साङ्केतिक तस्बिर ;साभार वेब

डेङ्गु नियन्त्रण गर्न ८० लाख विनियोजन: धरानलाई डेङ्गु प्रभावित क्षेत्र घोषणा

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ सुनसरी।प्रदेश सरकारले डेङ्गुको प्रकोप नियन्त्रण तथा उपचारका लागि ८० लाख बजेट विनियोजन गर्दै एक साताभित्रमा डेङ्गु नियन्त्रण गर्ने योजना अघि सारेको छ।तीन तहका सरकारका बीचमा समन्वय नभएको भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डेङ्गु नियन्त्रण अभियान थालिने भएको हो।यसका लागि प्रदेश सरकारले सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। 

यसैगरी तीन जिल्लाका  स्थानीय तहलाई समेत डेङ्गु नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्रराज डोटेलले एक साताभित्र डेङ्गु नियन्त्रणको कार्ययोजना पेस गरेका थिए।निर्देशक डोटेलले प्रस्तुत गरेको कार्ययोजनामा प्रजिअको समन्वयमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, उद्योग वाणिज्य, नगरपालिका,जनपथ, सशस्त्र र स्थानीय समुदाय समेतको सहभागितामा जिल्लास्तरीय समन्वय बैठक गरेर जिम्मेवारी दिइने उल्लेख छ। 

डेङ्गु प्रभावित क्षेत्रको सामाजिक नक्साङ्कन गरेर ८ देखि १० जनाको समूह बनाउने र प्रत्येक समूहलाई क्षेत्र छुट्याएर लामखुट्टेको लार्भा नष्ट गर्नका लागि परिचालन गरिने डोटेलले बताउनुभयो।‘एउटा समूहलाई झण्डै सय घर जिम्मा दिने र हरेक समूहले आफूलाई तोकिएको क्षेत्रभित्रको प्रत्येक घरमा पुगेर लार्भा खोजी गरेर नष्ट गर्ने योजना बनाइएको डोटेलले बताउनुभयो।यसैगरी विद्यालय र क्याम्पसमा समेत डेङगु सचेतनाको विषयमा शिक्षा दिने योजना बनाइएको छ। सुनसरीको धरानमा डेङ्गुको बिरामी देखिएको एक महिना पुग्न लाग्दा समेत डेङ्गु नियन्त्रणमा नआएपछि धरानलाई डेङ्गु प्रभावित क्षेत्र घोषणा गरिएको छ।