GENERAL PURNA CHANDRA THAPA CHIEF OF THE ARMY STAFF NEPALI ARMY

नेपाली सेनाका प्रधानसेनापति थापाको औपचारिक भारत भ्रमण

Hollywood Khabar January 08,2019 Comments

नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा २०७५ पौष २७ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र भारत प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ।

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति महारथी थापालाई २०७५ पौष २८ गते भारतका महामहिम राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary General of Indian Army) दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम (Investiture Ceremony) रहेको छ।

दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ। भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसंग भेटघाट गर्नुहुनेछ। साथै उहाँले भारत सरकारका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम समेत रहेको छ।

सोहि क्रममा प्रधानसेनापति महारथी थापाले South-Western Command जयपूर र Central Command लखनउको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानसेनापतिको भ्रमणदलमा श्रीमती दिपा थापा, सैनिक ईण्टेलिजेन्स महानिर्देशक उपरथी झंकर बहादुर कडायत लगायत सात जना रहनु हुनेछ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को देशको सेनाका

प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

उक्त भ्रमण सम्पन्न गर्नुभई प्रधानसेनापति महारथी थापासहितको उच्चस्तरिय भ्रमणदल २०७५ माघ ०२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।