-अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै चितवनका सुवेदी र छतकुली

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै चितवनका सुवेदी र छतकुली

Hollywood Khabar May 23,2020 Comments

भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ चितवनका एकराज सुवेदी र रूद्रराज छुतकुलीलाई सिसेल्स पुग्न। हुन त भाग्यवादमा विस्वास नगर्नेहरुले देशमा विभिन्न बाध्यता, विवशता र बेरोजगारीका कारण नेपाली बलिया पाखुरालाई विदेश जानु परेको कारण बताउँछन्। तर, त्यहि भाग्यवादमा विस्वास गर्ने हो भने, भाग्यकै कारण ‘म यहाँ आए र यहाँ पुगे, यति काम गरे र यस्तो प्रगति गरे’ भनेर सन्तुष्ट हुने धेरै मानिसहरु छन् ।

हुन त, हामी नेपाली यी दुवै कुरामा विस्वास पनि गर्छौं । सायद त्यहि भाग्यले नै तानेर हो की, या त फेरि साहसी नेपालीको कर्म नै भनौं चितवन राप्ती नगरपालिका वडा नं 3 झुरझुरे निवासी 40 वर्षीय एकराज सुवेदी (पवन) र अर्का खैरनि नगरपालिका वार्ड नं.12का 39 वर्षीय रूद्रराज छुतकुली (राज) यी दुबैका भाग्य अफ्रिकी देश सिसेल्समा त्यसरी नै चम्किएको छ । सिसेल्सका बहादुर नागरिकले गर्न नसकेको काम सुवेदीले गरेका छन् भने छुतकुलीले अतिरिक्त कृयाकलापमा आफुलाई उच्च स्थानमा राख्न सफल हुदै अफ्रिकी देश सिसेल्समा नेपाल र नेपालीको शान अनि मान राख्न सफल भएका छन् ।

सुवेदी र छतकुली दुबै पुर्व नेपाली सेना हुन्।

छिटो अनि धेरै धन कमाउने सपनाले अन्य युवालाई जस्तै सुवेदी र छतकुली दुबैलाई सताउन थाल्यो । त्यहि सपनालाई साकार पार्नका लागि सन् 2012 मा सुवेदी र 2016मा छतकुली पूर्वी अफ्रिकाको सिसेल्स पुगे । सिसेल्स पुगेर उनीहरू सिसेल्स प्रहरीमा जागिरे भए ।

धेरै पैसा कमाउने सपना बोकेर विदेश पुगेका युवाहरुले आफूले सोचेजस्तो धन कमाउने सपना पूरा हुँदैन । तर, यी दुबैलाई सिसेल्सले धन मात्र नभएर मान सम्मान पनि दिएको छ । तर, त्यो त्यसै पाएको सम्मान होइन, सुवेदीले आफ्नो ज्यानको बाजी थापेर ३५ सिसेल्वा नागरिकको ज्यान बचाएको कारण उनलाई उक्त सम्मान मिलेको हो भने छुतकुलीलाई राष्ट्रीय दौड प्रतियोगिता (म्याराथुन)मा उच्च स्थान प्राप्त गरेका कारण मिलेको हो।

सुवेदी 2014 मा सिसेल्स पब्लिक ट्रान्सपोर्ट कर्पोरेशन SPTC बसमा निजी कामको सिलसिलामा यात्रा गर्दै थिए । उक्त बसमा ३५ जना सवार थिए । बस उकालो बाटोमा गुडिरहेको थियो । यत्तिकैमा चालक गाडि रोकेर पसल तर्फ लागे । अचानक बस आफै ओरालो लाग्न थाल्यो ।

बसमा सवार सिसेल्सका नागरिक दुर्घटना हुन थाल्यो भनेर रुन कराउन थाले । त्यसमा यात्रु घाईते भए भने सुवेदी पनि अछुतो रहेनन् । तर, पनि उनले हिम्मत हारेनन्। सकि नसकी ड्राइभर बस्ने सिटमा पुगेर गाडीको स्टेरिङ समाएर गाडीलाई तत्काल नियन्त्रणमा लिएर आफूसहित ३५ जना सिसेल्वा नागरिकको ज्यान जोगाए ।

सुवेदीले तत्कालै बुद्धि नलगाएको भए त्यहाँ ठूलो दुर्घटना हुन सक्थ्यो । तर, उनले आफ्नो बहादुरीपन देखाएर सबैको रक्षा गरे ।

सुवेदीको यस साहसिक कार्यको उच्च मूल्यांकन गर्दै सिसेल्स सरकारले सिसेल्स प्रहरी विभागका तर्फबाट र विभिन्न प्राइभेट क्षेत्रबाट सुवेदीलाई विभिन्न मेडल र झन्डै नेपाली रूपया 1 लाख बराबर नगद सहित उच्च सम्मान गरिएको थियो । सुवेदीको उक्त साहसिक कार्यको सिसेल्सका विभिन्न संचारमाध्यमहरुले पनि खुब प्रसंसा गरेर लेखेका थिए। अर्कातिर छतकुलीले २०१८-२०१९ र २०२० मा राष्ट्रीय दौड प्रतियोगितामा प्रत्येक वर्ष नगत सहित पदक विजेता भई नेपालीको सान राखेका छन्।

छतकुली हाल रजत, कांस्य र स्वर्ण गरि ३ वटा पदक विजेता बनेका छन् भने नेपाली रूपया झन्डै 3 लाख बराबर हात पारिसकेका छन्।

विदेशी भूमिमा रहेर पनि एकल र साहसिक कदमले बसका ३३ यात्रुको ज्यान सम्भावित दुर्घटनाबाट बचाएर एकराज सुवेदी ले र विदेशी जिवनको व्यस्तताका बावजूद राष्ट्रीय दौड प्रतियोगिता जोस्तो खेलमा उच्च स्थान प्राप्त गरि नेपालीको राम्रो परिचय दिन सफल भएको भन्दै NCC सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तले खुसी ब्यक्त गरे ।