-चापागाउँबासीलाई सम्झौतामै सुताइयो, थप ७ महिना धुलो र हिलो खुवाउने

चापागाउँबासीलाई सम्झौतामै सुताइयो, थप ७ महिना धुलो र हिलो खुवाउने

Hollywood Khabar May 15,2019 Comments

आम सरोकार/ललितपुर/२ जेठ,

वैशाख २६ गतेदेखि बन्द भएको चापागाउँ सडकको बन्द नेतहरुको स्वार्थमा विलिन भएको छ । आन्दोलन आज जेठ २ गते विहिबारबाट समाप्त भएको छ । जनताको समस्यालाई नारालाई बजाएर राजनीति गरिराख्न नेताहरुलाई थप बल पुगेको छ । काठमाण्डौलाई हेटौडासंग जोडने सबैभन्दा छोटो मार्ग कान्तिलोकपथको मुख्ख विन्दु सातदोवाटोबाट चापागाउँसम्मको सडकको दुरावस्थाले यहाँका स्थानीयहरुलाई मात्रै हैन । सिङ्गो देशलाई नै सताएको छ ।

निकै दहनीय अवस्था रहेको सातदोबाटो चापागाउँ सडकखण्डमा कालोपत्रे गर्न माग राख्दै जनताले सुरुवात गरेको बन्दमाथि नेताहरुको राजनीतिले जीत हासिल गरेको छ । जनताले जे माग गरेर आन्दोलन गरेका हुन् त्यो प्राप्त हुने सम्भावना निकै पर धकेलिएको छ ।

नेताहरुको अग्रसरतामा भएको सम्झौताअनुसार आगामी कार्तिकसम्ममा कालोपत्रे गरिसक्ने सहमति भएको छ । सम्झौता पत्रमा ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य, ललितपुर क्षेत्र नं ३ को क प्रदेशसभाका सदस्य, गोदावरी नगरपालिकाका मेयर र जिल्ला समन्वय समिति ललितपुरका उपप्रमुख, नेकपा, नेपाली काँग्रेसका एक÷एक जना प्रतिनिधि र गोदवारी नगरपालिका वडा नं. ११ का अध्यक्षले हस्ताक्षर गरेका छन् । विहिबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको छलफल अनुसार मन्त्रीपरिषदबाट निर्णय गराएर असोज कार्तिकसम्म कालोपत्रे गर्ने उल्लेख छ ।

यो सम्झौतासंगै आन्दोलन फिर्ता गर्न गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आग्रह गरेका छन । सडक विभागमा आज भएको छलफलमा आगामी कात्तिकसम्म जसरी पनि कालोपत्रे गर्ने सहमति छ ।

त्यसका लागि मन्त्रीपरिषदमा प्रस्ताव लाने सहमति छ । हाल जे जस्तो अवस्था छ त्यही अवस्थामा कालोपत्रे गर्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ । अब सडक विस्तार नगर्ने र विस्तारित सडकको स्तरउन्नति मात्रै गरिने समेत सहमति पत्रमा उल्लेख छ । मन्त्रीपरिषदबाट रकम विनियोजित भएको खण्डमा अहिले ठेक्का पाएका ठेकेदार कम्पनीले नै सडक कालोपत्रे गर्नेछन् । तर मापदण्ड अनुसार भने होइन, अहिले जे जस्तो अवस्थामा छ, त्यही अनुसार नै पिच हुनेछ ।

यसअघि पनि छारो धुलो उडेको भन्दै जनताले नगरपालिकामा दबाब दिएका थिए । त्यसलगातै मेयर गजेन्द्र महर्जनले आश्वासन दिएपछि आन्दोलन फिर्ता भएको थियो । करिव ३ वर्ष भन्दा अगाडिदेखि नै दुरावस्था रहेको सडकको तत्कालै पिच हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रेका स्थानीयलाई कात्तिकसम्मको म्याद राखेर आँखामा छारो हालिएको छ ।

सडक तत्कालै पिच गराउने वतावरण वनाउन नसक्ने जनप्रतिनिधिहरुले एउटा सम्झौताको भरमा ७ महिनासम्म धुलोधुँवामा नै रुमल्लिनु पर्ने अवस्था सृजना गरिदिएका छन् । कार्तिकमा पनि यो सडक पिच हुन्छ भन्ने कुनै ग्यारेन्टी भने छैन, पटकपटक आश्वासन बाँडेर राजनीति गर्न सिपालु जनप्रतिनिधि र स्वार्थ सिद्ध पार्न आन्दोलनमा घुसपैठ गर्ने कार्यकर्ताका कारण जनदबाब पनि स्खलित हुन्छ भन्ने ज्वालन्त उदाहरण वनेको छ चपागाउँ सडकको वर्तमान आन्दोलन । तथापि समस्याको समाधान आन्दोलन मात्रै हैन । तर नेपालमा आन्दोलन नै नगरी केही पनि हुने अवस्था छैन । भ्रष्ट्राचार, कार्यकुशलता विहिन कर्मचारी र चाकडीबाद नेताहरुकै कारण यो अवस्था रहीरहेको हो भन्दा फरक नपर्ला । अहिलेको सम्झौताले सार्थकता पाओस् । फेरी पनि जनता सडकमा आउन नपरोस् । चापागाउँ सातदोबाटो सडकले समेत पाओस् पटकपटक छारो धुलोबाट मुक्तिका लागि जनता सडकमा आउनुपर्ने अवस्था नहोस ।