साङ्केतिक तस्बिर

विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

Hollywood Khabar April 02,2020 Comments

२२ चैत्र काठमाडौं।विश्वभर कोरोना महामारीबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ।शुक्रबारको तथ्याँकअनुसार एकैदिन ५ हजार ९ सय व्यक्तिले ज्यान गुमाएसँगै मृतकको संख्या ५९ हजार नाघेको हो।पछिल्लो विवरण अनुसार कोरोनाबाट इटालीमा मृतकको संख्या साढे १४ हजार पुगेको छ।त्यहाँ २४ घण्टामा मात्रै ७६६ व्यक्तिले ज्यान गुमाएका छन्।इटालीमा संक्रमितको संख्या १ लाख १९ हजार नाघेको छ।

यस्तै, अमेरिकामा शुक्रबार मात्रै १३ सय व्यक्तिको मृत्यु भएको छ।योसँगै त्यहाँ मृतकको संख्या ६ हजार नाघेको छ।अमेरिकामा २ लाख ७६ हजार संक्रमितको संख्या पुग्दा १२ हजार बिरामी भने निको भएका छन्।फ्रान्समा शुक्रबार मात्रै ११ सय व्यक्तिले कोरोना संक्रमण ज्यान गुमाएका छन्।त्यहाँ मृतकको संख्या कूल साढे ६ हजार पुग्दा ६४ हजार व्यक्ति संक्रमित भइसकेका छन्।

स्पेनमा संक्रमितको संख्या १ लाख १९ हजार नाघेको छ।त्यहाँ मृतकको संख्या ११ हजार पुग्दा साढे ३० हजार व्यक्ति निको भएर घर फर्किसकेका छन्।जर्मनीमा संक्रमितको संख्या ९१ हजार पुगेको छ।त्यहाँ २४ हजार विरामी निको हुँदा १२ सय जनाले भने ज्यान गुमाएका छन्।चीनमा कोरोनाबाट मृत्यु र संक्रमित हुनेको संख्या घट्दो क्रममा छ।शुक्रबार त्यहाँ ३१ जना नयाँ संक्रमित थपिँदा ४ जनाले मात्रै ज्यान गुमाएका छन् ।

चीनमा साढे ८१ हजार संक्रमितमध्ये ७६ हजार ५ सय व्यक्ति निको भइसकेका छन्।कोरोनाको उत्पती भएको चीनमा हालसम्म ३३ सय व्यक्तिले ज्यान गुमाएका छन्।२०५ देशमा फैलिएको कोरोनाका कारण विश्वभर १० लाख ९७ हजार व्यक्ति प्रभावित भइसकेका छन्।जसमध्ये २ लाख २८ हजार व्यक्ति भने निको भएर घर फर्किसकेका छन्।