-Anand Bist

मेरो चरित्र हत्या गर्नेलाइ पनि कोरोनाको संक्रमण नहोस-सभापति बिष्ट

Hollywood Khabar April 18,2020 Comments

न्यूयोर्क/४/१९/२०

न्यूयोर्कमा रहेका हामीहरु अहिले संकटको घेरामा छौं। न्यूयोर्कलाई दोश्रो घर बनाएर कर्म गर्दै आइरहेका हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मध्ये कतिपय कोरोनाको महामारीका कारण प्रभावित छौं। यो भयानक अवस्थामा केही दाजुभाईले ज्यान समेत गुमाइसक्नु भएको छ।

हामी न्यूयोर्कलाई कर्मथलो बनाएर यही समाजमा बसेका सबै प्रतिनिधि संघ,संस्था र सामाजिक व्यक्तिहरुको पटकपटकको छलफलपछि हामीले हाम्रो समुदायका सदस्यहरु,जो कोरोनाका कारण अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ,उहाँहरुलाई सहयोग गर्न एक सामुदायिक टास्क फोर्स कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह-न्यूयोर्क गठन गरी हामी यही समूहमार्फत निरन्तर यो विकराल परिस्थितिमा सेवाभावले काम गरिरहेका छौं।

यस क्रममा अहिलेका लागि अत्यावश्यक रहेका मास्क, पन्जा, टाइलोनेल, थर्मामिटर, स्यानिटाईजर जस्ता सामान खरीद गरी हामीलाई उपलब्ध गराई दिनु हुने अमेरिकाका सबै दाता महानुभावहरुप्रति हामी समूहको तर्फबाट हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछौं।

हामीले सुरु गरेको अभियानमा तपाईंहरुको सहयोगले यस्तो संकटको बेला हाम्रो समुदायका प्रभावित परिवार र सदस्यलाई हामीले माध्यम बनेर सहयोग गर्न सकेका छौं । हाम्रो साझा स्वार्थ हो, नि:स्वार्थ र नि:शर्त सकेको सहयोग गर्ने । मानव भएर मानव हितका लागि संकटमा परेकाहरुलाई सहयोग गर्ने नै हाम्रो उद्देश्य हो ।

हामीलाई थाहा छ,समाजमा सबै एकै किसिमका सोचका व्यक्तिहरु हुन्नन्। हामी हाम्रो प्रयासमा निरन्तर हातेमालो गरेर अघि बढ्नेछौं। हामीलाई यो बेला अझ बढी एकता,भाइचारा र सद्भावको जरुरत छ। हाम्रो पनि परिवार छ,नातागोता,इष्टमित्र छन्। उहाँहरुको आफ्नै गुनासा होलान्। सबै नेपाली समुदाय नै हाम्रो सदस्य र परिवार हो भनेर हामी यो परिवारको सहयोगका लागि हातेमालो गरेका हौँ। यसमा मलाई गर्व छ, आज न्यूयोर्कको नेपाली समुदायका सबै प्रतिनिधि संघ,संस्था र साथीहरुसंग यसरी संकटको घडीमा संगै मिलेर काम गर्ने राम्रो टीम पाएको छु । यो टीमलाइ हौसला दिन म अपील समेत गर्दछु ।

यस्तो बेला मेरो व्यक्तिगत चरित्र हत्या गर्नेगरी मेरा विरुद्ध भैरहेको अनर्गल प्रचारवाजीबाट म पटक्कै विचलित भएको छैन र हुने पनि छैन। किनकी हाम्रो समुदायले त्यस्ता चरित्रका व्यक्तिहरुलाई राम्रोसंग चिनिसकेको छ। त्यस्ता व्यक्तिहरु हाम्रो समाजका लागि अहिलेको कोरोना भाइरसभन्दा पनि बढी खतरनाक छन्। म अहिले सेवारत रहनु भएका हाम्रो टीमका साथीहरुलाई कति पनि विचलित नभई निरन्तर सहकार्यका लागि अनुरोध गर्दछु । तपाईंहरुले गर्नुभएको यो मानवीय सहयोगलाई म अन्तरात्मादेखि नै सम्मान गर्दछु।

साथै मेरा विरुद्ध नियोजित रुपमा हुने गरेका दुष्प्रचारका बारे म पूर्ण जानकार छु र यसरी मेरा विरुद्ध भ्रमको खेती गर्नेहरुलाई पनि कोरोना संक्रमणबाट भगवानले सुरक्षित गराई दिउन् भन्ने कामना गर्दछु । यस्ता हर्कत गर्नेहरु मानसिक बिरामी हुन् । कोरोनाले यी मानसिक बिरामीहरु संक्रमित नहोउन् !

मेरा बारे निरन्तर चासो व्यक्त गर्नुहुने सहृदयी तपाईंहरु सबैप्रति म नमन गर्दछु ।

जय नेपाल

आनन्द बिष्ट

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति