सामान किन्ने अथवा अन्य विदेशी सामानहरू किन्ने निँहुमा। स्वदेशमा घरेलू उद्योग, कल- कारख़ाना र स्वदेशी उत्पादन नहुने भएकाले राष्ट्रीय पूँजीको निर्माण हुन नसक्नु ठूलो चिन्ताको विषय हो।

जब हामीले यो संगठनको आवश्यकता, अपरिहार्यता र औचित्यलाई पुष्टि गर्दै काम पनि गरेर देखाउँछौँ अनि सबै नेपालीहरूको तन- तनमा र मन-मनमा प्रवेश गर्न सक्छौँ, तबमात्रै यस्ले जनप्रियता हासिल गर्छ र नयाँ पुस्तालाई समेत आकर्षण गर्छ। अन्यथा, यो पनि केवल राजनीति गर्ने र पैसा कमाउने भाँडोको रूपमा मात्रै सीमित हुन्छ।