चितवनमा "संरक्षण" को रेड कार्पेट प्रिमियर शो हुने

Hollywood Khabar July 23,2017 Comments

राजनीतिक कथावस्तुलाई आधार बनाइएको बहुप्रतिक्षित मानिएको चलचित्र नायकद्धय सौगात मल्ल र निखिल उप्रेती स्टारर चलचित्र "संरक्षण" को रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ ।
साउन २७ मा रिलिज हुने चलचित्र "संरक्षण" लाई मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा यही साउन २५ गते ,बुधबार साँझ ६ बजे क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा भव्य रेड कार्पेट प्रिमियर शो हुने भएको छ ।नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र “संरक्षण” को भब्य रुपमा रेड कार्पेट प्रिमियर शो गर्ने जनाएको छ । राजनीतिक कथावस्तुलाई आधार बनाएर बनाइएको नेपाली कथानक चलचित्र "संरक्षण" अहिलेको नेपालको राजनीतिक परिवेशसँग मेल खाने हुनाले पनि चलचित्रको सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुमा व्यापक चर्चा पाइरहेको छ ।
भारतको दार्जि्िलङमा चलिरहेको गोरखाल्याण्ड आन्दोलन र नेपालको मधेश आन्दोलन, अनि यी दुबै आन्दोलनप्रति आम नेपाली जनताको फरक फरक दृष्टिकोणसँगको यथार्थ कथालाई चलचित्रमा देखाउन खोजिएको छ । शो कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरुको बाक्लो उपस्थिती हुने जनाईएको छ । रेड कार्पेट प्रिमियर शोमा चलचित्र "संरक्षण" का कलाकार संगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका अध्यक्ष हरि कार्की "लक्की"ले जानकारी दिनुभयो ।  
चलचित्रको प्रिमियर गर्नुभन्दा अगाडि चितवनका केही अनाथ तथा बृद्धाआश्रममा लत्ताकपडा वितरणको साथै खाना खुवाउने कार्यक्रम रहेको कार्यक्रम संयोजक राहुलकुमार सिंहले जानकारी दिनुभयो । पुर्णेन्दु झाको निर्देशनमा रहेको चलचित्रमा निखिल र सौगात सगै मलिना जोशी, अशिष्मा नकर्मी ,रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, नन्दु श्रीवास्तव र राज कटुवाल लगायतको अभिनय रहने छ ।चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहेको छ । रमेश रञ्जन र पुर्णेन्दु झाको पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत रहेको छ ।