रोमान्स र मस्ती गर्दै कलाकार क्रेजी अष्ट्रेलियामा

Hollywood Khabar August 01,2017 Comments

सुकदेव चापागाईं/काठमाडौं
पछिल्लो समय हास्यव्यंग्य टेलिचलचित्र डिठ्ठा साबमा अभिनय गर्दागर्दै अष्ट्रेलिया पुगेका कलाकार करण श्रेष्ठ क्रेजीको दैनिकी अहिले अष्ट्रेलियातिर नै बितिरहेको छ। हुन त उनी घुमफिरको लागि मात्रै अष्ट्रेलिया पुगेका भने होईनन् उनको व्यस्तता अहिले पनि सुटिङमा बितिरहेको छ।
अष्ट्रेलिया भ्रमणको मौकामा कलाकार करणले डिठ्ठा साब र एक म्युजिक भिडियोको सुटिङ अष्ट्रेलियामा गर्न भ्याए। कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको हास्य व्यंग्य टेलिचलचित्र डिठ्ठा साबको सुटिङ उनकै पहलमा अहिले अष्ट्रेलियामा भईरहेको छ।  
अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेत उनले उक्त टेलिचलचित्रमा अभिनय गराईरहेका छन्। निर्माता तथा वितरक समेत रहेका करण क्रेजी अहिले कलाकारितामा जमिरहेका छन्। करिब डेढ महिना अघि फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन पुगेका करणले एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
गायिका निशा देशारको स्वरमा सजिएको “मनभरि तानाबाना” बोलको गीतको भिडियोमा उनले अभिनय गरेका छन् । उनलाई साथ दिएकी छिन् अष्ट्रेलियामै बसोबास गर्ने मोडल रमिला अधिकारीले । उक्त गीतमा मोडल रमिलासँग करणलाई रोमान्स गराएका छन् निर्देशक मनोज अधिकारीले । यस गीतको भिडियो अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा खिचिएको निर्देशक अधिकारीले बताएका छन् । गीतको म्युजिक भिडियोलाई श्री पराजुलीले खिचेका हुन्। ‘गुमनाम’ एल्बमको यो गीतमा गैरे सुरेशको संगीत र प्रदिप चापागाईको शब्द रहेको छ ।
नेपाली फिल्म जवाफबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका करण क्रेजीले दुई दर्जन भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेका छन् । अभिनय क्षेत्रमै आफ्नो जीवन समर्पित गर्ने चाहना रहेको बताउने कलाकार क्रेजी यो क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन्। उनी भन्छन्, “म जहाँ गएपनि मेरो कलाकारिता त्यहीँ हुने गर्दछ । तर म कलाकारिताबाट भागेर कहिल्यै विदेश पलायन चाहिँ हुँदिन ।” आफ्नो यो अष्ट्रेलिया भ्रमण दोस्रो पटक भएको उनले बताए ।