स्व. बाँस्तोको स्मृतिमा श्रद्धान्जलीसभा

जनसम्पर्क समिति अमेरिकाले स्व. बाँस्तोको स्मृतिमा श्रद्धान्जलीसभा सम्पन्न गर्यो, डा महत प्रमुख अतिथि

Hollywood Khabar October 20,2018 Comments

सुमन हुँमागाई/न्यूयोर्क
अक्टोबर २०, २०१८ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री, पूर्व केन्द्रीय सदस्य एवं भारतका लागि नेपालका पूर्व राजदूत दिवंगत चक्रप्रसाद बास्तोलाको स्मृतिमा एक सभा सम्पन्न गरेको छ। नेपाली काँग्रेसका प्रभावशाली नेता, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य डा रामशरण महतको प्रमुख आथित्यमा श्रद्धान्जलीसभा सम्पन्न भएको छ ।

श्रद्धान्जलीसभामा प्रमुख अथिति डा महतले चक्रप्रसाद बाँस्तोलाको निधनले, नेपालको राजनितिले एक वौद्धिक, निष्कलंक, प्रखर र क्रान्तिकारी नेता गुमाएको कुरा बताउँदै, नेता बाँस्तोलाको निधनबाट नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन र सिङगो मुलुकलाई नै अपूरणीय क्षति पुगेको कुरा राखेका थिए। नेपाली काँग्रेसले लिएको राजनीतिक र आर्थिक बाटोमा अहिले सिङगो मुलुक र मुलुकका प्राय सबै राजनीतिक पार्टीहरू आईपुगेको स्मरण गराउँदै लोकतान्त्रिक प्रकृयाबाट निर्माण भएको अहिलेको सरकारमा लोकतान्त्रिक चरित्र नभएको कुरा समेत औल्याएका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले सञ्चालन गरेको श्रद्धान्जलीसभाको कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसिसि सदस्य बन्दना कोइराला, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व अध्यक्ष तथा कानुन व्यवसायी खगेन्द्र क्षेत्री, गुल्मी जिल्लाका काँग्रेस नेता त्रेलोक्या प्रताप सेन, जनसम्पर्क समितिका नेता वेद खरेल, कृष्ण बहादुर बिष्ट, नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङ, आदिवासी जनजाती महासंघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष राजकुमार बिष्ट, प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजा, नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामगर, तामाङ सोसायटी नर्थ अमेरिकाका अध्यक्ष लाक्यान लामा, मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप रानामगर समेत उपस्थित थिए।

त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, युनाइटेढ किरात राई एसोसियसन न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, सुदुरपश्चिम समाज अमेरिकाका अध्यक्ष गणेश बिष्ट, गुरुङ समाजका अध्यक्ष डम्बर जंग गुरुङ लगायतले दिवंगत नेता चक्रप्रसाद बँस्तोलाको राजनीतिक जीवन र योगदानको चर्चा गर्दै शोक मन्तव्य राखेका थिए।

उक्त सभामा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य द्वय सुन्दर गुरुङ र सुवास तामाङ, न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्ल, दुर्गेश कार्की , सुरेन साप्कोटा, शिव बाँनिया, मोहन श्रेष्ठ, सुर्य खड्का, बिष्णु रानामगर, आंग निमा शेर्पा लगायतको पनि उपस्थिति रहेको थियो ।

अन्त्यमा नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति एवं नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले स्व नेता बाँस्तोलाको निधन प्रति गहिरो शोक प्रकट गर्दै, उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेर शोकसभा कार्यक्रमको समापन गरेका थिए ।

दिवंगत नेता चक्रप्रसाद बाँस्तोला ७४ बर्ष अगाडि नेपालको सुदुरपूर्वमा अवस्थित ईलाम जिल्लाको लक्ष्मीपूर भन्ने गाउँमा बुवा कृष्णलाल बाँस्तोला र आमा चन्द्रकला बाँस्तोलाको कोखबाट वि.सं. २००३ साल मंसिर ११ गते जन्मिएका थिए। बाँस्तोला २०६९ साल पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा गम्भीर मस्तिकघात भई अचेत अवस्थामा भएका थिए। करिब ६ बर्ष सम्म आफ्नै निवास ललितपुर जिल्लाको खुमलटारमा अचेत अवस्थामा उपचार गराइरहेका बाँस्तोलाको २०७५ साल असोज २७ गते आफ्नै निवासमा निधन भएको थियो।

झापा जिल्लाको बुधबारे हालको बुद्धशान्ति गाउँपालिकामा नेता बाँस्तोलाका परिवार इलामको लक्ष्मीपूरबाट तल झरेका हुन। विद्यार्थी जीवनदेखि नै बनारस हिन्दु विश्वविद्यालय अध्ययन गर्दा बीपीबाट अतिनै प्रभावित भएर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। बाँस्तोलाले नेपाली कांग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलन र संघर्षमा अग्रणी भूमिका निर्वाह गरेका थिए।

२०१७ सालदेखि सक्रिय राजनीतिमा होमिएका नेता बाँस्तोला, २०३६ सालको आममाफी पश्चात स्वदेश गर्किए। नेपालमा लोकतन्त्रको प्राप्तिका लागि जेल जीवन र लामो समय प्रवासमा व्यतित गरेका थिए। नेता बाँस्तोलाले नेपाली कांग्रेसको नेतृत्वमा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) बीच १२ वुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्नमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

लोकतन्त्र प्राप्तिका निमित्त बिमान अपहरण गरेर उतिवेला एकाएक चर्चामा आएका दिवंगत नेता बाँस्तोलाको एक श्रीमति कुशुम बाँस्तोला र दुईवटी छोरीहरू सुस्मीता र अस्मीता छन्।