तस्बिर साभार वेब

मृत्यु भएको ३१ घण्टापछि शव व्यवस्थापन: अन्तिम संस्कार गर्न नदिइएको आफन्तको आरोप

Hollywood Khabar May 22,2020 Comments

१० जेठ बुटवल।गुल्मीका कोरोना संक्रमित ४१ वर्षिया पुरुषको शव मृत्यु भएको ३१ घण्टापछि व्यवस्थापन भएको छ।शव व्यवस्थापन भएपनि आफन्तले अन्तिम संस्कार गर्न नदिइएको भन्दै आपत्ती जनाएका छन् । दाइको शव उठाउन प्रहरीको टोली आयो,मैले हिन्दु संस्कार अनुसार गरौं भने तर राज्यका सामू हाम्रो केही चलेन, मृतकका भाईले भने।‘कोरोना लागेको व्यक्तिलाई विद्युतीय शवदाहमा लैजानुपर्ने रहेछ।हाम्रोमा त्यस्तो नभएपछि गाडेछन्,भाईले भने–‘तर गाड्ने भएपनि अन्तिम अवस्थामा हामीलाई टाढैबाट हेर्न दिनुपर्थ्यो।’ उनले जिउँदो दाइलाई अस्पताल ल्याएर नै गल्ती गरिएको भन्दै निराशा व्यक्त गरे।उपचारमा एक लाख ८० हजार खर्च भए पनि दाइलाई घर लैजान नसकिएकामा उनलाई दुःख छ।

मृतकसँगै अस्पताल आएका तीन जनामा कोरोना नेगेटिभ देखिएपछि उनीहरु घर फर्किने तयारीमा छन्।घरमै पुगेर काजकिरिया गर्ने उनले बताए।मृतक ४१ वर्षीय शिक्षकका गुल्मीको मदानेमा बुवाआमा, तीन छोरा र श्रीमती छन्।

मृतकको शव बुटवलको शिवनगर सामुदायिक वन भित्र गाडीएको छ।शव व्यवस्थापनमा सहभागी भएका एक प्रहरी अधिकृतले परिवारकै सहमतिमा शव व्यवस्थापन गरिएको बताए।‘कोरोनाबाट मृतकको शव व्यवस्थापनमा सबै व्यक्ति सहभागी हुनुभएन, हामीले उहाँहरुले भनेअनुसार नै अनुरुप नै शव व्यवस्थापन गरिदिएका हौं, ती अधिकृतले भने ।

क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । मृत्युपछि आफन्तले अस्पतालले उपचारमा लार्पबाही गरेको बताइरहेका छन् । छानबिन गर्नुपर्ने आफन्तको माग र कसले व्यवस्थापन गर्ने भन्नेमा मतभेद हुँदा शव डेढ दिनसम्म अस्पतालकै बेडमा रहेको थियो । सरकारको कार्यविधि अनुसार कोरोना पोजेटिभको मृत्यु भएमा प्रशासनले शव व्यवस्थापन गर्नुपर्ने हुन्छ । कार्यविधिमा शव व्यवस्थापन तत्काल गर्नुपर्ने उल्लेख छ ।