सगुन महत

भाषणमा मात्र सिमित लैङ्गिक समानता

Hollywood Khabar June 02,2018 Comments

ईज्जत शब्दको उत्पत्ति कसले कहिले र कसरी गर्यो एकिन साथ भन्न सकिन्न।यस शब्दको परिभाषा गहिरो र विशाल छ जुन सहि हुंदा र नहुँदा त्यसले दिने अर्थमा समेत धेरै कुराको तात्विक असर पर्न जान्छ।इज्जत कुनै एक वर्ग जातको हुने होईन यो दुवै महिला पुरुषसंग सम्बन्ध राख्ने विषय हो।महिलाहरुको लागि सबै भन्दा ठूलो र बहुमुल्य भनेको आफ्नो इज्जत हो जसको अभावमा विना जीवन जीवन हुंदैन। 

कुनै पनि महिलाको इज्जत र जीवनमा ठूलो आघात पुराईन्छ भने महिलाहरुले मात्र नभई सम्पूर्ण पूरुषले पनि साथ दिनु पर्छ ताकि महिलाहरुले विश्वास गरुन कि एउटा पुरुष भ्रष्ट छ भन्दैमा सबै पुरुष भ्रष्ट हुन्दैनन्।किनकि कति यस्तो मुद्धा अथवा घटना छन् जसमा बाबुले छोरीलाई करणी गरेको आफ्नै सन्तानको जिन्दगीमा नै आघात पुराएको कुरा सुन्दा सम्पूर्ण छोरीहरु झस्किन्छन्।

यस्ता घटनामा महिला मात्र नभई सम्पूर्ण असल पिताहरु समेत यस्ता कर्तुत अपराध विरुद्ध उत्रनु पर्छ ताकि उनीहरुले यो देखाउन सकुनकी छोरीहरुको म एउटा असल पिता हुँ।म तिमीहरुलाई जस्तो सुकै परिस्थितिमा पनि बचाउन सक्छु जबसम्म म हुन्छु तबसम्म तिमीहरु सुरक्षित छौ भन्ने जस्तो भावनाको विकास गर्न मद्दत गर्छ किनकि यस्तो क्रियाबाट छोरीहरु पनि आफ्नो पिताहरु प्रति आफ्नो घरको काका,दाजु भाई प्रति गर्व महसुस गर्न सक्छन्।किन कि सन्तानहरुले आमाबुवालाई भगवान ठान्छन् जसको छहारीमा आफूलाई सुरक्षित र भाग्यमानी समेत मान्छन् । 
त्यसैले कुनै पनि नारीको इज्जत माथि खेलवाड गर्नु भनेको उनलाई जीउदै मार्नु हो।उनी त्यो कहालीलाग्दो क्षण सम्झन पनि चाहान्नन् चाहे उसको जन्मदिने बाबु होस् चाहे त्यो पढ्न होस् वा कुनै पनि कार्य गर्न किन नहोस किन त्यहां बाबुकै मात्र नाम लेख्नु पर्ने त्यसैले भनिन्छ त्यस्ता जंगली जनावर जस्ता पशुले एक पल्ट मार्छन् तर हाम्रो देशको प्रणालीले बार बार मार्छ । हो बुवा भनेको हाम्रो जन्म र कर्मदाता हुन जसले हामीलाई पालनपोषण गर्छन्। 

हामीलाई बलबुद्धिले भ्याएसम्म हाम्रो रक्षा अथवा सुरक्षा गर्छन् हो यस्तो भगवानको नाम लेख्ने हो त्यस्तो जनावर जस्तो अपराधी जसले बुवाको दर्जाबाट हटिसकेको हुन्छ जो केवल पीडितको लागि एक अपराधी हो यस्तोलाई बुवा भनि सम्बोधन गरी लेख्नु कति सम्मको न्यायोचित होला?कुनै पनि बाबुले आफ्नै छोरीको जिन्दगीसंग खेलवाड गरेको छ भने त्यो अपराधीको नाम सुन्नासाथ पीडित छोरीहरु झस्कीन्छन् र तड्पिन्छिन् भने किन उनलाई बारबार सम्झन बाध्य पारिन्छ कुनै पनि कागजातमा बुवाको नामको सटटा आमाको नामबाट पनि छोरीहरुले सहजरुपमा आफ्नो पहिचान बनाउन सक्दैनन् तर अहिले पनि नेपालको कानुन महिलामैत्रीपूर्ण रहेको छैन भन्ने बुझ्न सकिन्छ। 

हुन त अहिले लैगिंक समानताका नारा लगाएपनि व्यवहारमा लागु भएको छैन । समानता भनेको त त्यो हो जहां दुवै आमाबाबुको नामबाट आफ्नो परिचय दिन सकुन।किनकि यति मात्र नभई अहिले हाम्रो वरिपरि धेरै यस्ता महिला छन् जो आफू श्रीमान बाट अलग भई आफ्नो परिश्रम र मेहेनतले दिनरात नभनि आफ्नो सन्तानलाई खाई नखाई पाल्नु परेको छ तर पढाउंदा अथवा कुनै पनि कार्य गर्दा कुनै ठाउंमा जागीर खान जांदा त्यस्ता बेकामे जसले आफ्नो सन्तानकोलागि कुनै पनि भूमिका निभाएको छैन उही श्रीमान भनाउंदाको नाम राख्नु पर्ने विडम्वना छ। तर रातदिन काम गरेर सन्तानको भविष्य बनाउने आमाले आफ्नो सन्तानको खुशीमा आफ्नो नाम राख्न सक्दीनन् किन कि नेपालको कानुन अहिले पनि पुरुष प्रधान सोंचले ग्रसित छ।

बाहिरी रुपमा हेर्दा जति नै महिला र पुरुष समान हुन भनेर समानताको कुरा गरे पनि कानुनी रुपमा अहिलेसम्म पनि महिलामाथि विभेद गरिएको छ।चाहेर नचाहेर पनि ति अपराधी गतिविधिमा संलग्न अपराधी बाबुको नाम ति छोरीहरुले राख्नु पर्ने कानुनी प्रक्रियाले गर्दा झन त्यस्ता पीडित छोरीहरुलाई पीडा थप्ने काम भएको छ।देशमा गणतन्त्र आईसक्दा पनि महिलामाथि हेरिने दृष्टिकोण जहांको तही छ त्यसमाथि झन ति पीडित छोरीहरु जसलाई आफ्नै बाबुले करणी गरेर जिन्दगी बर्वाद गरेका छन् त्यस्तालाई राज्यले कानुनी कठघरामा उभ्याएर न त कडा संजाय दिन सकेको छ न त ति पीडित छोरीको हितकोलागि या त पिडित महिलाहरुको हितमा कानुन नै बन्न सकेको छ। 

घर परिवारमा होस या त समाजमा यस्ता खाले शारीरिक र मानसिक शोषण गर्ने जोकोहीलाई पनि कानुनले छाड्नु हुंदैन तर ति बाबु जसले आफैले आफ्नो सन्तानलाई करणी गरेर खुले आम हिड्ने त्यस्ता अपराधीलाई झनै संजाय दिनु पर्छ अब प्रत्येक घर घरबाट महिलाहरु छोरीहरु जाग्नु जरुरी छ किन कि सन्तानको इच्छा र चाहनामा कानुनी आधारमै उनीहरुले बाबु या आमाको नामबाट पहिचान पाउन सकुन त्यसकोलागि तपाई हामी यो मुद्धालाई सफल पार्न निरन्तर लाग्नु पर्छ र राज्यलाई बाध्यकारी बनाउनु पर्छ होइन भने यो पुरुषप्रधान समाजमा महिला सधैं दोस्रो दर्जाको नागरिकको रुपमा बांच्नु पर्नु पर्ने अवस्था आउंछ ।