-नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन सफल सम्पन गरौँ:सभापति बिष्ट

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन सफल सम्पन गरौँ:सभापति बिष्ट

Hollywood Khabar February 07,2020 Comments

साथीहरु जय नेपाल;

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको जानकारी गराउन पाउँदा म व्यक्तिगत रुपमा निकै उत्साहित छु।

सन् २०१४ मा टेक्सास अधिवेशन मार्फत तपाईंहरुको विश्वास जितेर मैले नेतृत्वको जिम्मेवारी सम्हालेको अवगत नै छ।

तपाईंहरुले गर्नु भएको विश्वासलाई म कहिल्यै भुल्न सक्ने छैन। अनेक आरोह/अवरोहका बीच हामी अहिले नयाँ नेतृत्व चयन र नेपाली जनसम्पर्क समिति, अमेरिकाको सांगठनिक भविश्य निर्माणको प्रक्रियामा होमिएका छौं। बुधवार राती सम्पन्न बैठकले अधिवेशनको कार्य तालिका समेत प्रकाशित गरेको छ।

अप्रिल ११ र १२ केन्द्रीय अधिवेशन गर्ने, मार्च २८ र २९ च्याप्टर अधिवेशन गर्ने र मार्च १५ भित्र जनसम्पर्क समिति, अमेरिकाको सदस्यता वितरण गर्ने हाम्रो निर्णय भएको छ। साथै मार्च १५ भित्र नै मातृपार्टी नेपाली कांग्रेसको निर्देशन अनुसार पार्टीमा पेश गर्नका लागि क्रियाशील सदस्यताको सूची पनि संकलन गरिनेछ।

अधिवेशनको विकल्प छैन। त्यसैले म सम्पूर्ण साथीहरुलाई यो तीन महिनाको समय सीमाभित्र अधिवेशन सम्पन्न गर्नका लागि आ आफ्नो तहबाट सहयोग गर्नुहुन अनुरोध गर्दछु।

नेपाली जनसम्पर्क समिति,अमेरिका मातृपार्टी नेपाली कांग्रेसको निकाय हो। त्यसैले हामी पार्टीको नीति, निर्देशन र विधि विधान विपरित जाने परिकल्पना पनि गर्न सक्दैनौं। यसका साथै हामी बसोवास गरिरहेको भूमिको कानुनको पनि हामीले पालना गर्नुपर्छ। विगतमा पनि हामीले क्रियाशील सदस्यता आवेदन फाराम अलग र साधारण सदस्यता फाराम अलग्गै भरेर अधिवेशन गरेको नजीर छ। तसर्थ हामी पार्टीसंग पूर्ण समन्वय र परामर्श गरेर हाम्रा कठीनाईहरुको समाधान खोज्न निरन्तर लाग्नेछौं ।

हाम्रो संस्था राम्रो बनाउने दायित्व हामी आफ्नै हो । त्यसैले म आव्हान गर्दछु, सबै मिलेर होस्टेमा हैंसे गर्दै अधिवेशनको माहौलमा जुटौं र अधिवेशन सफल बनाउँ।

मेरो जिम्मेवारी भनेको समितिको निष्पक्ष अधिवेशन सम्पन्न गरी निर्वाचित नेतृत्व हस्तान्तरण गर्ने हो। म तपाईं सबै साथीहरुलाई उत्साहका साथ यस माहौलमा हातेमालो गर्दै अधिवेशन सफल बनाउन जुट्नु हुन अपील गर्दछु ।

जय नेपाल

आनन्द बिष्ट

अध्यक्ष

नेपाली जनसम्पर्क समिति अमेरिका तथा आमन्त्रित केन्द्रिय सदस्य, नेपाली काँग्रेस