प्रदेश एक

बाढी, पहिरो अपडेट:मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

Hollywood Khabar July 13,2019 Comments

३० असार विराटनगर।प्रदेश १ सरकारले बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।प्रदेश नं १ मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो।घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने तथा निजी अस्पतालमा गरिएको उपचारबापत ५० हजार दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए।

बैठकले उद्धार राहत पुनस्र्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरेको छ।उनले घाइतेको निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने पनि जानकारी दिए।यसैबीच प्रदेश सरकारले बाढी र डुबानका कारण अवरुद्ध सडक खुलाउन तथा प्रभावितको उद्धारका लागि तीन वटै सुरक्षा अङ्ग परिचालन गरिएको उनले बताए।

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रदेश नं १ मा १९ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, उदयपुर र झापामा २/२ तथा सुनसरी, इलाम र पाँचथरमा १/१ जनाको मृत्यु भएको छ।यसैगरी मोरङ र इलाममा तीन/तीन तथा झापा र सुनसरीमा एक/एक जना बेपत्ता छन् ।