NRNA:अक्टोवर १२ र १३ विज्ञ सम्मेलन १४ अक्टोवरमा विधानसभा

Hollywood Khabar April 05,2018 Comments

प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्नेका सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको सर्वविदितै छ।

विदेशमा रहेका नेपालीहरुले आफ्नो मिहिनेतले ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन्। त्यस्तो सीपको प्रयोग नेपालको रुपान्तरणको लागि पनि हुनसक्ने प्रचुर सम्भावना रहेको छ। गैरआवासीय नेपाली संघको पहलमा नेपालमा पूँजी लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन खासै सफलता हासिल गर्न सकिएको छैन। यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीपको प्रयोगका लागि पहल गर्ने निर्णय संघले गरेको हो ।

मुलुकमा नयाँ संविधानअन्तर्गत निर्वाचन सम्पन्न भई ठूलो बहुमतका साथ नयाँ सरकारले मुलुकको सत्ता सम्हालिसकेको वर्तमान परिपेक्ष्यमा आर्थिक विकासले समेत प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यस अवस्थामा विदेशमा रहेका गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र बौद्धिकतालाई समेत सदुपयोग गर्ने राम्रो अवसर जुटेको धारणा यस संघको छ । गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि हरेक २ वर्षमा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने तय भएअनुसार गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा (२ दिने ) विज्ञ सम्मेलन आयोजना गर्ने गरी कार्यक्रम तय भएको छ ।

यसै विज्ञ सम्मेलनको् तयारीका सन्दर्भमा संघका अध्यक्ष, पूर्व अध्यक्ष एवं पदाधिकारीहरुले उपस्थितीमा नेपाल सरकार, सरोकारवाला निकायहरु एवं विज्ञहरु र नेपाल बाहिर रहेका विज्ञ तथा प्राज्ञिक संस्थाहरुसँग भेट गरी सम्मेलनका बारेमा जानकारी दिनुका साथै उहाँहरुको सहकार्य र सहभागीताका लागि अनुरोध समेत गर्नुभएको छ।

भेटघाटका क्रममा सम्मेलनका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी तथा आर्थिक, वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासन लगायतका विषयलाई नीतिगत तथा विषयगत रुपमा प्रस्तुत गर्ने सम्बन्धमा छलफल भएको छ।

भेटघाटको क्रममा संघको प्रतिनिधिमंडलले मा. अर्थमन्त्री, मा. कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, मा. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, मा. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, लगायत विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान जस्ता विभिन्न समाजका विज्ञ तथा प्रतिनिधिहरु एवं नेतृत्वसंग छलफल एवं अन्तक्र्रिया गरिएको थियो।

भेटघाटका क्रममा माननीय मन्त्रीज्यू एवं विभिन्न निकायका प्रमुखबाट यस्तो कार्य नेपालका लागि उपयुक्त भएको र आफ्नो पूर्ण सहयोग रहने धारणा व्यक्त भएको थियो।

यस्तै, गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नुपर्ने आवश्यकता महशुस भएको हुँदा यही आउने १४ अक्टोवर २०१८ का दिन विधानसभा आयोजना गरिने भएको छ।

उक्त विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहाकार तथा मानार्थ सदस्यहरुले भाग लिनुहुनेछ। विधानसभा तथा बौद्धिक सम्मेलनको तयारीका लागि अमेरिका (जुन), युरोपको लग्जेम्वर्ग (जुलाई), एशियाको थाईल्याण्ड लगायतका अन्य क्षेत्रहरुमा तयारी सम्मेलनहरु आयोजना हुने भएका छन् ।

नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिहेका छन् । लगानीको क्षेत्रलाई अझ व्यापक र दिगो बनाउनको लागि नेपालमा बृहत एक सामूहिक लगानी कोष खडा गर्ने निर्णय भएको सर्वविदितै छ। यसै सन्दर्भमा गैरआवासीय नेपालीहरुको सामूहिक लगानी प्रबद्र्धन गर्नका लागि एक छुट्टै कम्पनी खडा गर्ने सम्बन्धमा समेत प्रारम्भिक अध्ययन तयार भएको जानकारी गराउँदछौं ।

नेपाल सरकारसँग छलफल गरी उक्त अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिइने र एक Special Purpose Vehicle का रुपमा एक कम्पनी खडा गरी लगानीको रकम जम्मा गरिने छ र उक्त कंपनीले नेपालको विकासका लागि आवश्यक  आधारभूत संरचनामा लगानी गर्नेछ ।
गैरआवासीय नेपाली संघ
२०७४ चैत्र २३