प्रधानमन्त्री केपी शर्मा ओली

अब राजनीतिक सङ्घर्ष र आन्दोलन गर्नुपर्ने दिन सकियो:प्रधानमन्त्री केपी ओली

Hollywood Khabar April 16,2019 Comments

०४ वैशाख,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजनीतिक सङ्घर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएको बताएका छन्।उनले विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग आज अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपाललाई निरक्षरहरुको नभएर विद्वानहरुको देश बनाउनुपर्नेमा समेत जोड दिएका छन्। अन्तरक्रियाका क्रममा उनले भने, “नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्छ।हाम्रा विद्वान् पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ । विद्वान् पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।”

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।उनले युवा र विद्यार्थीहरु अब सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको भन्दै भने, “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्।अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।”

गत बर्षदेखि विशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन्।“विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो।हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ।यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ। यस बर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन ” प्रधानमन्त्री ओलीले भने।अन्तरक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले सहजीकरण गरेका थिए।