अधिवक्ता दिपक कुमार बिष्ट

    बढ्दो सम्बन्ध विच्छेद:सामाजिक सौहार्दतामा प्रश्नचिन्ह

Hollywood Khabar July 28,2018 Comments

मधेशका जिल्लाहरुमा होस वा मध्य पहाडी जिल्लाहरुमा होस जनचेतनाको अभाव,वैदेशिक रोजगार,आफ्नो परिवेशलाई बिर्सिएर आधुनिक संस्कारलाई अपनाउने प्रवृति हावी हुदै जानु र दिनानु दिन कष्टकर र व्यस्त हुदै गएको जीवन शैलीले उत्पन्न गरेको श्रीमान श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाईन्छ।बाल बिवाह,अनमेल बिवाह, पुरुषहरू वैदेशिक रोजगारमा जाने,पति खाडी मुलुक गएपछि महिलाहरू देखिने स्वच्छन्दता एव् बढी स्वतन्त्र हुन खोज्नु,गरिबी तथा अशिक्षाको कारण,पति पत्नीले एक अर्कालाई बुझ्न नसक्नु जस्ता कुराले बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना दिनानु दिन बढ्दो देखिन्छ।पछिल्लो समयमा भक्तपुर जिल्लामा पनि अघिल्लो आ व २०७३/७४ को तुलनामा आ व २०७४/७५ मा सम्बन्ध बिच्छेदका मुद्धाहरु उल्लेख्य रुपमा बृद्धि भएको कुरा भक्तपुर जिल्ला अदालतको अभिलेखले देखाउँछ। त्यसैगरि ललितपुर जिल्ला अदालतमा आ व २०७३/७४ २९२ थान सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका थिए भने आ व २०७४/७५ मा ३३० थान मुद्धा दर्ता भएको अभिलेखले देखाएको छ  भने काठमाण्डौं जिल्ला अदालतमा पनि आ व २०७३/७४ भन्दा आ व २०७४/७५ को आर्थिक बर्षको आँकडालाई हेर्ने हो भने पनि अघिल्लो आ व भन्दा अनुमान गरिए भन्दा बृद्धि भएको कुरा अदालतको अभिलेखले देखाउँछ।

त्यति मात्र होइन मधेशका जिल्लाहरुमा समेत सम्बन्ध बिच्छेदका मुद्धाहरु बढ्दै गएको देखिन्छ। मधेशका ती जिल्लाहरुमा सम्बन्ध बिच्छेद तथा बहु विवाहका त्यस्ता घटनाहरु बढ्दै जानुले सामाजिक विकृति बढ्दै गएको मात्र नभई सामाजिक सौहार्दतामा समेत प्रश्न चिन्ह खडा गरि दिएको छ।जसले समाजमा यस्ता घटनाहरु एकपछि अर्को बाहिर उजागर हुँदै जानु पक्कै पनि राम्रो लक्षण होईन भन्ने कुरालाई पुष्टि गरिदिएको छ।महिला र पुरुषबीच अविश्वासको खाडल बढ्दै गएको र यस्ता घटनाहरू दोब्बरको संख्यामा वृद्धि हुनु चिन्ताको विषय बनेको प्रहरी तथा अदालतको तथ्यांकले पुष्टि गरेको छ।

ललितपुर भक्तपुर बारा जिल्ला अदालतको आ व २०७३/७४ को अभिलेखमा देखिए भन्दा आ व २०७४/७५ मा अभिलेखमा देखिएको बहु विवाह एवं सम्बन्ध बिच्छेद मुद्धा संख्याका हिसाबले दोब्बरले बढेको देखिएको छ।जस अनुसार बारा जिल्ला अदालतमा आ व २०७३/७४ मा ६ वटा बहु विवाहको मुद्दा परेकामा २०७४/७५ मा यसको संख्या बढेर १४ वटा पुगेको छ। यस्तै आ व २०७३/७४ मा १२७ वटा सम्बन्ध विच्छेदको मुद्दा परेकामा आ व २०७४/७५ मा यसको संख्या बढेर १३० वटा पुगेको छ।यसले के देखाएको छ भने सम्बन्ध बिच्छेद र बहुबिवाहको मुद्धाहरु दिनानुदिन बढ्दो देखिन्छ।जसले सामाजिक सौहार्दता र सहिष्णुता खल्बल्याउने अवस्था श्रृजना गर्ने संकेत प्रष्ट देखिन्छ।

बहुविवाह कानूनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको जिल्ला प्रहरी कार्यालयको अभिलेखले पनि बताउँछ।अज्ञानता,आधुनिकताको देखासिकी शहरी जीवन शैली तथा तडक भडक, संचार माध्यमले पार्ने असर र नकारात्मक सोचमा बृद्धि हुनु तथा सामाजिक असन्तुलनको कारण यस्तो वातावरणको विकास हुँदै गएको प्रष्टै देखिन्छ।देश संघीयतामा गएपछि संघीय सरकारले पहिलो चरणको मुद्दा मामिला सुनुवाइ गर्ने अधिकार स्थानीय तहलाई दिए पनि कानून विदहरुको अभावमा जनप्रतिनिधिहरूलाई यस्ता मुद्दा किनारा लगाउन समस्या हुने गरेको छ।सम्बन्ध बिच्छेदका बारे स्थानिय सरकार सञ्चालन ऐनले गरेको कानुनी व्यवस्था पनि कता कता अमिल्दो र झण्झटिलो देखिन्छ तथापी स्थानिय तहले त्यस बिषयमा अधिकार पाओस वा अदालतले यस्ता मुद्दाहरुको बृद्धि हुनु पक्कै राम्रो होईन किनकी यसले सामाजिक सौहार्दता र सहिष्णुता खल्बल्याउने अवस्था श्रृजना गर्ने कुरामा भने राज्यले एक पटक गम्भिर भएर कानुन निर्माण गर्न पहलकदमी लिनु अपरिहारय छ।