धराशायी हुदैछन सम्बन्धहरु !

0
shares

by दिपक कुमार बिष्ट (editor@gmail.com) | Updated: 18 Jul 2019

208 views
अधिवक्ता दिपक कुमार बिष्ट

हिजो आज सम्बन्ध बिच्छेद समाजमा सामान्य भएको छ, त्यहि सम्बन्ध बिच्छेद कुनै दिन अनौठो र हाउगुजी हुन्थ्यो । श्रीमान श्रीमती बिचमा रहेको नाता सम्बन्ध विच्छेद हुनु ठुलो कुरा हैन । नेपाली युवा दम्पतिमा सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । झन २०७५ भाद्रबाट देवानी संहिता लागु भएपछि सम्बन्ध बिच्छेदको क्रम कम्तिमा दोब्बरका दरले बढ्दै गएको पाईन्छ। सम्बन्ध बिच्छेदको क्रम बढ्दै जाँदा परम्परागत पारिवारिक मान्यताहरु धराशायी हुदै भत्किन थालेका छन् । संगै जिंउनेमर्ने, संगै हिड्ने कसम खाएकाहरु आधा बाटो नहिड्दै छुट्टिनु पक्कै राम्रो होइन । तर, सम्बन्ध बिच्छेद कसैको रहर भने पक्कै होइन भन्ने लाग्छ । हरेक सम्बन्ध राम्रो छउन्जेल आर्कषक हुन्छ । कांच जस्तै टलक्क टल्किने । तर, हरेक सम्बन्ध जोखिममा हुन्छ कांच जस्तै टुक्रा टुक्रा भइ छरपष्ट हुन्छ ।  विशेष गरी लामो समयदेखि विदेशमा बसोबास गरी आएका नेपाली नागरिकका श्रीमान्-श्रीमती विदेशी संस्कार र सामाजिक वातावरणमा घुलमिल हुन नसकेका कारण उत्पन्न द्वन्द्व र हिंसाका कारणले परिवार नै विखण्डन हुन थालेका समाचारहरुले पत्रपत्रिकाका पन्ना र वालहरु भरिने क्रम बढ्दो छ । त्यस्तै, नेपालबाट विवाह गरेर श्रीमान र श्रीमतिका रुपमा विदेश पुगेका युवा दम्पत्ति बीचका असीमित महत्वाकाङ्क्षाका कारण एकले अर्कालाई सम्मान र विश्वास गर्न नसक्दा कुटपिट र अन्य हिंसाले गर्दा सम्बन्ध विच्छेद जस्तो दुःखद् परिणाम निस्किने गरेको पाईन्छ। 

दुई वर्षदेखि अस्ट्रेलियामा अध्ययन गरिरहेका एकजना यूवाले  नेपाल आएर विवाह गरे। श्रीमती सहित अस्ट्रेलिया गएका उनको दाम्पत्य जीवन बर्षदिन सहज रुपमा अघि बढ्न सकेन । आधा रातसम्म चल्ने पार्टीमा रम्ने बानी परिसकेका ती यूवाको दाम्पत्य जीवनमा झगडा नपरेको दिनै हुँदैन थियो । आपसी विश्वासको अभावमा एकले अर्कालाई लगाएको खराब चरित्रको आरोप-प्रत्यारोप बेला-बेलामा हिंसामा परिणत हुने गर्दथ्यो । दुई बीचको सामान्य भनाभन कुटपिटमा बदलिएपछि  श्रीमती अहिले पुनःस्थापना केन्द्रमा छिन् भने श्रीमानलाई पुलिसले तारिखमा छोडेको छ । सम्बन्ध विच्छेद गर्न चाहने ती यूवती  र यूवकको घरेलु हिंसा अहिले फेमिली कोर्टमा पुगेको छ । 
      नेपालमा नै दुई दशक लामो वैवाहिक जीवन बिताइ सकेका राम (नाम परिवर्तन) र लीला (नाम परिवर्तन) को पनि अस्ट्रेलिया पुगेपछि श्रीमान श्रीमती बिचको सम्बन्ध चिसिन पुग्यो । एक अर्काको साथ चाहिने प्रौढ उमेरमा राम र लीलाको झगडाले सम्बन्ध विच्छेदको निष्कर्षमा पुग्न बाध्य बनायो । उनीहरु बीचको सम्बन्ध धमिलो बनाउने एउटै कारण भने त्यहाँको आधुनिक सामाजिक परिवेश थियो । अस्ट्रेलिया पुगेपछि नेपालको भन्दा फरक परिवेशमा साथीभाइसँग घुम्न र जमघटमा रमाउन चाहने लीला र पुरानै परम्परामा बस्न चाहने रामबीच समझदारी बन्न नसक्दा कहालीलाग्दो हिंसाका घटनाहरु घट्न पुगे । अहिले यी दुवै एक-अर्कासँग अलगिएका छन् तर मुद्दाको फैसला भने हुन बाँकी नै छ । अमेरिकाको लसएन्जलसमा बसेर अध्ययन गर्दै गरेकी निशा ढकाल (नाम परिवर्तन) र त्यही बसेर काम गरिरहेका राज लामा (नाम परिवर्तन) बीचको सम्बन्ध सुमधुर रुपमा लामो समय चल्न सकेन । नेपालमा बुवा-आमालाई थाहा नै नदिई विवाह गरेको यो जोडीबीच खटपट नेपाल हुदादेखि नै सुरु भएको थियो । कागजी रुपमा निशा र राज दम्पत्ति भए पनि दुवै जना छुट्टाछुट्टै रुपमा आ-आफ्नो प्रेमी-प्रेमिकासँग बस्दै आएका छन् । अस्ट्रेलिया आउनका लागि मात्र गरेको कागजी विवाह गरेका उनीहरु दुवैलाई यो कागजी विवाह टोक्नु न बोक्नु भएको छ । हरेक दिन एकले अर्कालाई गाली गर्ने, फोनमा झगडा गर्ने दुवै जनाको दैनिकी जस्तै बन्न पुगेको देखिन्छ । 

उल्लिखित घटना प्रतिनिधी घटनाहरु मात्र हुन्।विदेशमा बस्ने नेपाली समुदायमा यो समस्या चुलिदै गईरहेको कुरा व्यापक रुपमा देख्न सकिन्छ।यसै कारण मानिसको जीवन बर्बाद हुने र पारिवारिक सम्बन्ध नै बिग्रिएका उदाहरण हिजो आज प्रशस्त भेटिन थालेका छन् तर पनि यस प्रकारका घटनाहरुका सम्बन्धमा खुलेर न कसैले भन्छन् न कतै नालेस उजुर गर्छन । जनचेतनाको कमि र कानुनी ज्ञानको अभाव तथा आफ्नो भविष्य  अन्धकार तर्फ धकेलिने चिन्ताले गर्दा पनि यस्ता समस्या घरभित्रै गुम्सिएर रहने गरेका छन् । पुरुष प्रधान नेपाली समाजका संस्कारमा हुर्किएर विदेशिन पुगेका नेपाली यूवाहरु आफ्नी जीवनसंगिनी र सन्तानलाई सधैं आफ्नो नियन्त्रणमै राख्न चाहन्छन् । उनीहरु त्यहाँको नियम-कानुन र प्रणाली, सामाजिक बनोटको  नजर अन्दाज गर्न नसक्दा र महिला पनि नेपाली सामाजिक तथा सांस्कृतिक मर्यादालाई नाघेर बाहिर जाँदा यस्ता घरेलु तथा परिवारिक हिंसाका घटनाहरु जन्मने अवसर मिलेको देखिन्छ । 
     यस्ता समस्या नेपालीको समेत घरपरिवारमा भएपनि खुलेर बाहिर आउन नसकेको, अनौपचारिक कार्यक्रम वा जमघटमा आफ्नो पीडा अरु सहकर्मी तथा साथीसँग खुलस्त व्यक्त गरेपनि आफ्नो बेइज्जती र श्रीमान् छाडेपछि जिन्दगी झन् विचल्ली होला कि भन्ने डरले गर्दा औपचारिक उजुरी भने बाहिर आउने गरेका देखिदैननर । अज्ञानताका कारण धेरै महिला आफू घरेलु हिंसाको शिकार भएको महसुस नै नगर्ने र “अधिकांश महिला छोराछोरीको भविष्य सोचेरै आफ्ना पीडा मनमा गुम्स्याएर राख्ने गरेको र लिगल एड पाइने भए पनि रोइकराई घरैमा यातना सहेर बस्ने बरु तर आफ्ना पीडा कसैलाई नपोख्ने एक अध्ययनले देखाएको छ । यो समस्या श्रीमान्-श्रीमतीबीच मात्र होइन, संयुक्त परिवारमा पनि भटिएको पनि भेटिएको छ । त्यसैले अब यस तर्फ पनि सोच्न जरुरी भइ सकेको छ ।