-विद्युतका कर्मचारीले बाँसको भाटाले हानेर घाइते उपभोक्ता

विद्युतका कर्मचारीले बाँसको भाटाले हानेर  उपभोक्ताको टाउको फुटाइदिए

Hollywood Khabar June 09,2019 Comments

२७ जेठ,बारा।बारामा नेपाल विद्युत प्राधिकरण कर्मचारीले बाँसको भाटाले हानेर उपभोक्ताको टाउको फुटाइदिएका छन्।कलैयास्थित विद्युत प्राधिकरणमा सोमबार प्राधरिकरणका कर्मचारीले बाँसको भाटाले हिर्काउँदा तीन जना उपभोक्ताको टाउको फुटाएका हुन्।प्राधरिकरणका कर्मचारीले हानेर घाइते हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश (थर नखुलेका) को कलैयास्थित जिल्ला अस्पतालमा उपचार भएको छ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे हाइ भोल्टेज करेन्ट प्रबाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता कलैया बजारस्थित विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका उपभोक्तालाई प्राधरिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताए।कार्यालयको मूल गेटमै धर्ना र प्रदर्शनमा रहेका ४०/ ५० को संख्यामा पुगेका स्थानीयवासीले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीले उनीहरूमाथि भाटाले आक्रमण गरेका हुन्।

बिहान साढे ११ बजेदेखि प्राधिकरणको मूल गेट नै बन्द गरी धर्नामा बसिरहेका प्रदर्शनकारीमाथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीले आक्रमण गरेको प्रदर्शनकारी सानु मिया अन्सारीले बताए।विद्युत प्राधिकरण कलैयामा कार्यरत फोरम्यान परबेज आलमले भने प्रदर्शनमा आएको अराजक भिडले कर्मचारीहरू माथि हातपात र आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि कर्मचारीले प्रतिकार गरेको बताए।प्रहरीले तीन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।