एसियाको उत्कृष्ट ३०० विश्वविद्यालयभित्र त्रिभुवन विश्वविद्यालय पनि

0
shares

by Soni Sharma | Updated: 12 May 2019

517 views
त्रिभुवन विश्वविद्यालय

३० वैशाख, काठमाडौं।नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय विश्वको हजार र एसियाको तीन सय उत्कृष्ट विश्वविद्यालयभित्र परेको छ ।बेलायतको ‘द टाइम्स हाइअर एजुकेसन’ म्यागेजिनले सार्वजनिक गरेको ‘वल्र्ड युनिभर्सिटी -याङकिङ–२०१९’ अनुसार त्रिवि विश्वमा ८०१–१००० भित्र र एसियामा २५१–३०० भित्र स्तरीकृत भएको हो ।

म्यागेजिनले विश्वका एक हजार दुई सय ५० विश्वविद्यालयलाई श्रेणीबद्ध गरेको थियो ।यसमा ८६ देशका विश्वविद्यालय सहभागी थिए ।जसमा नेपाल, इराक, जमैका, तान्जानिया र कजकस्तान पहिलोपटक सहभागी भएका थिए।म्यागेजिनले आमसञ्चारसम्बन्धी बहुराष्ट्रिय कम्पनी रोयटर्स कर्पोरेसनको सहकार्यमा विश्वविद्यालयसम्बन्धी तथ्यांक संकलन गर्छ।

विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थी संख्या, शिक्षक–विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलका आधारमा सूचक तयार गरिएको थियो ।

त्यसैगरी,प्रकाशित लेखमा गरिएका साइटेसन, विश्वविद्यालयभित्र अध्ययनरत विदेशी विद्यार्थीको संख्या,अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्यालगायत मुख्य सूचकलाई आधार मानेर मूल्यांकन गरेको थियो ।

त्रिविले पहिलोपटक एसियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँले बताए ।यो उपलब्धिबाट उत्साही बनेको उनले बताए ।