-अमेरिकाको बोस्टन शहरमा किरातराइहरुको साकेलाको मैजारो

अमेरिकाको बोस्टन शहरमा किरातराइहरुको साकेलाको मैजारो

Hollywood Khabar June 18,2019 Comments

सुरेश चाम्लिङ्ग/बोस्टनबाट

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले विभिन्न राज्यमा यस वर्षको साकेला उभौली सम्पन्न गरी बोस्टन शहरमा अन्तिम समापन गरेको छ।

हालै भएको यस कार्यक्रमको प्रमुख अतीथी अर्गनाइजेसनका केन्द्रिय सभापती मुना राई हुनुहुन्थ्यो। उहाले प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै अमेरिकाको आन्ध्र महासागरदेखि प्रशान्त महासागरसम्म किरात राईहरुको भाषा, धर्म तथा संस्कार संस्कृतिलाई जीवन्त राख्दै भावी पिढीलाई हस्तान्तरण गर्न हामीले सन् २००७ देखि यो अर्गनाइजेसनको स्थापन गरेको हो।

किरात राईहरु विश्वको जुनसुकै ठाउबाट आएर अमेरिकाको बिभिन्न राज्यमा छरिएर रहे बसेको भएता पनि यो अर्गनाइजेसनले हामी एक सुत्रका हौँ भन्ने बिस्वाश राख्दछ। उहाले थप भन्नु भयो-किरातराईहरुको परिचय र मौलिकतासंगै नेपालीपनलाई अमेरिकी परिवेशमा स्थापित गर्न अर्गनाइजेसनले महत्वपूर्ण भूमिका खेलेको छ।

अर्का बिशेष अतिथि किरातराई सोसाइटीका सभापती राम राईले शुभकामना मन्तब्य दिनुहुदै हामी दाजुभाइहरु एक अर्काको दुख, सुखमा सहभागी हुनुपर्दछ। यो नै किरातीराईहरुको पहिचान हो भन्नु भयो। यो साकेलाले जीवनमा सुख शान्ति र समृद्धि ल्यावस भनि शुभकामना व्यक्त गर्नुभयो।

अर्गनाइजेसनका पुर्वसभापति बिष्णु राईले किरातराईहरुको यो चाड संसारको सबै ठाउँमा फैलिएको कुरामा गर्व गर्नुहुदै यसको पहिचानको लागि नेपालको १ न प्रदेश किरात प्रदेश हुनु पर्ने कुरा बताउनु भयो।

अन्य शुभ कामना मन्तब्य दिनुहुनेहरुमा, एएसीसी म्यासाच्युसेट्सका सभापती प्रल्हाद के सी, जीबिएनसीका सभापती अर्जुन जंग कुवर, एनआरएनए एनसीसी अमेरिका बोर्ड सदस्य तथा आइसीसी मेम्बर इलेक्ट तिर्सना काफ्ले शर्मा लगाएत हुनु हुन्थ्यो।

अन्य उपस्थितहरुमा फिपना सभापति सुन्दरी गुरुङ, गुरुङ समाज न्युहेम्प्शायरका अध्यक्ष शम्भु गुरुङ, एनआरएनए एनसीसी अमेरिका बोस्टनका च्याप्टर अध्यक्ष प्रेम तामांग, तमु समाज बोस्टनका सभापती मीन गुरुङ गुरुङ, सभापती प्रकाश गुरुङ, पशुपतिबुद्ध फाउण्डेशनका सभापती बिष्णु मणी आचार्य, एनआरएनए एनसीसी अमेरिका बोर्ड डाइरेक्टर इलेक्ट छत्र गुरुङ, आइएनएलएस म्यासाच्युसेट्स च्याप्टरका सभापती यम पौडेल, एनआरएनए एनसीसी अमेरिका न्यूहेम्प्शायर च्याप्टर अध्यक्ष डम्बर कडरिया, मगर समाज बोस्टन सभापती सरिना राना, एनएचएनसी पुर्व सभापती मीन गौतम, लायन्स क्लब न्युहेम्प्शायरका सभापती उमेश कोइराला, जात्रा नेपालका सभापती मिलन बस्नेत लगाएत हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा नवान्तुक राई हरुलाई स्वागत गरिएको थियो भने यो वर्ष कलेज तथा हाइस्कुल ग्राजुएशन गर्ने हरुलाई खादा ओढाई ट्रफी प्रदान गरिएको थियो। उक्त कार्यक्रम नक्छुंग पदम बहादुर राईबाट पुजा आजा गरी शुरु गरिएको थियो। जय राईले पिपिरी धुन र सोङ्ग गेर्वा कुलुङ्गले नृत्य गर्नु भएको थियो। अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड च्याप्टरबाट साकेला नाच शुरु गरिएको थियो।

अन्त्यमा सम्पूर्ण सहभागीको गोलो घेरामा ढोल झ्याम्टा बजाएर साकेला नाच गरिएको थियो। उपस्थितहरुलाई स्वागत अर्गनाइजेसनका न्युइंग्ल्याण्ड उपसभापति कर्ण राईले गर्नु भएको थियो। कार्यक्रम संचालन न्युइंग्ल्याण्ड च्पाप्टर महासचिव शेखर राई र पुर्व उपसभापति अनिता राईले संयुक्त रुपमा गर्नुभएको थियो। अर्गनाइजेसनका न्युइंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको बिसर्जन गर्नु हुदै उहाले सम्पूर्ण सहभागी तथा कार्यक्रम सफल बनाउनु हुने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो।