-खानेपानी मन्त्री

मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने:खानेपानी मन्त्री

Hollywood Khabar December 18,2018 Comments

खानेपानी मन्त्रालय/काठमाडौं’४ पुस

खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ ।

खानेपानी मन्त्रालयको सभाहलमा आयोजित बैठकमा खानेपानी मन्त्री बीना मगरले देशैभरि आधारभूत खानेपानीको पहुँच पु-याउन मन्त्रालयले ठोस कार्यक्रमहरु तीव्रताका साथ अघि बढाउने बताउनुभएको छ । बैठकको अध्यक्षता गर्दै उहाँले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रमहरु अघि बढाउने बताउनुभयो ।

खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्दै लगिने स्पष्ट पार्नुभयो । बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारे उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उहाँले संयमित भएर मेलम्चीमा आएको समस्या हल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रमहरु भने प्रभावित हुने छैनन् ।

बैठकमा सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले पूँजीगत खर्च बढाएर लैजाने र अन्य आयोजनाका कामहरु तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल दासले खानेपानीको पहुँच नपुगेका देशैभरिका नगरपालिका, गाउँपालिका, वडा तथा टोलहरुको पहिचान गरी तथ्यांक संकलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिनुभयो । उक्त योजनाहरुका आधारमा मन्त्रालयले कार्यक्रमहरु अघि बढाउनेछ ।

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पु-याउने गरी कार्यक्रमहरु जनतामाझ लैजान आग्रह गर्नुभएको थियो ।

बैठकमा अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले बजेटको पूँजीगत खर्च बढाउन मन्त्रालयलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन । मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।

बैठकमा आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौं उपत्यकाको सल्लाघारी, धोविघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताउनुभयो । उहाँले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले वाटर एटीएम जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले काठमाडौं उपत्यकामा सञ्चालित ट्यांकरहरु मध्ये हालसम्म ६ सय २० ट्यांकरलाई स्टीकर प्रदान गरिएको बताउनुभयो ।

यसैबीच खानेपानी मन्त्रालयको समीक्षा बैठक पनि आजै बुधबार बस्यो । बैठकमा मन्त्रालयबाट तयार भएको ढल नीति स्वीकृत भईसकेको र खानेपानी तथा सरसफाईसँग सम्बन्धित छाता ऐन बनिसकेकोले पारित हुने प्रक्रियामा रहेको जानकारी गराईयो ।