तस्बिर वेब

चक्रपथको कलङ्की–महाराजगञ्ज खण्डको बिस्तार अघि बढ्यो,घर टहरा हटाउन १५ दिनेको सूचना

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ,काठमाडौं।चक्रपथको कलङ्की–महाराजगञ्जखण्डको बिस्तार प्रक्रिया अगाडि बढाइएको छ।दोस्रो चरणअन्तर्गत विस्तार गरिने चक्रपथको उक्त खण्डको सीमा क्षेत्रमा रहेका भौतिक संरचनाहरु हटाउन काठमाडौँ चक्रपथ सुधार योजनाले १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कलङ्की–महाराजगञ्जखण्डको विस्तार प्रक्रिया अगाडि बढाउन चक्रपथको उक्त खण्डको सीमा क्षेत्रमा परेका स्थायी तथा अस्थायी संरचनाहरु हटाउन १५ दिने सूचना जारी गरिएको जानकारी दिनुभयो।चक्रपथको केन्द्रविन्दुबाट दायाँबायाँ ३१/३१ मिटरसम्मको सीमा क्षेत्रमा रहेका भौतिक संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको जानकारी योजना प्रमुख रिमालले दिनुभयो ।

चक्रपथको सो खण्डको ‘साइट क्लियरेन्स’ का लागि समेत नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, ढल, वन विभागलगायतका सम्बन्धित निकायलाई पत्राचार भइसकेको जानकारी समेत उहाँले दिनुभयो।चक्रपथको उक्त खण्डको भौतिक संरचना हटाउन तथा‘साइट क्लियरेन्स’का लागि आगामी आर्थिक वर्षमा ४५ करोड रुपियाँ विनियोजन गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ।