-३२ वर्ष अध्यक्ष र दुईपटक प्रधानमन्त्री भएर पनि तपाइँ प्रचण्डजीलाई पुगेन-ओली

३२ वर्ष अध्यक्ष र दुईपटक प्रधानमन्त्री भएर पनि तपाइँ प्रचण्डजीलाई पुगेन-ओली

Hollywood Khabar June 29,2020 Comments

सन्तोष दहाल,काठमाडौँ/६/३०/२०

मदन जयन्तीका दिनमा आयोजित एक कार्यक्रममा भारतप्रति विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र चरम विवादमा परेका छन्। मंगलबार बसेको पार्टीको स्थायी कमिटि बैठकमा बोल्ने अधिकांश नेताले पार्टी र सरकारको कार्यशैली राम्रो नभएको भन्दै दुवैबाट राजिनामा माग गरेका छन्।

वैशाखकै सचिवालय बैठकमा उठेर छलफलपछि मथ्थर भएको ओलीको राजीनामाको विषय स्थायी समिति बैठकबाट फेरी बल्झिएको छ। मंगलबार पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतमले समेत भारतप्रतिको अभिव्यक्तिको विषयलाई लिएर पार्टी र सरकारको नेतृत्व छोड्नका लाइ नैतिक दबाब दिएका छन्।

बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको पहिलो कार्यकालमा समेत आफैंले हटाएको र अहिले पनि भारतले राजिनामा मागेको नभई आफैंले राजिनामा मागेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै मंगलाबारको बैठकमा बोल्ने नेताहरुले राजीनामा मागेका हुन्।

बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले पछिल्लो समय ओलीमा अहंकार बढेको आरोप लगाउँदै उनीबाट सरकार र पार्टी दुवै चल्न नसकेको बताएका छन्।

यस्तै अझै आक्रोशित पारामा प्रस्तुत भएका वरिष्ठ नेता झलनाथ खनालले मन्त्रीपरिषद गठन गर्दा, राजदुत नियुक्ति गर्दा, योजना आयोग बनाउँदा तथा सरकारको नीति तथा कार्यक्रम ल्याउँदा समेत गुटगत रुपमा अघि बढ्ने गरेको र पार्टीभित्र कुनै छलफल नगर्ने गरेको कारण अब ओलॆबत थप केही आशा गर्ने नसकिने बताए। पार्टी र सरकार दुबै चल्न नसकेका कारण अब ओलीको राजिनामा आउनुपर्ने खनालको तर्क छ।

बैठकमा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा पछिल्लो समय चरम अहंकार र स्वैच्छाचारिता बढेको, विधि र पद्धतिमा चल्न नसकेको आरोप लगाए। उनले भने, 'भ्रष्टाचार, गुटबन्दी र अनियमितता बढेको छ। प्रधानमन्त्री र अध्यक्ष दुवै पद चल्न सकेको छैन। तपाईंले अब निकास दिनुपर्छ।'

उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गर्दै प्रधानमन्त्री ओलीकै इसारामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन दिइएको आरोप लगाए।

यद्यपि चौतर्फी रुपमा आफ्नो आलोचना भए तापनि बैठकमा ओलीले त्यसको चर्कै प्रतिवाद गरे। पार्टीमा ३२ वर्षसम्म नेतृत्व गरेका र दुईपटक नै प्रधानमन्त्री बनेका प्रचण्डलाई उनले उल्टै प्रश्न गरे,'तपाईं ३२ वर्षदेखि अध्यक्ष हुनुहुन्छ। त्यागका लागि छाडेर देखाउनुपर्ने तपाईंले नै होला। आफूचाहिँ ३२ वर्षदेखि नेतृत्वमा रहन हुने, म त २०७१ सालमा मात्रै नेतृत्वमा चुनिएर आएको हो, कसकै कृपाले टीका लगाएर दिएको होइन। म किन छाड्ने?'

उनले नेता नेपाल र खनालको पनि आलोचना गरे। आफूले भन्दा धेरै समय वरिष्ठ नेताहरू खनाल र नेपालले पार्टी चलाएको उनले बताएका थिए।'माधवजी १६ वर्ष पार्टीको नेतृत्वमा बस्नुभयो। प्रधानमन्त्री पनि बन्नुभयो। झलनाथजी १३ वर्ष पार्टीको नेतृत्वमा बस्नुभएको हो अनि ६ महिना प्रधानमन्त्री पनि बन्नुभएको हो, ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, म त नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने भनेर आउने महाधिवेशनबाट पार्टी नेतृत्वमा आउँदिनँ र संसदीय निर्वाचन पनि लड्दिनँ भनेको हो। तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु।