-अमेरिकामा निर्मित नेपाली चलचित्र संँयोगको प्रेमियर शो सम्पन्न

अमेरिकामा निर्मित नेपाली चलचित्र संँयोगको प्रेमियर शो सम्पन्न

Hollywood Khabar May 08,2019 Comments

न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संँयोगको प्रेमियर शो भव्यताका साथ सुसम्पन्न भयो। प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराइले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थियो ।

अमेरिकी बसाई बेफुर्सदिलो हुंँदाहुँदै पनि बिशाल हल नभएको कारणले दुई शो देखाउन बाध्य हुनुपरेको थियो । हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषासाहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्याएर यहाँ उपस्थित भइ दिनु भएकोमा उपस्थित सबै लाई स्वागत गर्दै चलचित्र निर्मात्री तथा साहित्यकार गीता खत्रीले सबै कलाकार मित्रहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्नु भयो । उक्त अवसरमा सबै कलाकारहरुलाई प्रशंसापत्र दिइएको थियो ।

महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो कामका तल्लीन हुंँदाहुदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा ठूलो कुरा हो । यसमा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस भन्दै शुभकामना दिनु भयो ।

चलचित्रमा अभिनय गर्ने कलाकारहरु न्यूयोर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुनुहुन्छ । नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने र उनिहरुलाई आफ्नो शीप देखाउने अवसर प्रदान गर्नु पनि यो चलचित्र निर्माणको उद्देश्य हो ।

साथै नारीको त्याग र बलिदानबाट पारिवारिक सुख सम्बृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश पनि यो चलचित्रले बोकेको छ । चलचित्रको कथा बस्तु गीता खत्रीको कथा संँयोगबाट लिइएको छ भने यसका निर्देशक ओम कर्माचार्य हुनुहुन्छ ।