Bhaban Bhatta, NRNA President

NRNA: भबन भट्टका १०० दिन:थिम र भिजन दुवै अलपत्र

Hollywood Khabar February 11,2018 Comments

कृष्ण के सी/अमेरिका
अक्टुवर २०१७ मा Transforming NRNA, Our Women, Our Youth & Our Second Generation for Stronger Future भन्दै गैरआवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अधिवेशन काठमाण्डौको हायात होटलमा सम्पन्न भएको थियो। यसका साथै अधिवेशनबाट २०१९ सम्मका लागि तत्कालिन उपाध्यक्ष भबन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित पनि भएको हो। भट्टले नेतृत्व संहालेको १२० दिन पुग्नै लागिसक्यो। सामान्यतया १०० दिनको उपलब्धी सार्वजनिक गर्ने चलन आवश्यक देखिएन होला।
हुन त सार्वजनिक गरेर पनि मैले थाहा नपाएको हुन सक्छ। सायद म आफू अबुझ भएर हो या हाइट नपुगेर हो त्यो थाहा भएन। कहिले काँही आउने प्रेस रिजिल मेरो इमेलमा आउन बन्द भएको छ। तर पनि गुनासो पटक्कै छैन किन की त्यो हैसियत म र मेरो मिडियालाई भएनहोला आवश्यक देखिएन अथवा त्यो स्तरमा पुगिएन होला। तर पनि दुइ कारणले गर्दा तेसो नहुनुपर्ने हो जस्तो मेरो मनको जिताइ छ। एउटा अधिवेशनको डेलिगेट्स भएको कारणले र अर्को एउटा संचारकर्मी त्यसमा पनि गैरआवासीय नेपाली संचारकर्मी हुँदा मेरो सानु कदको छोटो दिमागले त्यो सूचना पाउने हक नै हो भन्ठान्छु। फेरि पनि दोहोर्याउँ मेरो बुझाइ गल्ति होला अनि मेरो पढाइ पुगेन होला।
अब बजारमा देखिएका र फेसबुक र प्रेस रिलिज आदिबाट प्राप्त सुचनाका आधारमा यो अवधिको छोटो चर्चा।
अफिस सारियो- लामो समय देखि नेपाल उधोग बाणिज्य संघको मुख्यालय टेकूबाट संघको अफिस सारिएको छ।अध्यक्ष भट्टको स्वामित्वमा रहेको नागपोखरी मार्गको टिबीआइ ग्रुपको भबनमा गैरआवासीय नेपाली संघको सचिवालय सारिएको छ। यसलाई कुन कारणले उपलब्धी भन्ने हो त्यो भने संघले पुस्टि गरेको छैन। तर पनि बाहिर प्रचार गरिए अनुसार भाडा तिर्न नपर्ने भन्ने सुनिएको छ। त्यो कुराको कुनै आधिकारिक जानकारी बाहिर आएको छैन।
संघको मुख्यालय भबन निर्माण- संघको मुख्यालय भबन लगभग निर्माण सम्पन्न हुनुपर्ने हो यो अवधि सम्म। तत्काल कुन अवस्थामा छ त्यो थाहा छैन। अध्यक्ष भट्टले केही पटक निरिक्षण गरेको भन्ने बाहेक निर्माण कहिले सम्पन्न हुने भन्ने जस्ता कुरा अपडेट गरिएको छैन। उसो त संघको बन्दै गरेको सो भबन बेचेर नख्खुखोला तिरको बगर किन्ने कुरा पनि बाहिएर नआएको होइन। सर्वत्र बिरोध भए पछि अध्यक्ष भट्टले बेलायत पुगेर त्यसो नगर्ने प्रतिबद्धता जाहेर गरेको देखियो। यसलाई उपलब्धि भन्दा पनि आफूलाई बचाएको अवस्था भन्छन पूराना अभियन्ताहरु।
लाप्राक नमुना बस्ति-केही पटक लाप्राक भिजिट गरेको फोटो अध्यक्ष भट्टले सार्वजनिक गरेता पनि त्यसको हाल सम्मको प्रगति आधिकारिक रुपमा संघले दिन सकेको छैन। बन्दै गरेका घर कतिवटा पुरा भए कति बन्दै छन् र हस्तान्तरण कहिले हुने त्यो भने अन्यौल छ।
नेताहरुसँग भेटघाट-अध्यक्ष भबन भट्टले प्रमुख राजनैतिक दलका नेताहरुसँग भेटघाट गेरको कुरा पनि बताइएको छ। संघको नाता नेपाल सरकारसँग छ। अनि संघको अध्यक्ष भएको हैसियतले राजनेताहरुसंग भेटघाट गर्नु, शुभकामना दिनु सामान्य कुरा मानिन्छ। यसलाई उच्च मुल्याकंगमा राख्नुपर्ने कुरा मानिंदैन।
बेलायत भ्रमण १० अरबका कुरा- बेलायत भ्रमण १० अरबका कुरा- अध्यक्ष भबन भट्ट अध्यक्ष भएपछि होस्ट कन्ट्री जापान बाहेक पहिलो औपचारिक भ्रमण बेलायतमा गर्नुभयो। यो भ्रमणबाट १० अरब नेपाल भित्र्याउने  उहाँको योजना उपलाब्धिपूर्वक रहेको भनिएला। यस बिषयमा योजना पेश गर्ने बाहेक अरु प्रगति भएको कुरा संघले सार्वजनिक गरेको छैन।
वर्कशप-निर्वाचन पश्चात आगामी २ बर्ष गर्ने कामबारे काठमाण्डौमा वर्कशप गरेको कुरा प्रेस रिलिज भएको थियो।
संगठन सल्लाहकारहरु नियुक्ति र अनररी काउन्सिल गठन- यो अबधिमा गरिएको नियमित काम भनेको संघले आफ्ना सल्लाहकारहरुको नियुक्ति गरेको छ। सल्लाहकारहरु भने गैरआवासिय नेपाली भन्दा नेपालकै नेपालीहरु धेरै छन्। बिधानमा नै नभएको अनररी काउन्सिल गठन गरेर नियुक्ति दिएकोमा धमाधम त्यो पद त्याग्नेहरुको लाइन पनि लागेको छ।
राजेश शंशेर राणालाइ रोजगारीबाट हटाइयो-संघको पधाधिकारीहरुको बिरोध हुँदा-हुँदै पनि लामो समय देखि कार्यकारी निर्देशकको रुपमा काम गर्दै आउनुभएका राजेश शंशेर राणालाइ रोजगारीबाट हटाइयो। सो पदमा बयोबृद्ध डा हेमन्त कुमार दवाडीलाइ नियुक्त गरियो। राणा न्याय माग्न अदालत पुग्नुभयो। अब अध्यक्ष भट्टलाई डा दवाडी घाँटीमा अड्केको हड्डी भएको छ।
Transforming NRNA, Our Women, Our Youth & Our Second Generation for Stronger Future-यो गत अधिवेशनको थिमका बिषयमा संघले कुनै औपचारिक योजना सार्वजनिक गरेको छैन। बिषयको ब्याख्या गर्ने काम पनि गरेको छैन। अब यो कार्यकालमा यो बिषयले संघमा स्थान पाउला जस्त देखिएको छैन।
NRNA Vision 2020 & Beyond-संघको गत ८ औं अधिवेशले पास गरेको NRNA Vision 2020 & Beyond बारे कुनै छलफल गरेको जानकारी दिएको छन्। NRNA Vision 2020 & Beyond ले संघको बिधान देखि अरु धेरै कुराहरुलाइ असर गर्छ, योजना गर्नुपर्छ र ठूलो तयारी गर्नुपर्छ। अध्यक्ष भट्टको नेतृत्व त्यसतर्फ नजाने सोचमा त हैन भन्ने आशंका पैदा भएको छ। थिम र भिजन दुवै अलपत्र छाडिएको छ।