-Suren Sapkota

कोरोनाले ल्याएको वर्तमान स्वास्थ्य सेवाको संकट र अमेरिकी बैभव

Hollywood Khabar March 25,2020 Comments

सुरेन सापकोटा/न्यूयोर्क/३/२६/२०

आफ्नो जिवनको परवाह नगरि रातदिन खटिईरहेका स्वास्थ्यकर्मीले आफ्नो सिफ्टभरि एउटै मास्क लाउँछन। कतिपय अस्पतालमा त भोलिपल्ट पनि त्यहि मास्क धोएर प्रयोगमा ल्याइएको घटना समेत बाहिर आएको छ। सुन्दा आश्चर्य लाग्ला तर यि त विश्वको शक्तिशाली राष्ट्र अमेरिकामै आजकाल दिनहुँ जसो बाहिर आउँने प्रतिनिधि घटना मात्र हुन्। न्युयोर्कको संभवत: सबैभन्दा ब्यस्त एल्मष्ट अस्पतालमा जम्मा ५ वटा मात्र भेन्टिलेटर छन्। वार्ड र आकस्मिक कक्ष खचाखच छ भने लास राख्ने ठाउँसम्म छैन।

एउटा बिरामी लाईनमा बसेर चेकजाँच गराउँदा दिनभरि लाग्छ । धेरैलाई त घरमै बस्नु भन्दै चेकजाँच नगरि फर्काईन्छ । भोलिपल्ट पुन: चेकजाँच गर्दा पोजेटिभ देखिन्छ। संचालनमा आएका सिमित अस्थाई जाँच केन्द्रले पनि न्युयोर्कको जनसंख्यालाई धान्ने कुरै भएन। क्विन्समा त झन एउटै अपार्टमेण्टमा भान्सा र शौचायल शेयर गरेर २/३ परिवारसम्म बस्ने गरेका छन । कुनै एक ब्यक्तिले रोग निम्त्यायो कि सबैलाई सर्ने नै भयो । सोहि कारण पनि न्युयोर्क शहरको क्विन्स अन्यत्रभन्दा धेरै प्रभावित छ ।

प्राय सबैजसो फ्लुका लक्षणहरु एकै प्रकृतिका हुने र कोभिड-१९को पनि भ्याक्सिन निर्क्योल नभैसकेको अवस्थामा बिरामीलाई कुन औषधी चलाउँने भन्नेमा स्वयम् डाक्टरहरु पनि दुबिधा मै देखिन्छन्। राष्ट्रपति ट्रपले मलेरियाको औषधिको रुपमा प्रयोग हुँदै आएको हाईड्रोसिक्लोरोक्विन प्रयोग गर्न अनुमति दिए पनि कतिपय ठाउँमा यसको नकरात्मक असर भएको समाचारहरु सार्वजनिक हुन थालेका छन। यो महामारी हाल न्युयोर्कमा धेरै देखिएता पनि अमेरिकाका अन्य सबैजसो राज्यमा बढदो मात्रामा छ ।

यो महामारीले स्वास्थ्य क्षेत्र मात्र होईन, अमेरिकी अर्थतन्त्र पनि डामाडोल हुने अवस्थामा छ। विश्वमा सबैभन्दा धेरै संख्यामा अमेरिकन जनता यो रोगबाट प्रभावित भैरहँदा समेत राष्ट्रपति ट्रम्प अमेरिकामा आर्थिक मन्दी नहुने ठोकुवा गर्दैछन। उनी शुरुदेखि नै लकडाउनको बिपक्षमा वकालत गर्दै आएका छन।बरु अब चाँडै लकडाउन हटाएर बजार खोल्नुपर्ने उनका भनाईहरु सार्वजनिक भएका छन्। राष्ट्रपतिले कोरोनाको प्रकोपलाई अझै पनि सामान्य रुपमा लिएको, हेल्च्याक्र्याईं गरेको, भएको स्रोत साधन समेत पर्याप्त मात्रामा प्रयोग नगरेको भन्ने आलोचकहरुको संख्या पनि दिन प्रतिदिन थपिंदै गएको छ।

 

आज विश्वसँगै सर्वशक्तिमान राष्ट्र अमेरिकाका जनता पनि यो महामारीबाट आतंकित अवस्थामा छन। अहिले यो अवस्थामा राज्यमा भएको सबै श्रोत, साधन र शक्ति परिचालन गरि आफ्नो देशबाट यो माहामारी निर्मुल गरी अन्य देशलाई सहयोग गर्नुपर्ने अमेरिका स्वयम् दिन दुईगुना रात चौगुना महामारीमा फँस्दै गैरहेको छ। आज आफ्नै नागरिकलाई आस्वस्थ पार्न धौधौ परिरहेको अमेरिका अहिल्यै विश्व समुदायलाई सहयोग गर्ने अवस्थामा देखिंदैन।

अर्कातिर कोरोना भाइरसको उद्गम मानिएको चिन आफ्नो देशमा कोरोनाको प्रभाव लगभग सकिएको भन्दै अन्य देशलाई सहयोगको लागि अघि बढिरहेको देखिन्छ । यसरि अमेरिका आफ्नै देसमा सिमित रहने र चिन सहयोग सहित अन्य देसमा विचरण गरिरहने हो भने हालसम्म अमेरिकाले आर्जन गरेको बैभवताको ताज खोसिन सक्दैन भनेर भन्न सकिन्न। यहि अवस्था कायम रहिरहे स्वास्थ्य संकटका कारण अमेरिकी अर्थतन्त्र समेत धरासायी हुँदै जाने स्थिति नआउला भन्न सकिन्न ।

त्यसकारण आफ्नो बैभवताको ताज जोगाइ राख्न पनि अमेरिकाले अहिले आफ्नो संपुर्ण ताकत लगाएर छिटोभन्दा छिटो हालको संकटबाट बाहिर आउँन जरुरी छ । जसका लागि संभव भएसम्मको स्रोत, साधन र शक्ति परिचालन गर्नुपर्ने नितान्त आवश्यक छ । सबैभन्दा पहिला अस्थाई टेस्टिङ् सेन्टरहरु हरेक टोलटोलमा बिस्तार गर्नु अपरिहार्य छ। बढिभन्दा बढि बिरामीलाई छिटोभन्दा छिटो चेकजाँच गर्नु र तिनलाई उचित स्वास्थ्योपचार दिनसक्नु नै अहिलेको प्राथमिकता हो । यसका लागि आफ्ना लाखौं सेना र प्रहरी संगठनसँग भएको स्वास्थ्य उपकरण र जनशक्तिको प्रयोग र परिचालन समेत अपरिहार्य हुनजान्छ।