कांग्रेसको कार्यदिशा: बलियो पार्टी, युबालाइ अवसर, २५ लाख नयाँ मतदाता

0
shares

by Krishna KC | Updated: 21 Dec 2018

1137 views
उदय शमशेर राणा: पूर्व अर्थराज्यमन्त्री तथा नेकाँ महासमिति सदस्य

उदय शमशेर राणा
गतिशील राजनीतिक दलका लागि तीनवटा पक्ष महत्वपूर्ण हुन्छन्, नीति, नेतृत्व र संगठन, तर अहिले कांग्रेसका यी तीनै खम्बा मक्किएका छन्।
महासमिति बैठक
विधानतः महाधिवेशन भएको वर्ष बाहेक कांग्रेस महासमिति बैठक प्रत्येक वर्ष बस्नुपर्ने प्रावधान छ । तर, यो व्यवस्था कांग्रेसमा लागू भएको छैन। पछिल्लो तीन दशकमा जम्माजम्मी ६ पटक मात्र महासमिति बैठक बस्नुले यसको पुष्टि गर्छ। तर, राष्ट्रिय राजनीति असहज अवस्थामा रहेका वेला पार्टीले लिने नीति र रणनीतिबारे छलफल गर्न कांग्रेस महासमिति बैठक बस्ने गरेको इतिहास छ।

अहिले पनि परिस्थिति सहज छैन । संकटपूर्ण परिस्थितिबाट पार्टी गुज्रिरहेको छ भने देशको हालत पनि सन्तोषजनक छैन। ६ दशकयताकै बलियो सरकार छ, त्यो पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा । यता लोकतन्त्रवादी कांग्रेसको मनोबल गिरेको अवस्था छ। कतिपयले कांग्रेसको भविष्य र अस्तित्वलाई लिएर टीकाटिप्पणी गरिरहेका वेला कांग्रेस महासमिति बैठक संघीय राजधानी काठमाडौंमा जारी छ।

महाधिवेशनले नेतृत्व चयनबाहेक पार्टीका सबै विषयमा निर्णय लिने अधिकार राख्ने भएकै कारण महासमिति बैठक निकै महत्वपूर्ण रहँदै आएको छ। यतिवेला जारी महासमिति बैठकले कांग्रेसले अबको राजनीतिक कार्यदिशा र रणनीति कस्तो अख्तियार गर्छ, सिंगो देशले व्यग्रतासाथ प्रतीक्षा गरिरहेको छ ।

पार्टीको अवस्था, नेताहरुको आपसी दोषारोपण र महासमिति बैठक

अघिल्लो वर्ष सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयबारे महासमिति बैठकमा पक्कै छलफल हुने नै छ। पार्टीको केन्द्रीय समिति बैठकमा करिब वर्षदिनदेखि यही विषयलाई लिएर नेताबीच आरोपप्रत्यारोप चल्दै आएको छ । पराजयको अपजस कसले लिने भन्नेमा नेताहरू एकअर्कामाथि दोषारोपण गरिहेका छन्। महासमितिमा पनि यसबारे छलफल हुने नै छ। तर हामीले पराजयको दोष कसैमाथि थोपर्नुभन्दा अब आउने निर्वाचन कसरी जित्ने भन्नेतर्फ बढी छलफल र बहस गर्नुपर्ने वेला आएको छ ।

पार्टीको परिस्थिति र भागबण्डाको राजनीति

आज हामी पार्टीभित्र भागबन्डाको राजनीतिलाई स्थापित गराइरहेका छौँ। पार्टी संकटको अवस्थाबाट गुज्रिरहेका वेला व्यक्तिलाई केन्द्रमा राखेर छलफल र बहस गरिरहेका छौँ । नेतृत्व तहमा सौहार्दता छैन।

गतिशील राजनीतिक दलका लागि ३ वटा पक्ष महत्वपूर्ण हुन्छन्, नीति, नेतृत्व र संगठन । तर, अहिले कांग्रेसका यी तीनै खम्बा मक्किएका छन्। नीतिमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद भनेका छौँ। तर यसबारे जनतालाई स्पष्ट बुझाउन सकेका छैनौँ। बिपी कोइरालाले भन्नुभए जस्तै देशको आजको ऐतिहासिक माग के हो?

समाजमा कुन–कुन शक्ति छन्, तीमध्ये देशको वर्तमान परिवर्तनको अवस्थामा कुन शक्तिको महत्व बढी छ’ भन्ने बुझ्नु आजको आवश्यकता हो । यही आवश्यकता अनुसार पार्टीले आफ्नो आगामी कार्यनीति र दृष्टिकोण तयार गर्ने हो । समयसापेक्ष र युगसुहाउँदो नीति र विचारले मात्र पार्टीलाई अग्रमामी दिशा दिन सक्छ ।

नेता, नीति, नेतृत्व र संगठन

नीति कार्यान्वयन गर्ने र संगठन परिचालन गर्ने भनेकै नेतृत्वले हो । कुनै समय बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, बलबहादुर राई, शेख इद्रिस, धनमानसिंह परियार, मंगलादेवी सिंह, शैलजा आचार्य, नोना कोइराला, भीमबहादुर तामाङजस्ता दिग्गज नेता भएको पार्टी हो कांग्रेस ।

बिपीले विचारको नीति लिए । सुवर्णशमशेरले उदार नीति लिए भने गणेशमानले त्यागको राजनीति गरे। कृष्णप्रसाद भट्टाईले निष्ठाको राजनीति गरे। महेन्द्रनारायण निधिले सधैँ अहिंसाको राजनीति अँगाले। यिनै नेताका कारण कांग्रेसमा सादगी थियो, अध्ययन थियो, सशक्त विचार थियो, क्रान्तिकारिता थियो, उदारता थियो, संघर्ष थियो अनि बलिदानको लामो इतिहास थियो ।

यिनै नेतृत्वका कारण पार्टीप्रति आमनागरिकको भरोसा थियो, उत्तिकै विश्वास पनि । त्यसैले त कांग्रेस बलियो थियो, लोकप्रिय थियो । कांग्रेस एउटा पार्टी मात्र नभएर ‘कल्चर’ बन्यो, जुन लोकतन्त्र, संघर्ष, खुला समाज र उदार व्यवस्थाको पर्याय बन्यो। पार्टीको औपचारिक संगठनबाहिर रहेकाले त्यही विचार आत्मसात् गरे र कांग्रेसका पक्षमा उभिँदै आए, जुन ठूलो संख्यामा रहँदै आएको छ । हामीले चाहेको कांग्रेस नै त्यही हो ।

बिपी, विचार र कांग्रेस गुमाउँदै गएका छौँ
हामीले बिपी गुमाउँदै गर्दा क्रान्तिकारिता र विचार पनि गुमायौँ । किसुनजीको देहावशानसँगै इमान र सादगी गुमायौँ । सुवर्णशमशेरको उदारवाद गुम्यो, अनि गणेशमानको त्याग र निष्ठा उहाँको निधनसँगै बिर्सियौँ ।

आज हामीले कांग्रेस गुमाउँदै गएका छौँ, कांग्रेसीको भिड मात्र बाँकी छ । कांग्रेस जगाउनु छ हामीले । एक वर्षअघि सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजयको एउटा महत्वपूर्ण कारण हामीले कांग्रेस बिर्सिनु पनि हो । विचारशून्य पार्टी अन्ततः विघटनतर्फ जान्छ, त्यो दिगो हुँदैन। ऐले आएर कांग्रेस खुम्चिँदै जानुको पछाडि यो पनि एक महत्वपूर्ण कारण हो।

क्लब जस्तो केन्द्रिय समिति र नेतृत्वमा युवाले अवसर नपाउनु

नेतृत्व भन्नाले केवल पार्टी सभापतिलाई मात्र इंगित गर्न मिल्दैन, पदाधिकारीसहित सिंगो कार्यसमिति नै नेतृत्व पंक्तिमा आउँछ। कतिपय नेता पछिल्ला दुई दशकदेखि निरन्तर पार्टीको केन्द्रीय तहमा छन्।

औँलामा गन्न सकिने संख्यामा मात्र नयाँ र युवा नेताले केन्द्रीय समितिमा जाने अवसर पाएका छन्। यस्तो हुनुका पछाडि समयानूकल हामीले पार्टीको संरचनामा परिवर्तन नल्याउनु हो। पार्टी केन्द्रीय समिति क्लब जस्तो देखिन्छ। नेताहरूको पार्टीहितभन्दा व्यक्तिवादी सोचका कारण पार्टीको पहिचान निरन्तर ओरालोलाग्दो छ। कुनै वेला क्रान्तिकारी छवि बनाएको कांग्रेसको पहिचान खुम्चिँदै गएको छ।

निष्ठामा ह्रास, जनता र पार्टीबीचको सम्बन्ध टाढिँदो

२०१७ सालमा तत्कालीन प्रमुख प्रतिपक्षी दल गोर्खा परिषद्का नेता भरत शमशेरले लोकतन्त्रका लागि भन्दै पार्टी विनासर्त कांग्रेसमा विलय गराए। फरक राजनीतिक सिद्धान्त बोकेर स्थापना भएको गोर्खा परिषद् अन्ततः लोकतन्त्रका पक्षमा उभियो। पार्टी भन्दा लोकतन्त्र अपरिहार्य बन्यो र पार्टी कांग्रेसमा विलय भयो, यो इतिहास हामीले बिर्सिनुहुन्न । कांग्रेस यहाँसम्म आइपुग्न यस्ता धेरै व्यक्तिको योगदान छ।

विडम्बना नै भन्नुपर्छ, आज हामी पार्टीभित्र भागबन्डाको राजनीतिलाई स्थापित गराइरहेका छौँ। पार्टी संकटको अवस्थाबाट गुज्रिरहेका वेला व्यक्तिलाई केन्द्रमा राखेर छलफल र बहस गरिरहेका छौँ। नेतृत्व तहमा सौहार्द छैन। आमकार्यकर्ताबीच आत्मीयता छैन । जनता र पार्टीबीचको सम्बन्ध टाढिँदो छ भने नेता र कार्यकर्ताबीच पनि सहज पहुँच र संवाद छैन।

बिधान पार्टीको हितमा भन्दा नेताको फाइदाको हितमा

संविधान अनुसार पार्टीलाई संघीय संरचनामा लैजाँदै छौँ। विधानलाई समयानुकूल बनाउन सातै प्रदेशमा सुझाब संकलन गरियो। केन्द्रीय समितिमा महिना दिनदेखि विधान माथि छलफल जारी छ। तर, स्थानीय तहबाट आएका सुझाब भन्दा पनि नेताहरू कस्तो विधान बन्दा आफू र आप्फ्नो गुट बलियो हुन्छ। त्यसको अंक गणितमा बढी व्यस्त छन्। पार्टीहित भन्दा आसन्न १४ औँ महाधिवेशनकेन्द्रित भएर विधानमा पनि उही भाग बन्डाकै खोजी भइरहेको छ।

युवापुस्ताको लोकप्रिय पार्टी र २५ लाख नयाँ मतदाता

पार्टीको सदस्यताबारेको विवाद पनि त्यही हो। हामीले आसन्न महाधिवेशन जित्ने भन्दा अब आउने संसदीय र स्थानीय निर्वाचन कसरी जित्ने भन्नेमा ध्यान दिनुपर्ने हो।

कांग्रेसलाई २५ लाख नयाँ मतदाता आवश्यक हुन्छ, अर्कोपटक बहुमत ल्याउन। यो कांग्रेसका लागि ठूलो चुनौती हो। हामी यतातर्फ ध्यान दिइरहेका छैनौँ। तसर्थ अहिले हामीले बनाउने विधानले पार्टीमा नयाँ व्यक्तिलाई आकर्षित गर्न सक्नुपर्छ।

युवापुस्ताको लोकप्रिय पार्टी बन्ने गरी हामीले विधानमा व्यवस्था गर्नुपर्छ। समाजमा विशिष्ट योगदान दिएका व्यक्तिलाई पार्टी संगठनभित्र समेट्न सक्नुपर्छ ।

जनताको आदेश, अलोकप्रिय सरकार र पार्टीको संगठन बिकास

हामीलाई पाँच वर्षका लागि सत्ता बाहिर बस्न जनताले जनादेश दिएका छन्। दुईतिहाइको सरकारका कार्यशैलीबाट जनता बेखुस छन्। निर्वाचनका वेला जनताबीच बाँडेका सपना र आश्वासन पूरा गर्न सरकार असफल बन्दै गएको छ।

सरकारका एकपछि अर्का अलोकप्रिय कामले जनता नौ महिनामै आजित भइसकेका छन् । सबैको ध्यान कांग्रेसतर्फ सोझिएको छ । यस्तो अवस्थामा कांग्रेसले सत्ता र सडकबाट जनताको मन जित्ने गरी आफूलाई परिचालन गर्न सक्नुपर्छ। तर, न त सदनमा पार्टीको प्रभावकारी उपस्थिति छ। न सडकमै कांग्रेस सशक्त देखिएको छ।

संसदीय ब्यबस्था र विचारको राजनीति

संसदमा हाम्रो उपस्थिति संख्यात्मक रूपमा न्यून छ। तर, संसदीय व्यवस्थामा संख्याले अर्थ राख्दैन। हामीले उठाउने विषय र हाम्रा विचार कति महत्वपूर्ण छन् भन्ने कुराले महत्व राख्छ। त्यसैले सदनमा कमजोर प्रतिपक्षीका रूपमा पराजित मानसिकता र हीनताबोध हामीले राख्नुहुन्न।

हामीसँग सदन मात्र होइन, सडकमा जाने सुविधा पनि छ, जुन सत्तापक्षसँग हुँदैन। सदनबाट दबाब दिँदा त्यसको सुनुवाइ हुन नसके सडकबाट सरकारलाई सशक्त दबाब दिन सकिन्छ। यसका लागि कांग्रेसले आफ्नो संगठन चुस्त, दुरुस्त र सशक्त बनाउनु अपरिहार्य छ। यसका लागि भ्रातृसंस्था र पार्टीका विभागलाई सक्रिय बनाउनुपर्छ । यो जनताबीच जाने राम्रो अवसर हो कांग्रेसका लागि।

राष्ट्रिय, अन्तर्राष्ट्रिय दृष्टि र महासमितिले लिने नीतिगत निर्णय

राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट कांग्रेस कसरी अगाडि बढ्छ र त्यसका लागि कांग्रेसले कस्तो नीति लिन्छ भनेर नियालिरहेका छन्। यस्तो अवस्थामा कांग्रेसको जारी महासमिति बैठकले कांग्रेसीलाई मात्र नभएर लोकतन्त्रवादी र सिंगो देशलाई नयाँ आशा र विश्वास दिने गरी बाटो पहिल्याउनु जरुरी छ ।

कमजोर कांग्रेस र बलियो नेता

महासमिति बैठकबाट गुट–उपगुटको राजनीति अन्त्य गरी कांग्रेस एकढिक्का भएको सन्देश शीर्ष नेताले दिन सक्नुपर्छ। नत्र-कमजोर कांग्रेसको बलियो नेता बन्ने होडबाजीले हामीलाई अँध्यारो बाटोतर्फ मात्र डो-याउनेछ। जुन कांग्रेसको विगतको गर्बिलो इतिहास अन्त्य मात्र होइन, सिंगो लोकतन्त्रका लागि पनि खतरा साबित हुनेछ।
**लेखकबाट हलिउडखबरमा पोष्ट गर्नको प्राप्त**