साङ्केतिक तस्बिर

धरानमा डेंगु नियन्त्रणबाहिर:डेंगु विराटनगर र दमकमा पनि

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ काठमाडौं ।सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रण बाहिर गएको छ । सुनसरीकै इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसम्म डेंगु फैलिएको पुष्टि भएको छ ।सुनसरीमा ४१५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो ३ दिनमा झापामा ८ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ ।पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

हरेक घरमा पानी टनाटन छ ।जम्मा भएको पानी नफाल्दासम्म त्यहाँका जनतालाई औषधि खुवाएर ठीक हुँदैन ।लामखुट्टेको जीवनचक्र दुई हप्ताको हुन्छ । दुई हप्ताको जीवनचक्र टुटाउन अहिले भइरहेको लार्भालाई मार्नुपर्छ ।घरका ट्यांकी तथा भाँडाकुँडा र घरवरिपरि भएको पानीमा लार्भा देखिएका छन् । त्यसका लागि जम्मा गरेको सफा पानी फाल्नुबाहेक अर्को कुनै विकल्प छैन,’ प्रदेश १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा निर्देशक भोगेन्द्र डोटेल भन्छन्, ‘सफा पानी घरमा खुला राख्नु खुला बम राख्नुजस्तै हो ।’ घरको पानी फाल्दा दैनिक उपभोगका लागि अर्को पानी व्यवस्था नहुने भएपछि स्थानीयले अस्वीकार गरेका छन् ।

सुनसरीमा दैनिक अस्पताल आउने बिरामीमध्ये २५–३० जनामा डेंगु देखिएको र संख्या बढ्ने क्रममा रहेकाले चुनौती थपिएको उनको भनाइ छ ।‘दैनिक डेंगुका ३० बिरामी देखिनु भनेको सरकारले प्रभावित क्षेत्रमा गरेको नियन्त्रण प्रयास सफल नहुनु हो,’ उनले भने ।धरानमा वेलैमा नियन्त्रण गर्न नसक्दा नै पूर्वीतराईमा संक्रमण फैलिँदै गएको छ ।