लेखक विनीता गुरुङ्ग

विवाद समाधानको उत्तम उपाय मेलमिलाप

Hollywood Khabar November 07,2019 Comments

विवादरहित समाज र समस्याविहीन मानिसको परिकल्पना सायद सम्भव नहोला । सामाजिक जीवनमा विवादहरु क्रमिक रुपमा भइ  नै रहेका हुन्छन् । हरेक व्यक्ति आफैभित्र मनोद्वन्दले भरिएको हुन्छ । अनेकौं जातजाती धर्म संस्कार तथा वर्ग मिलेर बन्ने समाजमा विवादहरु एकपछि अर्को श्रृजना भईरहनु नौलो पनि होईन । भिन्न भिन्न जातजाती‚ धर्म‚ संस्कृती‚ वर्ग तथा दृष्टीकोणबाट प्रस्फुटन भएका भिन्न भिन्न आकाङ्क्षाले समाज निर्देशित हुन्छ । त्यसैले विवादरहित समाज कल्पना गर्न सकिन्न तर बुझ्नु पर्ने कुरा केहो भने जहाँ विवाद हुन्छ त्यहाँ समाधान पनि हुन्छ । कारण ती विवादहरुले समाधनका उपायहरु पनि साथमै ल्याएका हुन्छन् । 

हामीकहाँ विवाद शब्द नकारात्मक अर्थ बोकेको पाउँछौँ तर त्यस्तो होइन । त्यसैले ‘वादे वादे जायते तत्व बोध’ अर्थात वादविवादबाट नै वास्तविक सत्य थाहा हुन्छ भन्ने गरिएको हो । हाम्रो समाजमा विवादको श्रृजनाबाटै सत्मार्ग तर्फ लाग्ने उत्साह उर्जा मिलेका उदाहरणहरु समाजमा थुप्रै भेटिन्छन् । राम र रावणको विवादले मानव जातिलाई मर्यादा नैतिकता प्रेम अन्धबिश्वास जस्ता कुरालाई उजागर गर्यो । पाण्डव र कौरवको विवादले सदाचारिता अधिकार दम्भ कर्तब्य सिकायो । अर्थात हरेक विवादले समाधान संग लिएर आउछ र एउटा सन्देश शिक्षा दिएर जान्छ । 

जहाँ विवाद उठान हुन्छ त्यसको निदानका लागि वार्तालाप एकान्त वार्ता र मेलमिलापद्वारा उत्पन्न विवाद समाधान गर्ने नेपाली समाजको मौलिक विशेषता  हो भन्दा फरक नपर्ला । वैदिक कालखण्ड होस् या आजको आधुनिक समाज हरेक कालखण्डमा विवाद समाधानका लागि मेलमिलाप पद्दति अपनाईएका भेटिन्छन्।मेलमिलाप विवाद समाधानको अन्योन्याश्रित पक्षका रूपमा रहि नै रह्यो । स्थान विशेषमा होस् या जाति विशेषमा, मुखिया होस् या बडघर प्रथा, आफ्नै मौलिकतामा आधारित रहेर मेलमिलापको अवधारणालाई अवलम्बन गरि विवादको समाधान गर्ने गरेको कुरा ईतिहासले देखाउँछ । विवाद समाधानका लागि अलग अलग कालखण्डमा अलग अलग समयानुक मौलिक विधिहरु प्रयोग हुँदै आए । किराँतकालीन ग्रन्थ मुन्धुम, लिच्छविकालीन पाञ्चालिक व्यवस्था आदि सबैले समाजमा आउने विवादहरुको समाधानको उत्तम उपायका रुपमा मेलमिलापलाई स्थान दिएको प्रष्टै देखिन्छ । 

कानुनी दृष्टीकोणबाट मेलमिलाप भन्नाले विवादरत पक्षहरुबीच आपसी वार्ताद्वारा निष्पक्ष र तटस्थ तेस्रो पक्ष अर्थात मेलमिलापकर्ताको भूमिकामा रहेर गोपनीयता कायम गरी विवाद समाधान गर्ने ऐच्छिक प्रक्रिया नै मेलमिलाप हो । आआफ्नो अडान र हठ त्यागेर दुवै पक्षलाई स्वीकार्य हुने गरि पक्षहरुबाटै न्यायोचित विकल्पको पहिचान गरी आपसी मनोमालिन्यता हटाई फाटेका दुई मनहरुलाई जोडेर भविश्यमा दुवैलाई एक असल परिवार असल छिमेकी असल साथीका रुपमा हातेमालो गर्दै अघि बढाउन विवादका दुवै पक्षहरुलाई लाभ लाभका स्थितीमा पुर्याउन मेलमिलाप प्रक्रियाको अहम् भूमिका हुन्छ भन्ने कुरामा कसैको दुई मत हुन सक्दैन ।  औपचारिक एवं प्राविधिक अर्थमा भन्नु पर्दा मेलमिलापलाई विवाद समाधानको वैकल्पिक उपाय मात्र होईन मेलमिलाप दुबै पक्षलाई लाभ लाभको अवस्थामा पुर्याउन मद्धत पुर्याउने एक उत्तम उपायका रुपमा लिइने गरेको छ । कानुनतः मेलमिलाप गर्न सकिने विवादहरुमा अधिकार प्राप्त अधिकारीले दिने न्यायिक एवं अर्धन्यायिक निर्णयभन्दा स्वयं विवादरत पक्षहरुको आपसी संवाद सहमती र समझदारीका माध्यमबाट विवादको अन्त्य गर्ने मेलमिलाप प्रक्रिया नै अत्युत्तम हो किनकि मेलमिलाप पद्धति विवाद समाधानको उपाय मात्रै नभएर पक्षहरुको पूर्ववत् सम्बन्धको पुनर्वहाली गराउने उत्तम उपाय मेलमिमिलाप हो । विवादका कारण गुमेको सामाजिक प्रतिष्ठालाई पुनर्जीवन दिने काम मेलमिलाप हो । 

मेलमिलाप पद्धति औपचारिक न्याय प्रक्रियामा भन्दा न्यूनतम समय, श्रम र लागतमा समस्याको निवारण गराउने विधि पनि हो । विवादरत पक्षहरुमध्ये एउटाले जित्ने र अर्काले हार्ने भन्दा दुवैले त्यो मेलमिलापबाट लाभ प्राप्त गर्ने विवाद समाधानको कला हो मेलमिलाप । मेलमिलाप मतभेदको अन्त्य मात्रै होइन, मनभेदको मलिनता समेत दूर गर्ने औषधी हो भने अमुक विवाद र अमुक मुद्दाको लगत काट्ने मात्रै होइन बरु सामाजिक सौहार्दताको लगत कस्ने दायरी हो ।मेलमिलाप एक किसीमको समुदायस्तरमा हुने मेलमिलाप, स्थानीय सरकारको तहमा हुने मेलमिलाप तथा अदालतको औपचारिक मेलमिलाप सबै न्याय निरोपणका शिलशिलामा हुने प्रक्रियागत मेलमिलाप, सबैको लक्ष्य भनेकै विवादरत पक्षहरु दुवैको हित मैत्री भएर न्याय भएको महसुस गराउनु नै हो । तसर्थ मेलमिलापलाई हरेक दृष्टीकोणबाट विवाद समाधानको एक उत्तम उपायका रुपमा लिई आएको पाईन्छ ।
लेखक अधिवक्ता एवं मेलमिलापकर्ता हुनुहुन्छ ।